आफै पठाउने,चुनाव नसकिँदै आफै थुत्ने

आफै पठाउने,चुनाव नसकिँदै आफै थुत्ने

अर्थमन्त्री जनार्दन शर्माले दुई जना महानिर्देशकलाई झिकेर अन्य दुई जनालाई त्यहाँ लैजाने निर्णय गर्नुभएको छ । अर्थ मन्त्रालयमा सरुवाको चिठी बनाइएको दुई साता भैसके पनि सम्बन्धित कर्मचारीलाई भने बुझाइ नसकिएको बताइन्छ । 

चुनावलगत्तै सरुवा गर्ने भन्दै मंसिर ४ गते अगावै तयार पारिएको पत्रमा मिति लेख्न बाँकी रहेको मन्त्रालयका उच्च अधिकारीहरुको भनाइ छ । आचारसंहिता लाग्ने म्याद सकिएको औपचारिक घोषणासङ्गै भन्सार विभाग र आन्तरिक राजश्वका महानिर्देशकको सरुवाको पत्र थमाइने स्रोतले बतायो । 

‘चुनावअघि भनेजति र मागेजति पैसा नदिएका कारण उहाँहरुको सरुवा भएको मन्त्री निकटस्थहरुले भनेको सुनेका हौं,’ स्रोतले अगाडि भन्यो, ‘भन्सार र आन्तरिक राजश्व विभागका डिजीलाई एउटै आरोप लागेको छ ।’ हुन त भन्सारका कमलप्रसाद भट्टराई र आन्तरिक राजश्व विभागका रितेशकुमार शाक्य दुबैलाई आफू मन्त्री बनेपछि शर्माले पटकपटक मान्छे झिक्ने,राख्ने क्रममा मात्र केही महिनाअगाडि त्यहाँ सरुवा गर्नुभएको थियो । अहिले ‘चुनावी चन्दा’ मा कुरो नमिलेपछि रातारात सरुवाको पत्र तयार पारिएको बताइन्छ । चुनावअघि नै फाल्न लाग्दा निर्वाचन आयोगले सहमति दिएको थिएन ।

भन्सारका डिजी शाक्यलाई अध्यक्ष प्रचण्डको मान्छे भन्दै उहाँले उतिबेला सरुवा गर्नुभएको मन्त्रालयका कर्मचारीहरु अहिले पनि बताउँछन् । मन्त्रीको भनाइ उद्धृत गर्दै अर्थका एक जना सहसचिवले बताए, ‘अध्यक्षको मान्छे भनेको त खत्तम पो परेछ । कुरो र परिस्थिति नबुझ्नेसँग काम गर्न सकिँदैन । भन्सारका हाकिमपनि शाक्यभन्दा फरक पाइएन ।’

अहिले भन्सारमा बजेट महाशाखाका चक्रबहादुर बुढालाई लैजान ठिक्क पारिएको छ । बुढा कर्णाली प्रदेशका बासिन्दा हुन् । उनी पहिले प्रदेश सरकारमा अर्थसचिव थिए । शर्मा मन्त्री भएलगत्तै सुर्खेतबाट बजेट महाशाखामा तानिएको थियो ।

भन्सारका भट्टराई र राजश्वका शाक्यलाई कहाँ पठाइने भन्नेबारे मन्त्रालयका कर्मचारी तैं चुप मैचुप छन् । ‘एउटालाई मन्त्रालय र अर्कोलाई सार्वजनिक ऋण कार्यालयमा लगिएको शंका छ । पत्र लेखेपनि बुझाइएको छैन । सार्वजनिक ऋण कार्यालयमा रहेका दीर्घ मैनालीलाई भने आन्तरिक राजश्वको महानिर्देशक बनाउने तयारी छ ।’ 

यता सरुवा भएका भनिएका महानिर्देशकहरुले पनि चिठी बुझ्न खासै चासो दिएको देखिँदैन । नयाँ मन्तृमण्डलमा शर्मा अर्थमन्त्री हुने सम्भावना क्षीण हुँदै गएकाले उनीहरु सोही अवस्थाको प्रतिक्षामा बसेका हुन् । जनआस्थाको जिज्ञासामा सरुवा भएकामध्ये एक जनाले भने, ‘हल्ला सुनिएको हो,चिठी बुझिएको छैन ।’ 

नयाँ सरकार गठनमा जनार्दन शर्मा अर्थमन्त्री नबन्ने पक्का हुँदै गएकाले मन्त्रालयका धेरैजसो कर्मचारी चल्मलाउन थालेका छन् । यता नेपाली काँग्रेसले पनि अर्थ मन्त्रालय कुनै हालतमा अरुलाई नदिने बताएको छ । स्वयम् माओवादी अध्यक्ष प्रचण्डलेसमेत अर्थ मन्त्रालय पार्टीको भागमा माग्दा शर्माले दाबी गर्ने भएकाले विवादित नहुनको लागि अरु नै मन्त्रालय दाबी गर्ने सम्भावना छ ।

कर्मचारीहरुको सरुवाबारे राखिएको जिज्ञासामा निर्वाचन आयोगका एक जना आयुक्तले भने, ‘४ गतेको मतदानसम्म सकिएको हो,पूरै चुनाव सकिएको छैन । सबै क्षेत्रको मतदान भ्याइएको पनि छैन । दोलखामा १५ गते बल्ल पुनर्मतदान हुँदैछ । कतिपय स्थानको मतपरिणाम अहिलेसम्म आएको छैन । पूर्ण परिणाम आयोगले घोषणा नगरेसम्म आचारसंहिता लागिरहन्छ ।’

आयोगको सोही धारणा बुझेपछि अर्थ मन्त्रालयमा दुई साताअघि बनाइएको पत्र अहिलेसम्म सार्वजनिक नगरिएको बताइन्छ । मन्त्रालय स्रोतले भन्यो, ‘आयोगले आचारसंहिता सकिएको घोषणा गरेको भोलिपल्ट चिठी दिने तयारी छ ।’

टिप्पणीहरू