बालुवाटारबाट गठबन्धनका नेताहरु यसो भन्दै उठे

बालुवाटारबाट गठबन्धनका नेताहरु यसो भन्दै उठे

आज बिहान बालुवाटारमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच केहीबेर छलफल भएको थियो ।

आमनिर्वाचनमा राजनीतिक दलहरुले प्राप्त गरेको मत परिणाम,आगामी सरकार गठनलगायत विषयमा अनौपचारिक छलफल भएको स्रोतको दाबी छ । ‘उहाँहरुबीच सांसदमा विजयी हुनुभएको र गठबन्धनले सफलता प्राप्त गरेकोमा बधाई साटासाट भएको हो,’ बालुवाटार निकट स्रोतले बतायो ।

‘मुखले ठ्याक्कै नबोले पनि काँग्रेस र माओवादी नेताहरुको चाहना र पहिलो रोजाई प्रधानमन्त्री नै हो भन्ने अर्थ लगाउन सकिन्छ,’ नेकपा एकीकृत समाजवादीका एक जना नेताले भने । आफूहरुको पार्टीले अहिलेको गठबन्धनलाई अझै कसिलो बनाएर अघि बढ्नुपर्नेमा जोड दिँदै आएको उनले बताए । 

उनले भने, ‘पहिलो शर्त मिलेर जानुपर्छ भन्ने नै हो । गठबन्धनमा मिलेर जाँदा के के गर्नुपर्ने हो त्यसमा छलफल गरौं भन्ने हाम्रो भनाइ छ ।’ नेकपा एकीकृत समाजवादीका नेताहरुले राष्ट्रिय राजनीति र सत्ता गठबन्धन भाँड्न अझै षड्यन्त्र भइरहेको निचोड निकालेका छन् । उनीहरुले ती षड्यन्त्र विफल पार्नुपर्नेमा जोड दिएका छन् ।

आजको बालुवाटार बैठकमा के कुरा भयो ? भनेर सोधिएको जिज्ञासामा माओवादी अध्यक्ष प्रचण्डनिकट स्रोतले भनेको छ, ‘दोलखा,स्याङ्जा र बाजुरामा मतगणना नभएको कुरो भएको छ । चुनावमा सत्ता गठबन्धनका नेताहरुलाई छानी छानी हराउने कार्यमा गगन थापा र रवि लामिछानेहरुको कनेक्सनको कुरो पनि उठेको छ ।’
 

टिप्पणीहरू