एमाले अखिल अध्यक्ष सुनिताको बिशेष परिपत्र

एमाले अखिल अध्यक्ष सुनिताको बिशेष परिपत्र

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आफ्ना नेता चेतन अयडीको हत्यारालाई कारबाही गराउन बिशेष कार्यक्रमसहित मातहतका कमिटीहरुको नाममा सर्कुलर जारी गरेकी छन् । उनले मृतकका परिवारको तर्फबाट सप्रमाण किटानी जाहेरी दिएकाहरुलाई तत्काल कारबाही गर्नुपर्ने मागमा केन्द्रित भएर आन्दोलन अगाडि बढाउन निर्देशन दिएकी छन् । 

गत मंसिर ४ गते बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान स्थलमा भएको विवादलाई लिएर अराजक समूहले सोही रात सुतिरहेको अवस्थामा अयडीको विभत्स हत्या गरेको थियो । 

अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य एवम् सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष अयडीको हत्यामा संलग्नलाई कारबाही गर्नुको साटो संरक्षण गरिएको आरोप  छ । 

अध्यक्ष सुनिता बरालले आज विशेष सर्कुलर जारी गर्दै न्यायका निम्ति शान्तिपूर्ण दबाब गर्दा पक्राउ परेका अनेरास्ववियुको जिल्ला अध्यक्षसहित नेता–कार्यकर्तालाई बिना शर्त रिहाइ गर्नुपर्ने बताएकी छन् ।

उनीहरुमाथि लगाइएको झुठा मुद्दा खारेज हुनुपर्ने,अयडीलाई शहिद घोषणा गर्नुपर्ने,उनको नाममा स्मृति पार्क निर्माण गर्नुपर्ने सर्कुलरमा उल्लेख छ । यसका लागि केन्द्रीय उपमहासचिव नरेश रोकायाको संयोजकत्वमा समन्वय कमिटीसमेत निर्माण गरिएको छ । 

साथै,उनले संघर्षका कार्यक्रम पनि तय गरेकी छन् । जसमा भोलि प्रत्येक जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने कुरा छ  । 

मंसिर १४ गते प्रत्येक जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने,मंसिर १५ गते देशभरका क्याम्पसमा कालो ब्यानर टाँग्ने र हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन गर्ने भनिएको छ । मागहरु सम्बोधन नभएमा थप संघर्षका कार्यक्रम तय गरिने बताइएको छ ।
 

टिप्पणीहरू