सम्पत्ति, सन्तान र श्रीमतीको आशक्ति यसैमा छ आपत्ति
अजम्बर राई काङमाङ, पोलिटब्युरो सदस्य, माओवादी केन्द्र
सर्प, नदी र राजनीति सिधा बाटो हिँड्दैन भन्छन् । उस्तै छ, अजम्बर राई काङमाङको राजनीतिक जीवन पनि । ०३५ सालदेखि नेकपा मालेसम्बद्ध अनेरास्ववियु एकताको पाँचौंबाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनले अन्नपूर्ण माविको स्ववियू सचिव, भोजपुर जिल्ला कमिटी सचिव, सुनसरी अध्यक्ष, कोशी अञ्चल सदस्य, एमाले भोजपुर पार्टी जिल्ला कमिटी सदस्य हुँदै, ०५४ सालमा माले भएर केही समय काम गरे । ०६४ सालमा प्ररायुसंघको अध्यक्ष, ०६५ सालमा एमाले केन्द्रीय सदस्य, ०६९ सालमा अशोक राईहरूसँगै संघीय समाजवादी पार्टीतिर लागेका उनी ०७१ सालमा संघीय समाजवादी फोरम हुँदै ०७४ चैतदेखि माओवादीमा क्रियाशील छन् । यसपटक प्रतिनिधिसभा सदस्यका लागि आदिवासी जनजातितर्फ समानुपातिकमा पहिलो नम्बर पालो थियो । तर, रणेन्द्र बरालीका निम्ति निर्वाचन आयोगमा नाम सिफारिस गरिएसँगै अस्ति आइतबार खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई भेटी तीतो पोखेका छन् ।
– हरि गजुरेल
आदिवासी जनजातितर्फ पहिलो नम्बरमा तपाईंको नाम काटेर अरूलाई सांसदमा सिफारिस गरिएछ के हो वास्तविकता ?
– नेतृत्वले जोखिम मोल्न सकेन । मप्रति उहाँहरूको दृष्टिकोणको प्रकटीकरण हो यो । कानुनी, प्राविधिक कुरा मेरो पक्षमा रहँदारहँदै पनि मनोगत पक्ष विरोधी भइदियो । एक माघले जाडो जाँदैन ।
नेतृत्व नकारात्मक हुनुपर्ने कारणचाहिँ के होला ?
– क्लष्टरका आधारमा सबैभन्दा बढी खस, आर्य जातिको बाहुल्यता थियो । दोस्रोमा आदिवासी जनजातिको । माओवादी केन्द्रले समानुपातिकतर्फ जम्मा १४ सिट पाएको हो । प्रतिनिधिसभा ३२ र राष्ट्रिय सभामा १५ गरी ४७ सिट हुन आउँछ । यसमा १२ महिला पठाउनुपथ्र्याे । रेखा शर्माले दाङबाट जितेको र राष्ट्रिय सभाका ३ जना गरी कूल ४ जना महिला सभासद् हुनुहुन्थ्यो । यस्तोमा पार्टीले २ जना पुरुषलाई पठाउनुपर्ने हो । एक नम्बरमा हितराज पाण्डेलाई खस आर्यको तर्फबाट छानिँदा स्वतः २ नम्बरमा म पर्नुपर्ने थियो । तर कम जनसंख्या भएको दलितमा गइयो । त्यसमा नेतृत्वले जोखिम लिन सकेन ।
समानुपातिक सांसद बन्न नपाएपछि अस्ति आइतवार प्रचण्डलाई भेट्न खुमलटार पनि पुग्नुभयो । त्यहाँ के कुराकानी भए ?
– सभासद् चयनका सन्दर्भमा भेटेको होइन । असन्तुष्टि राख्नु पनि थिएन । मैले केही जिउँदा प्रश्न गरेँ । चाहँदाचाहँदै पनि सकिएन भन्नुभयो । उहाँको शारीरिक हाउभाउ र भावभंगीमाले लज्जाबोधजस्तो गरिरहनुभएको थियो । मैले यस्तो महसुुस गर्नुपर्दैन, तपाईंका सीमा र अप्ठ्याराहरू बुझ्दछु भनेर कुरालाई अलि सहज बनाएँ ।
एमालेबाट जसपा हुँदै माओवादीमा फर्कनुभयो । भोजपुरे हेमराज राईहरू फर्किएर एमालेमा गए, समानुपातिकबाट संसद भए । अशोक राईले एमालेकै सहायतामा धरानबाट चुनाव जिते । श्रीमतीलाई समेत समानुपातिकबाटै सांसद बनाउन सफल भए । पदीय हिसाबले अजम्बरचाहिँ किन अजम्बरी हुन सक्नुभएन ?
– हरेक व्यक्तिको योग्यता परीक्षणको एउटा घडी आउँछ र सबै परीक्षणमा कुशलतापूर्वक उच्च अंक ल्याएर पास गर्नुपर्ने हुन्छ । लाग्छ, मेरो परीक्षाको घडी अझैं बाँकी छ । परीक्षा दिँदा मेरा योग्यताहरू कमजोर हुँदैनन्, बरु अनुभव र सिकाइले समृद्ध बनाउनेछ । मेरा निजी अडान, पूर्व मान्यता र प्राथमिकताका कारण निर्वाचित हुने वा फूलमाला लगाउने स्थितिमा नपुगेको हुँला । मेरा यी कदम र निश्कर्षले पूर्व मान्यताहरू धुलिसात भएका छैन, बरु थप स्थापित भएका छन् । ०५४ सालमा एमाले छाडेँ, त्यो विद्रोहको कारण महाकालीको शीर नटुग्यांइकन सम्झौता गर्नु हुँदैन भन्ने थियो । आज पनि महाकालीको शीर कुन हो भन्ने विवाद कायमै छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी अझैं भारतीय पकडमा छ । त्यतिखेरको अडान ठीक थियो भन्ने लागेको छ । ०६९ सालमा दोस्रो पटक विद्रोह गर्नुको कारण संघीयता र पहिचानको मुद्दालाई एमालेले छाड्नु थियो । अहिले पनि एमालेले पूर्ववत् दृष्टिकोण परिवर्तन गरेको छैन । बरु प्रदेशसभा खारेजी, धार्मिक, साँस्कृतिक अतिवादमा फस्दै गएको छ । माहुर लगाएर ताज पहिरी नयाँ सम्राट हुँ भन्ने कुरा मलाई मन परेन । त्यता पाएर जित्ने वा सभासद् हुने कुराभन्दा अन्यायपूर्वक सभासद् नबनाउँदा नै मज्जा छ । कहिलेकाहीँ आफ्नै विद्रोहले राजनीतिक कुटाइ खाँदा पनि बडो मज्जा आउँदो रहेछ ।
समानुपातिक निर्वाचन प्रणाली भनेको पहुँचवाला नेताका श्रीमती र व्यापारीहरूलाई अटाउने व्यवस्था रहेछ है !
– समानुपातिक निर्वाचन प्रणाली राज्यसत्ताबाट धेरै टाढा परेका, पारिएका र त्यहाँ जान नसक्ने गरी विभेदमा परेकाहरूलाई माथि उठाउने सकरात्मक विभेदको प्रणाली हो । तर हामीले ठीक खालको ऐन, नियमावली बनाउन नसक्दा यसमा पूर्णतः नेता र दलहरूको मनपरीतन्त्र रह्यो । दलहरूको दबाबका कारण ठीक खालको ऐन पारित गर्न निर्वाचन आयोगले पनि सकेन । यो त प्रत्यक्षमा निर्वाचित हुन नसक्ने, लोकप्रियता र जनाधार गुमाएकाहरूलाई सुरक्षित पार्ने ठाउँ पो बन्यो । क्रमसंख्या तलमाथि पारेर पनि कसैलाई टिप्ने र कसैलाई फाल्ने स्थिति आयो । माओवादीले १४ जना समानुपातिक छान्दा १२ जना महिला क्लष्टर मिलाएर र २ जना पुरुष जुनसुकै क्लष्टरबाट पठाउन पाइन्छ भनेको ठाउँमा नेताहरूले सुड घुसाउने मौका पाए ।
अहिले बाम तालमेलका कुरा जोडतोडसाथ उठिरहेको छ । सफल हुने कत्तिको सम्भावना देख्नुहुन्छ ?
– सत्ता, शक्ति, सम्पत्ति, सन्तान र श्रीमतीको जुन चक्रमा नेपाली राजनीति फस्यो, यी कुनै पनि नाममा गरिएका गठबन्धन फलदायी हुँदैनन् । यी ‘पाँच स’को चक्रमा फसाउने हो भने जो जससँग गठबन्धन गर्दा पनि भयो । त्यसमा कुनै सैद्धान्तिक आवरण लगाइरहनु जरुरी भएन । जान्ने, सुन्नेले विचारको जामा पहिराइदिँदा भइहाल्यो । दाँइमा नारिएको गोरु सयौं किलोमिटर हिँडे पनि मियोभन्दा एक पाइला दाँयाबाँया सर्दैन । पाँच स को राजनीति भनेको मियोमा घुम्ने गोरुजस्तै हो । त्यसले पराल माड्छ, धेरै धान निकाल्दैन ।
माओवादी र एमाले मिलेर सरकार बनाउने कुरामा कत्तिको दम छ ?
– परित्यक्त पतिले पत्नीलाई, परित्यक्त पत्नीले पतिलाई पूर्ववत् अवस्थामा आऊ, अंकमाल गरौं भनेजस्तै हो यो । त्यस्तो ग्राउण्ड देख्दिनँ ।
नेपालका कम्युनिष्ट पार्टीहरूको यो हबिगत हुनुमा कसको जिम्मेवारी कति ?
– प्रथमतः राजनीतिक, सैद्धान्तिक धरातलको जगमा यिनले आफ्नो नीति तथा कार्यक्रम बनाएनन् । कतिपय नीति वैदेशिकमुखी, कतिपय दर्शनमुखी मात्रै भए । माक्र्सवाद, लेनिनवाद भयो तर कहिले पनि कालेवाद, लालेवाद भएन । यो वादको पछाडि कुद्दा नै यहाँका गरीबहरू झन् गरीब भए । गरीब वर्गबाटै आएका कम्युनिष्ट नेताहरू नवधनाढ्य, कुलीन बन्दै गए । सिद्धान्त, विचार ठीक ढंगको हुँदाहुँदै पनि ‘थिंक ग्लोबल्ली, एक्ट लोकल्ली’ को ढंगमा रुपान्तरण गर्न नसक्दा भीरको टुप्पामा पुगेका छौं, खस्न खस्न मात्र बाँकी छ ।
हिजोको भर्भराउँदो माओवादी केन्द्र पार्टीका आज किन यस्तो कन्तबिजोग ?
– राजनीतिक सत्ता बन्दुकको नालबाट मात्र जन्मन्छ भन्ने माओको युक्तिलाई प्रयोग गरेर देखाएकै हो । समाजभित्रको असमानता, विभेद, शोषण, दमनका विरुद्ध कठोर आन्दोलनको बुलन्द आवाज उठाएकै हो । त्यसकै परिणामस्वरुप ०६४ सालमा ठूलो जनमत प्राप्त ग¥यो । त्यतिखेर माओवादी आन्दोलन, क्रान्ति, आन्दोलन, त्रास र आशको नाम थियो । त्यसलाई नेतृत्वले सही ढंगबाट पहिचान गर्न सकेनन् । हिजोका क्रान्तिमा त्यहाँभित्रका अवसरवादीहरूले आर्जन गरेको निजी सम्पत्ति देखेर सत्तामा जान लालायित भए । सत्तामा गएकाहरूले आर्जन गरेको देखेपछि नगएकाहरू पनि सत्तामा पुग्नुपर्छ भन्ने चक्रमा फसे । वैद्य, विप्लव हुँदै पार्टी टुक्रा–टुक्रा भयो । आज पनि माओवादी सकिइहालेको छैन । बीऊ धान मात्र बाँकी रहेको स्थितिमा पुगेको छ । बीऊ धान मासेर खाने होइन, त्यसलाई एक बर्ष अनिकाल सहेर भए पनि जोतेर, रोपेर बढी उत्पादन गरी पछि आउने अनिकाल टार्ने हो । संगठनलाई सत्ता प्राप्तिको साधनमात्र मान्ने हो भने अगाडि जान सक्दैनौं । नेपाली कांग्रेस परम्परागत ढंगले चल्ने पार्टी, वैचारिक ढंगले कमजोर तर तल मजबुत संगठन भएको एमाले पार्टी छ । उनीहरूसँगको प्रतिस्पर्धाका लागि नयाँ पुस्तालाई संगठित गर्दै, विचार एजेण्डा ल्याउनेलाई पार्टीमा आकर्षित गर्नुप¥यो । सिंहदरबारतर्फ मात्रै होइन गाउँतर्फ, कुलीनतर्फ होइन गरिखाने वर्गतर्फ नफर्कने हो भने बाँकी रहेको बीऊ धान पनि मासिने स्थिति छ ।
पहिचानको मुद्दा बोकेर केही समय जसपामा लाग्नुभयो । त्यो पार्टी पहाडमा त कुरै छोडौं मधेसमै पनि किन कमजोर देखिएको ?
– ०६९ सालमा संघीय समाजवादी पार्टी निर्माण ग¥यौं । ०७० को निर्वाचनमा जाँदा हामीप्रति जनताको ठूलो सहानुभूति र आकर्षण थियो । तर त्यसलाई राजनीतिक, वैचारिक आलोकमा ठीक एजेण्डा उठाएर जनतालाई संगठित गर्न सकेनौं । त्यतिखेर ६०१ संविधानसभा सदस्यमध्ये समानुपातिकतर्फबाट ५ सिट मात्रै पायौं । हतार हतार मधेसी जनअधिकार फोरमसँग मिलेर समाजवादी फोरम निर्माण ग¥यौं । तराईमा राप–तापको साथ आएको फोरमसँग उक्त एकता ठूलो नदीमा सानो खोल्सा मिलेझैं थियो । खोल्साहरूलाई एकाकार गरेर लैजानुपर्नेमा ठूलो नदीले तँ खोल्सा, टुकुचा होस् भन्ने हेयभाव पैदा गरायो । भावनात्मक, सांगठनिक एकता हुनै सकेन । फलतः कतिपय साथी मातृ दलमै फर्किए । म पनि माओवादीतिर लागें । अहिले एमालेकै आड भरोशामा अशोक राईले जित्नुपर्ने, उपेन्द्र यादवको शर्मनाक पराजय सिके राउतसँग हुने र बहालवाला मन्त्री राजेन्द्र श्रेष्ठको काठमाडौंमा जमानत जफत हुने राजनीतिक चित्रले जसपा बिघटन उन्मुख छ भन्ने देखाउँछ । मधेसी जनाधिकार फोरम, संघीय समाजवादी फोरम हुँदै जसपासम्म आइपुग्दा उसले जनजातिको राजनीतिलाई भोट माग्ने र आफू सत्तामा पुग्ने भ¥याङमात्र बनाएको देखिन्छ । त्यही कारण उसले दण्ड भोग्नु आवश्यक थियो, भोग्दैछ ।
यो निर्वाचनमा युवाहरू किन दिग्भ्रमित भए ? किन घण्टीप्रति सोहोरिए ? बालेन, रवि लामिछाने भन्दै कुद्न थाले ?
– ठूलो संख्यामा रहेका युवा मतदाताहरूको मागलाई परम्परागत र पुराना पार्टीहरूले सम्बोधनै गर्न सकेनन् । उनीहरूको आवाज,चाहना र मनोविज्ञान बुझ्ने खालको सांगठनिक संरचना बनाउनै सकेनन् । आजको पुस्ताले आफ्नो कुराहरू डिजिटल क्रान्तिमार्फत व्यक्त गर्न सक्छ । त्यो मामलामा परम्परागत दलहरू चुके । जीवनको उत्तरार्धमा पुगेका नेताहरू डिजिटल साक्षर समेत छैनन् । फलतः नयाँ पुस्ता डिजिटल क्रान्तिका कारण एउटा भ्रमतिर आकर्षित हुनपुग्यो । राजनीति कहिले पनि शून्यको अवस्थामा रहँदैन । कहिलेकाँही गलत मान्छेहरूले पनि शासन गर्दछन् । असल शासक नचुन्ने हो भने गलत शासकबाट शासित हुन बाध्य र राजी पनि हुनुपर्छ ।
कुनै समय तपाईंहरूले नेतृत्व गर्नुभएको भर्भराउँदो युवा संघ, वाइसियलहरू आज किन सेलाए ?
– त्यतिखेर माक्र्सवाद, लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेर आमूल परिवर्तनका लागि सहायक संगठनका रुपमा यी संगठनहरू बनाएका थियौं । आवधिक रुपमा प्रशिक्षण दिने, सैद्धान्तिक परीक्षा पनि लिने गर्दथ्यौं । खटिएका आधारमा जिम्मेवारी थप्दै जाने र अवसरबाट लाभान्वित गराउँथ्यौं । नेतृत्व निस्कलंकित थियो । राजनीतिक रूपमा सुस्पष्टता, नैतिक हिसाबले निष्कलंक, आर्थिक व्ययभारको हिसाबले अत्यन्त पारदर्शी र मितव्ययी थियौं । अहिलेको युवा संगठन अराजनीतिक अखडा, स्वार्थसिद्ध गर्न करारमा ठेगिएका भिजिलान्तेहरूको समूह बनेर गयो । पार्टीले गरेका गलत कामको खण्डन वा आलोचना त्यसले गर्नै सक्दैन । जब भ्रातृसंगठनमा संगठित रहेकाहरूको यस्तो दुरावस्था हुन्छ तब नेताहरू एकाधिकारबादी, सर्वेसर्वा हुनु स्वाभाविकै हो ।
पार्टी परिवर्तन गरिरहँदा आफ्नो व्यक्तिगत जीवनमा के असर पर्दोरहेछ ?
– पुराना दलले खान, लगाउन दिएन भनेर मैले विद्रोह गरेको होइन । पार्टी र नेतृत्वले जतिसुकै गल्ती गरे पनि लगातार त्यहीं बसिरहने मान्छेचाहिँ राम्रो भन्ने हाम्रो समाजको स्थिर सोच रह्यो । जहाँ शिक्षित मतदाता बस्दछन्, हेर्नुहोस् त काठमाडौं, धरान, धनगढी, दिल्ली, बेलायतको चुनावी परिणाम ! कुनै पनि सचेत मतदाताले मेरो हजुरबाउ, बुवा लागेको दलमा लाग्नुपर्छ भन्दैन । आफ्नो एजेण्डासँग कत्तिको आफूलाई एकाकार गर्न सक्छ त्यहीअनुसार मतदान गर्ने हो । हाम्रो कुनै एक दलप्रतिको समर्पण भाव र स्थिर चिन्तनका कारण विद्रोहीलाई दल फेरुवा, लुंगी फेरुवाको आरोप लगाउँछन् । म सर्वाधिक गतिशील र विद्रोही स्वभावका मान्छे हुँ । पृथ्वी गोलो छ भन्दा जर्दानो ब्रुनोको जीब्रो काटिएको थियो । मान्छेको पुर्खा बाँदर हो भन्दा चाल्र्स डार्बिनको युरोपमा कार्टुन छापिन्थ्यो । कालान्तरमा पृथ्वी गोलै छ र मानिसको पुर्खा बाँदरै हो भन्ने प्रमाणित भयो । म पनि यो जगत्को जीवित ब्रुनो र डार्बिन हुँ ।
नेतृत्वका कारण मुखमै आएको भाग खोसिएको छ । अब फेरि विद्रोह गर्नुहुन्छ वा पार्टीमै स्थिर भएर रहनुहुन्छ ?
– यो त एउटा कार्यनीतिक प्रश्न हो । रणनीतिक रुपमा भन्नुपर्दा पार्टीभित्र थुप्रै कमी कमजोरीका बाबजुद पनि संघीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक निर्वाचन प्रणाली जुन पद्धतिबाट धेरै तह र तप्काका मान्छेहरू आज लाभान्वित भएका छन्, यी सबैको प्रणेता, मियो माओवादी केन्द्र नै हो । हजारौं पटक अवसरबाट बञ्चित गरे पनि मेरो मुखमा आएको भाग खोसे पनि म माओवादी छोड्दिनँ ।
टिप्पणीहरू