वर्षौं वीच नगर्ने,बहाना मात्रै बनाइरहने

वर्षौं वीच नगर्ने,बहाना मात्रै बनाइरहने

वर्षौंदेखि वीच नगरेर स्थानीय जनताको स्वास्थ्यमा खेलबाड गरेको भन्दै आज पनि जोरपाटी–साँखु सडकको थली बजारमा सवारी साधन आवागमन बन्द गरिएको छ । स्थानीयले अस्तिदेखि सडक अवरुद्ध गर्दै आएका छन् । 

‘आज तेस्रो दिन पनि बिहान पौने ८ बजेबाट सडक बन्द गरेका छौं,’ थलीका स्थानीयको भनाइ हो यो । उनीहरुले सडकमा सवारी साधन आवागमन गर्न नमिल्ने बनाएका छन् । वीचमा ढुंगा थुपारिएको छ भने डोरी पनि वारपार हुने गरी बाँधिएको छ ।

यता,उक्त सडक पीच गर्न ठेक्का लिएको बज्रगुरु–बिरुवा–खानी जेभीले विज्ञप्ति जारी गरेर मेशिन बिग्रेको कारण देखाएको छ । तर स्थानीयले वर्षौैंदेखि असरल्ल बनाइएको सडक बनाउन अहिले आएर मेशिन बिग्रेको भन्नु ठेकेदारको बहाना मात्रै भएको बताएका छन् । 

ठेकेदार कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पीच गर्नुअघिको बेसकोर्स बिछ्याउने कार्य सम्पन्न भएको र गत बिहीबारदेखि पीच गर्ने भनिएकोमा मेशिनमा प्राविधिक समस्या उत्पन्न भएको र उक्त समस्या हिजोसम्म समाधान गरेर आजदेखि पीच सुचारु गर्ने प्रतिबद्धता जाहेर गरेका छौं ।’
 

टिप्पणीहरू