काठमाडौंका मेयर र उपमेयर नर्भिकमा

काठमाडौंका मेयर र उपमेयर नर्भिकमा

काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सोमबार साँझ नर्भिक अस्पतालमा पुगेका छन् । 

थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउने क्रममा झडप हुँदा घाइते नगर प्रहरीहरुको स्वास्थ्य अवस्था बुझ्न मेयर शाह र उपमेयर डंगोल छुट्टा छुट्टै समयमा नर्भिक पुगेका हुन् । 

सुरुमा साँझ पौने ८ बजेतिर पुगेका शाहले त्यहाँ उपचाररत घाइतेहरुको अवस्थाबारे चिकित्सकसँग जानकारी लिएका थिए । अस्पतालका इमरजेन्सी इञ्चार्ज तथा डेपुटी मेडिकल डाइरेक्टर डा. ओमर प्रधानले घाइतेमध्ये तीन जनाको टाउकोमा गहिरो चोट रहेकाले ‘अब्जरभेसन’ मा राखिएको बताएका थिए । 

नर्भिकले ३४ जना घाइतेको छोटो अवधिमै उपचार व्यवस्थापन गरेको सम्बन्धमा बालेनले डा. प्रधानसँग चासो राखेको बताइन्छ । मेयरलाई जानकारी गराउँदै चिकित्सकले नर्भिकको इमरजेन्सीको मूल विशेषता भनेकै आकस्मिक अवस्थामा घाइते तथा बिरामीहरुको सही व्यवस्थापन गर्ने रहेको, घाइतेहरुको अवस्थाको आधारमा रेड, ग्रीन र एल्लो जोनमा उनीहरुलाई राखेर सोहीअनुसारको उपचार प्राथमिकतामा आधारमा दिइने गरिएको बताएका हुन् ।

आज पनि त्यसै गरिएकाले तीन घण्टाको अवधिमा ३४ जनामध्ये ३१ घाइतेलाई उपचार गरी घर पठाइएको उनले बताए । करिब ३ मीनेट अस्पतालमा बसेर मेयर शाह फर्किएका थिए । 

उनी फर्किएको केहीबेरमै उपमेयर सुनिता डंगोल पनि अस्पताल पुगेकी थिइन् । उनले पनि नगर प्रहरीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको बताइन्छ । उनले नर्भिकको उपचार पद्धति तथा इमरजेन्सी उपचार कक्षमा देखाइएको कुशल व्यवस्थापनको खुलेर प्रशंसा गरेकी हुन् । उनले नर्भिकको टिमलाई धन्यवाद ज्ञापन गरेको अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालले घाइते नगर प्रहरीहरुको निशुल्क उपचार गरिदिएको बुझिएको छ ।

टिप्पणीहरू