बालुवाटारदेखि खुमलटार र बालकोटसम्म भेटघाट बाक्लै

बालुवाटारदेखि खुमलटार र बालकोटसम्म भेटघाट बाक्लै

मंसिर ४ गते सम्पन्न निर्वाचनको मतपरिणाम लगभग आइसकेको छ । अब प्रत्यक्षतर्फ सात स्थानको अन्तिम मरिणाम आउन बाँकी छँदा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री तथा मुख्य दलका नेताहरुबीच भेटघाट बाक्लो भएको छ ।

सोही क्रममा हिजो खुमलटारस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा उर्जामन्त्री पम्फा भुुसालले अध्यक्ष दाहालसँग भेट गर्नुभएको छ । उहाँले हिजो बिहान पौने ८ बजेदेखि आधा घण्टा छुट्टै भेटवार्ता गर्नुभएको बताइन्छ ।

त्यसपछि नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण र शिक्षामन्त्री देवेन्द्र पौडेलसँग अध्यक्ष दाहालले डेढ घण्टा कुराकानी भएको थियो । 

हिजै बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच छुट्टै भेट भएको बताइन्छ । उहाँहरुबीच दिउँसो ४ बजेदेखि साँझ साढे ५ बजेसम्म लामो कुराकानी भएको हो ।

उता बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले भेट गर्नुभएको छ । नेम्वाङसहित तीन जनाको टोली अपरान्ह पौने ५ बजे बालकोट पुगेको थियो । उहाँहरुले पनि एक घण्टा छलफल गरेको बताइन्छ । 

सबैजसो भेटघाट निर्वाचन परिणाम र आगामी सरकार निर्माणमा केन्द्रित रहेको बुझिएको छ ।

टिप्पणीहरू