खुमलटार पुगेर आइजीपीहरुले भने ‘ह्याप्पी बर्थडे टु यु हजुर’

खुमलटार पुगेर आइजीपीहरुले भने ‘ह्याप्पी बर्थडे टु यु हजुर’

आज दिउँसो नेपाल प्रहरी,सशस्त्र प्रहरी र गुप्तचर प्रमुखहरु एकाएक खुमलटार पुगे । टोली पुग्दा माओवादी केन्द्रका धेरै जना नेतासहित नवनिर्वाचित सांसदहरु कोही घामतिर र कोही भित्र-बाहिर गरिरहेका थिए । 

त्यत्तिकैमा भित्रबाट बोलावट आएपछि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह,सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा बैठक कोठाभित्र छिरेको त्यहाँ पुगेका एक जना नवनिर्वाचित माननीयले बताए ।

तीनै जनाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सांसदमा निर्वाचित हुनुभएकोमा बधाई दिएका थिए । ‘उहाँहरु अनौपचारिक तवरले पूर्व प्रधानमन्त्रीलाई बधाई दिन आउनुभएको हो,’ खुमलटार स्रोतले बतायो । 

प्रत्युत्तरमा अध्यक्ष दाहालले ‘चुनाव राम्रोसँग सम्पन्न गर्नुभएकोमा धन्यवाद,’ भन्नुभएको थियो । अरु सबैले प्रचण्डलाई जन्मदिनको शुभकामना दिँदै गरेको  सुनेपछि सिंह,अर्याल र थापाले पनि ‘ह्याप्पी बर्थडे हजुर’ भनेको बताइन्छ ।

उहाँहरु मुश्किलले १० मीनेट बसेर खुमलटारबाट बाहिरिएको उनै माननीयले जनआस्थालाई बताए ।

टिप्पणीहरू