ठगीका नयाँ स्वरुप : महिला, पुरुष अनि ग्रुप

ठगीका नयाँ स्वरुप : महिला, पुरुष अनि ग्रुप

पछिल्लो समय ठगीका नयाँ घटनाहरु आइरहेका छन् । थरिथरि उपाय लगाएर ठगहरुले सर्वसाधारणलाई ठगिरहेका छन् । हालै पत्ता लागेको एउटा ठगीधन्दाले धेरैलाई अचम्मित तुल्याएको छ ।

कुटपिट गरेर लुट्ने, हनीट्र्यापमा पारेर ठगी गर्ने खालका घटनाहरु व्यापक रुपमा बढेको छ । तर,सरकारी पोशाक लगाएर दिनदहाडै, समूहमा त्यो पनि राजधानीमा कसैले ठग्न सक्छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । 

काठमाडौंको नयाँ बसपार्क एरियामा भर्खरका युवायुवतीले त्यहाँका व्यापारी र व्यवसायीहरुलाई भ्रममा पारेर धेरै दिनसम्म लुटेको पाइयो । सरकारी पोशाकमा ठाँटिएर हिँडेका नक्कली कर्मचारीमाथि कसैले शंका गर्ने कुरो पनि भएन । निजामती कर्मचारीको पोशाक र बाहिर परिचय पत्र झुण्डाएपछि कसले शंका गर्ने ?

‘आन्तरिक राजस्व विभागका कर्मचारी’ भन्दै उनीहरुले बसपार्क क्षेत्रभित्रका होटल, रेस्टुरेन्ट,पसल र फुटपाथ पसलेसमेतबाट रकम असुली गरेका हुन् । 

पसलमा छिर्ने र सरकारी अनुगमन गरेको बहानामा रकम धुत्ने उनीहरुको दिनचर्या बनेको थियो । कर्मचारीका पोशाकमा सजिएर परिचयपत्र र हातमा रसिदसमेत बोकेकाले व्यवसायीहरु शुरुका दिनमा डराएको बताउँछन् । 

उनीहरुले सो क्षेत्रबाट मात्रै पाँच लाखभन्दा बढी रुपैयाँ ठगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । स्थानीयको गुनासोपछि प्रहरीले उक्त टोलीका आठ जनालाई रंगेहात पक्रेको छ । 

 
स्थानीय व्यवसायीले मंसिर २३ गते खबर गरेपछि साँझको समयमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई,अछामकी सागरजंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ,अछामकी दूधकला बिक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव बिष्ट तथा डेविड धामी रहेको प्रहरीले जनाएको छ । बिष्टको डेराबाट आन्तरिक राजश्व कार्यालयको स्टाम्प,लेटरप्याड,रसिद र परिचयपत्र प्रहरीले बरामद गरेको छ । 

त्यस्तै,धामीको कोठाबाट पनि रसिद,लेटरप्याड, परिचयपत्र र परिचयपत्र झुण्डाउने डोरी बरामद गरिएको छ । उनीहरुविरुद्ध चार जना व्यवसायीले लिखित जाहेरी दिएका छन् । पीडितहरु आउने क्रम जारी रहेको प्रहरीले बताएको छ । पक्राउ परेका सबैविरुद्ध ठगी र कीर्तेसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।  

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता दिनेश मैनालीले उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने, ‘कानुन थाहा हुँदाहुँदै पनि लोभमा फसेर यस्ता क्रियाकलाप गरिएको खुलेको छ ।’ पछिल्लो केही वर्षमा  यस्ता घटनामा बढोत्तरी भएको उनी बताउँछन् । 

नयाँ प्रकृतिका ठगीका घटना न्यूनीकरणका लागि बाग्मती प्रदेश सरकार,प्रहरी प्रशासनले विभिन्न कार्यक्रमहरु गर्दै आएको उनको दाबी छ । तर यस घटनाले काठमाडौँ उपत्यकामा मात्र नभई मुलुकभर तरंग ल्याएको छ । सक्कली सरकारी कर्मचारीले बजार अनुगमन गर्न नजाने प्रवृत्तिको फाइदा उनीहरुले उठाएको जानकारहरुको ठहर छ । 

उक्त घटनाले ठगीको नयाँ स्वरुपलाई मात्र परिचित नगराई सरकारलाई आफ्नो काम, कर्तव्य र दायित्व पूरा गर्न पनि सवक सिकाएको छ । बेरोजगारी, नाजुक आर्थिक अवस्था ठग र ठगीको संख्या बढ्नुको अर्को कारण हो । 
आम्दानीका स्रोत नभएपछि लुटेर, ठगेर खानेको संख्या बढ्नु स्वाभाविक हो । प्रायः यस्ता घटनामा युवायुवतीहरु संलग्न हुने गरेको प्रहरीको भनाइ छ । मुलुकको मुहार फेर्नुपर्ने कर्णधारहरु नै अपराधिक क्रियाकलापमा संलग्न भएपछि कसको के लाग्छ ?

टिप्पणीहरू