महानगरपालिकाद्वारा सुकुम्बासीमाथि कारबाहीको माग

महानगरपालिकाद्वारा सुकुम्बासीमाथि कारबाहीको माग

अनाधिकृत संरचना हटाउने कार्यमा खटिएका नगर प्रहरीमाथि सांघातिक आक्रमण गरेका सुकुम्बासी बस्तीका स्थानीयलाई कारबाही गर्न माग गरिएको छ । काठमाडौं महानगरपालिकाले नगर प्रहरीमाथि आक्रमण गर्नेहरुलाई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकाय तथा पदाधिकारीहरुसँग आग्रह गरेको छ । 

थापाथलीस्थित बागमती नदी किनारमा रहेको बस्ती हटाउने क्रममा स्थानीयले हिजो नगर प्रहरीमाथि लाठी, ढुंगा र पेट्रोल बम हानेको बताइन्छ । उक्त झडपमा झण्डै तीन दर्जन नगर प्रहरी घाइते भएका छन् । 

स्थानीयले खुँडा, खुकुरी, धारिलो हतियार, ढुंगामुढासहित आपराधिक मनशायले आक्रमण गरेको महानगरपालिकाले जनाएको छ । अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको अनुरोधमा बागमती किनारमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन जाँदा आक्रमण भएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।  

पटक पटकको सूचनालाई अटेर गरेपछि समितिको अनुरोधमा महानगर त्यहाँ पुगेको उनको भनाइ छ । बागमती किनारमा पुग्नेबित्तिकै स्थानीयले ढुंगामुढा गरेको उनी बताउँछन् । आपराधिक कार्यको नेतृत्व गर्ने र संलग्न व्यक्तिहरुको नाम महानगरीय प्रहरी परिसर, टेकुमा पठाइएको पनि उनले जानकारी दिए । 

यता, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) लगायतले वास्तविक सुकुम्बासीका लागि उचित स्थानको व्यवस्थापन गरिदिन सरकारसँग माग गरेको छ । वास्तविक र नक्कली सुकुम्बासीको पहिचान गरी उनीहरुको व्यवस्थापन गरिनुपर्नेमा जोड दिइएको छ । 

छानबिन नै नगरी विकल्परहित तवरले सुकुम्बासी हटाउन खोजिएको जारी विज्ञप्तिमा उल्लेख छ । ‘हामी संघीय सरकार र स्थानीय सरकारलाई वास्तविक सुकुम्बासी र नक्कली सुकुम्बासी वैज्ञानिक रुपमा छानबिन गरी वास्तविक सुकुम्बासीका लागि उचित व्यवस्थापन गरी उनीहरुलाई ससम्मान सारियोस् भनि जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू