जातेजाते मन्त्रीद्वारा भन्सारमा पनि काम तमाम

जातेजाते मन्त्रीद्वारा भन्सारमा पनि काम तमाम

जाँदाजाँदै अर्थमन्त्री जनार्दन शर्माले भन्सार विभागको महानिर्देशक परिवर्तन गरेका छन् ।  उनको दुई महिनादेखिको प्रयत्न आज बल्ल साकार भएको हो ।  नौ महिना  मन्त्री शर्माले नै त्यहाँ खटाएका सहसचिव कमलप्रसाद भट्टराईलाई अर्थ मन्त्रालयको अतिरिक्त समूहमा तानेर त्यहाँ बजेट महाशाखा हेर्दै आएका गृहका क्याडर चक्र बूढालाई आजै खटाइएको अर्थ मन्त्रालय स्रोतले जनआस्थालाई जनाएको छ ।

अर्थमन्त्री शर्माले (असोज तेश्रो साता) निर्वाचन अगावै आन्तरिक राजश्व र भन्सारको महानिर्देशक परिवर्तन गर्नका लागि निर्वाचन आयोगसँग सहमति माग गरेका थिए । तर सहमति प्राप्त नहुँदा ती महत्वपूर्ण विभागको हाकिम परिवर्तन गर्न सम्भव भएको थिएन । निर्वाचन सकिएलगत्तै मंसिर दोश्रो साता आन्तरिक राजश्व विभागका हाकिम रितेश शाक्यलाई अर्थ मन्त्रालयको बजेट महाशाखामा तानेर त्यहाँ दीर्घराज मैनालीलाई खटाउन भ्याएका मन्त्री शर्माले आज भन्सारको हाकिम पनि परिवर्तन गरेका हुन् । 

सरुवा भएका शाक्यले यो सरुवालाई सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिए । दुई साताअघि नै राजश्वबाट अर्थमा सरुवा भएको भए पनि आफू  कार्यक्रमको सिलसिलामा जर्मनी पुगेर अस्ति शुक्रवारमात्र स्वदेश फर्किएको र आजै लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाट बिदा लिएको सुनाउँदै उनले भोलि बिहानै अर्थ मन्त्रालयमा हाजिर हुन लागेको बताए । 

यता केही बेरअघि सकिएको क्याबिनेट बैठकले विवादास्पद चरित्रका सहसचिव रामआधार साहलाई सचिवमा उकालेको एक मन्त्रीले जनआस्थालाई जनाएका छन् । सचिव बढुवाका लागि सहसचिवत्रय रामआधार साह,विश्वबाबु पुडासैनी र अर्जुनजङ्ग थापाको नाम सिफारिस भएकोमा क्याबिनेटले पहिलो नम्बरमा सिफारिस भएका साहलाई सचिवमा बढुवा गरेको हो ।

टिप्पणीहरू