विदेशीलाई आयोजित नाचगानमा मुख्यसचिव र गभर्नर सामेल

विदेशीलाई आयोजित नाचगानमा मुख्यसचिव र गभर्नर सामेल

मुख्यसचिव शंकरदास बैरागी र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विदेशी प्रतिनिधिमण्डलको सम्मानमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ । उहाँहरु दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हिजो आयोजित रात्रिभोज तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभएको हो ।
 

कार्यक्रममा ‘सालको पातको टपरी हुने...’ गीत बजेपछि मुख्यसचिव र गभर्नर स्टेजमा उक्लेर अरुसँगै मिसिनुभएको बताइन्छ । मुलुकले गरेको सम्पत्ति शुद्धिकरण निवारणको प्रगतिबारे स्थलगत अध्ययन गर्न आएको अन्तर्राष्ट्रिय टोलीलाई दिइएको रात्रिभोज र सांस्कृतिक कार्यक्रममा उच्च सरकारी अधिकारीहरुसँगै उहाँहरु पनि सहभागी हुनुभएको एक जना सचिवले बताए ।

‘कार्यक्रममा केहीबेर बसेर उहाँहरु निस्कनुभयो । अरु आमन्त्रित अबेरसम्म कार्यक्रममा रमाएका थिए,’ उनै सचिवले भने । कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव, राष्ट्र बैंकका सञ्चालक,डेपुटी गभर्नर,कार्यकारी निर्देशक,एफआईयुका अधिकांश कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि तथा अन्य सरकारी निकायका अधिकारीहरुको उपस्थिति थियो ।

रात्रिभोज र सांस्कृतिक कार्यक्रमको खर्च राष्ट्र बैंकले व्यहोरेको एक जना कार्यकारी निर्देशकले बताए । सांस्कृतिक कार्यक्रमको संयोजन नेपाल प्रहरीले गरेको बताइएको छ ।

टिप्पणीहरू