दुई सिटे राप्रपामा सांसद बन्न मारमुंग्री,कार्यालय तोडफोड

दुई सिटे राप्रपामा सांसद बन्न मारमुंग्री,कार्यालय तोडफोड

संघीयता खारेजीको एजेण्डा लिएर चुनावमा गएको पूर्वपन्चहरुको पार्टी राप्रपामा प्रदेशको सांसद बन्न नेताहरुबीच हारालुछ हुँदा किचलो चर्किएको छ । चुनावमा सोचेभन्दा राम्रो नतिजा निकालेको राप्रपाले संघ तथा प्रदेशमा आफ्नो बलियो उपस्थिति जनाएको छ । तर, समानुपातिकतर्फ नेताहरुले आफ्नै मान्छेलाई राख्न खोजेपछि विवाद बढेको छ । 

प्रतिनिधिसभातर्फ पशुपतिसमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीमध्ये समानुपातिकको बन्दसूचीमा १ नम्बरमा कसलाई राख्ने भन्ने विवादका कारण आन्तरिक चुनाव गरेको राप्रपाले अस्ति फाइनल नाम सिफारिस गर्दा बुध्दिमान तामाङलाई ल्याएपछि एउटा पक्ष असन्तुष्ट रहेको छ । यस्तो विवाद र असन्तुष्टी प्रदेशहरुमा झन धेरै देखिएको छ ।

समानुपातिकमा २ सांसद पाएको गण्डकीमा प्रदेश अध्यक्षले पैसा बुझाएर आफ्नो नाम सिफारिस गराएको आरोप छ । प्रदेशका अध्यक्ष पन्चराम गुरुङले पैसा बुझाएर सांसद बनेको भन्दै कार्यकर्ताले पार्टी कार्यालय तोडफोड समेत गरेका छन् । 

‘पैसा बुझाएर सांसद बन्न पाईंदैन,’ एक नेताले भने, ‘पार्टीमा दु:ख गरेका धेरै साथीहरु हुनुहुन्छ । अरुलाई अवसर दिनुपर्छ ।’ नेतृत्वको एकलौटी र निरङ्कुश कार्यशैलीविरुध्द कार्यकर्ताले पार्टीको प्रदेश कार्यालयमा तोडफोड र तालाबन्दी गरेको उनले बताए । 

राप्रपा मात्र होइन,नेकपा एमालेमा पनि समानुपातिक सांसद चयन प्रक्रियालाई लिएर गण्डकीमा असन्तुष्टि चुलिएको छ । समानुपातिकतर्फ १० सीट पाएको एमालेले २ जिल्लाबाट अधिकांश सांसद छनोट गरेपछि नेता-कार्यकर्ता असन्तुष्ट भएका हुन् । 

एमालेले कास्कीका ४ र बागलुङका ४ जनालाई छनोट गरेको छ । बाँकी २ जनामध्ये एकजना स्याङजा र अर्को एकजना लमजुङबाट समेटिएका छन् । ११ जिल्ला रहेको यहाँ एमालेले ४ जिल्लाबाट मात्रै सांसद छानेको हो । 

गोरखाबाट आदिवासी जनजाति क्लष्टरको दोश्रो नम्बरमा रहेका प्रेम गुरुङलाई हटाएर खस आर्यतर्फ २ नम्बरमा रहेका कास्कीका प्रकाश केसीलाई समावेश गरेको भन्दै एमालेकै नेता कार्यकर्ताले विरोध गरेका छन् । त्यसविरुध्द गोरखाका ११ वटै स्थानीय तहका अध्यक्ष र जनवर्गीय संगठनका अध्यक्षहरु केपी ओलीको निवास बालकोटमा डेलिगेसन गएका छन् ।

टिप्पणीहरू