सरकारले अनैतिक र असम्वैधानिक कार्य गर्न खोजेको विवेकशीलको आरोप

सरकारले अनैतिक र असम्वैधानिक कार्य गर्न खोजेको विवेकशीलको आरोप

विवेकशील साझा पार्टीले सरकारले ल्याउन खोजेको अध्यादेश अनैतिक र असवैंधानिक भएको आरोप लगाएको छ । 

टीकापुर घटनाबारे लाल आयोग प्रतिवेदन सार्वजनिक नगरी सत्ता सौदावाजीका लागि फौजदारी अभियोग लागेको र सर्वोच्चमा मुद्दा विचाराधीन रहेकालाई जेलबाट छुटाउने उद्देश्यले अध्यादेश ल्याइनु अनैतिक र असम्वैधानिक रहेको भन्दै पार्टीले आपत्ति जनाएको छ । 

‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी पीडितहरुको समस्या सम्बोधन गर्न र अध्यादेश फिर्ता लिएर लोकतन्त्रको साख बचाउन सरकारलाई आग्रह गर्दछौँ,’ आज जारी विज्ञप्तिमा उल्लेख छ । 

वर्तमान संसदको कार्यकाल सकिएको र नयाँ सभा गठन नभइसकेको संक्रमणकालीन अवस्थामा सरकारले दूरगामी असर पार्ने सामरिक महत्वको विधेयक ल्याउन खोजेर नयाँ संसदको क्षेत्राधिकार मिचेको पार्टीको ठहर छ । 

उसले भनेको छ, ‘यस कदमबाट कानुनी शासनको धज्जी उडाउने र लोकतन्त्रलाई अझै कमजोर बनाउने प्रपञ्ञ गरिएको छ ।’

टिप्पणीहरू