राप्तीमा पूर्वसहकर्मीहरुबाटै ज्यादतीको रामकहानी

राप्तीमा पूर्वसहकर्मीहरुबाटै ज्यादतीको रामकहानी

कार्यपालिकामा एमालेको बहुमत हुँदा एकीकृत समाजवादीबाट निर्वाचित मेयरलाई विफल पार्ने खेल भइरहेको आरोप छ । चितवकोन राप्ती नगरपालिकाको किस्सा हो यो । राप्तीका जनताले भर्खरका युवा मेयर पाएका छन् समशेर लामा । चितवनको सबैभन्दा कान्छा र नेपालकै तेस्रो कनिष्ठ मेयर हुन् उनी ।

पहिले एमालेमै थिए । पछि नेकपा एकीकृत समाजवादीमा गए । पार्टीको उच्च ओहोदामा बसेकाहरूले उमेरमा पनि सानो समशेरलाई मामुली ठानेका थिए । नगरप्रमुखको चुनाव जित्छन् भन्ने सोचेकै थिएनन् । तर, सामाजिक कार्यमा सक्रिय र यसअघि वडाध्यक्षसमेत भएर जनताको मन जितेका समशेरलाई नै जनताले मूल अभिभावक चुनेपछि पूर्वसहकर्मीहरूलाई खपिनसक्नु भएको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार बाबुराम पाठक बताउँछन् ।

१३ वटा वडा रहेको राप्ती नगरपालिकाको आठ वटा वडामा एमालेले अध्यक्ष जितेको छ । बताइएअनुसार वडाध्यक्षहरूले शुरुमा त शपथग्रहण नै बहिष्कार गरेका थिए । त्यसै पदबहाली नहुने हुँदा भोलिपल्ट मात्रै शपथग्रहण गरेका प्रतिनिधिहरूले त्यसपछि कार्यपालिका बैठक बहिष्कार गर्ने र मेयर–उपमेयरले अघि सारेका जनमुखी निर्णयहरू सकेसम्म कार्यान्वयन हुनै नदिने काम गर्दै आएको आरोप छ । 

राप्ती नगर कार्यपालिकामा एमालेकामात्रै १६ जना छन् । कार्यपालिका बैठकको लफडा जनतालाई के थाहा ? जनताले त काम भए, नभएको देख्ने न हो ! त्यसैले मेयरले काम गर्न सकेन वा गरेन भनेर जनतालाई भ्रमित पार्न अनेक तरहको दाउपेच गरिएको समाजवादी स्रोतको दाबी छ । कार्यपालिका बैठकलाई सामाजिक सञ्जालमा लाइभ गर्न थालिएपछि भने लफडाबाजी अलिकति कम भएको बुझिएको छ । 

तर बहुमत नपुगेकै कारण सामुदायिक विद्यालयहरूमा निःशुल्क शिक्षा लागु गर्ने पहिलो बैठकको एजेण्डासमेत अझै पारित हुन नसकेको मेयर लामाले बताए । शिक्षा, स्वास्थ्यदेखि लिएर विपन्न जनताको घर बनाउने जस्ता निर्णय कार्यान्वयनमा पनि समस्या भइरहेको बताइन्छ । 

यसरी घेराबन्दी भइरहँदा बाहिरी सहयोग जुटाएर पनि केही महत्वपूर्ण काम गर्न समशेर सफल भएको जानकारीमा आएको छ । राप्ती–११ को थाकलटारमा छात्रावासको व्यवस्था गरिएको लामाले जानकारी दिए । घण्टौं हिँडेर विद्यालय आउजाउ गर्ने थाकलटार माविका विद्यार्थीहरू छात्रावासबाट लाभान्वित भएको र अहिले त्यहाँ ५० जना विद्यार्थीहरू रहेको उनले बताए ।

बताइएअनुसार विगतमा एमाले कार्यकर्ताबाट भरिभराउ थियो भण्डारा अस्पताल, आवश्यकताभन्दा बढी कर्मचारी राखिएका थिए । त्यहाँबाट झिकेर केहीलाई अन्यत्रै व्यवस्थापन गरिएको मेयर बताउँछन् । ‘१० शैøयाबाट बढाएर २० शैøयाको बनाउन पहल भइरहेको भण्डारा अस्पतालको भौतिक संरचना सुधारदेखि लिएर मेसिन उपकरणहरू पनि थपिँदैछ । अहिले इसिजीका लागि राप्तीका बासिन्दालाई भरतपुर धाउनुपर्दैन’ मेयरले भने, ‘भिडियो एक्सरे मेसिन किन्न बजेटको व्यवस्था गरिँदैछ । स्वास्थ्य बीमाको सेवा पनि यहीँबाट लिन सकिने बनाउँदैछौं ।’ भण्डारा अस्पतालमा जन्मदिनको दिन जनताले निःशुल्क स्वास्थ्य परीक्षण गर्न सक्ने व्यवस्था मिलाइएको पनि उनले बताए । यसैगरी, नगरपालिकामा एउटा एम्बुलेन्स थप गर्न लागिएको छ ।

स्रोतका अनुसार एमालेका वडाध्यक्षहरूमा सबैभन्दा बढी २ नं. का अध्यक्ष श्यामसुन्दर उप्रेती, ४ नं. का केदारप्रसाद आचार्य र ५ का सीताराम बल मेयरको बाटोमा काँडा बिछ्याउन व्यस्त छन् । यस विषयमा मेयर लामाले ‘सकेसम्म सबैजना मिलेर काम गरौं भनी पेलेर जान नखोजेको’ प्रतिक्रिया जनाए । 

गठबन्धनबाटै राप्तीको उपमेयरमा निर्वाचित कांग्रेसका देवेन्द्र लामाले एजेण्डाहरूमा विभाजन हुनु सामान्य नै भएको तर कार्यपालिकामा बहुमत नहुँदा आफूहरूले ल्याएका कतिपय महत्वपूर्ण निर्णयहरूलाई अगाडि बढाउन समस्या भइरहेको बताए । ‘हामी बहुमतमा छैनौं, उहाँहरूसँगै सहकार्य गरेर अगाडि बढ्नुपर्छ । उहाँहरूको मञ्जुरी नभएसम्म हामीले गर्ने आधार छैन । जनमुखी एजेण्डामा व्यवधान हुनु भनेको उहाँहरूले नै मनन् गर्नुपर्ने कुरा हो ।’ उनका अनुसार कार्यपालिका बैठकलाई प्रत्यक्ष गर्न थालेपछि भने अनावश्यक विवाद कम भएको छ ।

सेवाग्राहीहरूलाई विभेद गर्ने, पार्टीको छत्रछायाँमा परेको ठाउँमा मात्रै बजेट विनियोजन गर्नेजस्ता आरोपसम्बन्धमा वडाध्यक्ष केदार आचार्यसँग प्रश्न गर्दा ‘केदारले एमालेलाई मात्रै काखी च्यापेर काम ग¥यो भन्ने न्युज मज्जाले लेख्नू’ भन्दै उनले भने, ‘मलाई पत्रकारिताको विषयमा, बजेट विनियोेजनको विषयमा, दुःखी गरिबको विषयमा र अन्यायमा परेको विषयमा कहिल्यै नसोध्नुस् । त्यसको अभियन्ता, अगुवा हो म ।’ त्यसपछि वडाध्यक्ष भएर पनि उनले सामुदायिक वनको अध्यक्ष नछाडेको भन्ने आलोचना भइरहेकोबारे प्रश्न गर्दा रिसाउँदै फोन राखिदिए ।
 

टिप्पणीहरू