देउवाको अर्कै दाउ बुझेपछि माधव नेपाल बालुवाटारमा

देउवाको अर्कै दाउ बुझेपछि माधव नेपाल बालुवाटारमा

वामपन्थीहरुलाई बाहिरै राखेर सरकार गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको सक्रियता बढेपछि सत्ता गठबन्धनभित्र किचलो शुरु भएको छ । छैठौँ पटक प्रधानमन्त्री बन्ने दौडमा रहनुभएका देउवा गठबन्धन तोडेर जाने दिशामा प्रष्ट अघि बढेपछि गठबन्धनका दुई ठूला दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुको दौडधुप बढेको छ । 

हिजो साँझ प्रधानमन्त्री देउवालाई भेटेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन तोड्ने दुस्साहस नगर्न चेतावनीपूर्ण सुझाव दिएको बताइएको छ । साँझ ७ बजेतिर बालुवाटार पुग्नुभएका नेपालले चुनावअघिको सहमति र प्रतिबद्धता विपरित नजान देउवालाई आग्रह गर्नुभएको थियो । स्रोतका अनुसार झण्डै ४५ मीनेटको गोप्य वार्तामा गठबन्धनलाई जोगाएर जाने सम्भावनाका विषयमा दुई नेताबीच कुराकानी भएको हो । 

माओवादी र समाजवादीलाई बाहिर राखेर आफ्नो नेतृत्वमा सरकार बनाउन देउवाले गरेका विभिन्न भेटघाट र छलफलको सूचना पुगेपछि नेपालले बालुवाटार जानुअघि पार्टीका केही नेताहरुसँग छलफल गर्नुभएको थियो । 

चुनावअघि १५ वर्ष गठबन्धन गर्ने घोषणा गरेका दलहरुको अहिले प्राथमिकता फेरिएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्र दुबै गठबन्धन बाहिरबाट भए पनि सरकारको नेतृत्व लिने सम्भावनाको खोजीमा देखिन्छन् । नेपाली काँग्रेस वामबाहेकका दलहरुलाई आफ्नो नेतृत्वमा समेटेर अर्को गठबन्धनको सम्भावना हेरिरहेको छ भने माओवादीले पनि एमालेसँग सम्वादको ढोका खुला गरेको छ ।  

पछिल्लो समय राष्ट्रपतिमा खिलराज रेग्मीको चर्चा पनि त्यसैको परिणाम हो भनिन्छ । यसलाई कतिपयले प्रचण्डलाई दबाबमा राख्न प्रधानमन्त्रीको दाबी नछोडे माओवादीलाई राष्ट्रपति नदिने सन्देश दिन देउवाले सुविचारित ढंगले चलाएको हल्ला पनि भनेका छन् । त्यसैले त प्रधानमन्त्रीमा दलहरुको जति रस्साकस्सी छ, राष्ट्रपतिका लागि पनि कम छैन ।  

राष्ट्रपति र प्रधानमन्त्री एउटै पार्टीबाट हुँदा सरकार चलाउन जति सहज हुन्छ, फरक दलको हुँदा हुँदैन । राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी ओलीको ’ट्युनिङ’ नमिलेको भए आज राष्ट्रिय राजनीति नै अर्कै ठाउँमा हुन्थ्यो भन्नेहरु धेरै छन् । अर्कोतिर प्रचण्ड प्रधानमन्त्री भएका बेला त्यतिबेलाका राष्ट्रपति डा. रामवरण यादवले क्याबिनेटको निर्णय उल्ट्याएकै कारण राजनीति बिथोलिएको र अहिलेसम्म शान्ति प्रक्रिया टुंगोमा नपुगेको भन्ने गरिन्छ । आलंकारिक भए पनि राष्ट्रपतिले चाहँदा राजनीतिको धार नै परिवर्तन गर्न सक्ने रहेछ भन्ने कुराको यी दुई उदाहरण हुन् ।

यहि कारण अहिले दलहरुले राष्ट्रपतिमा दाबी बढाएका हुन् । पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष नेपालसमेत राष्ट्रपतिको दावेदार रहेको चर्चा छ । राष्ट्रपति र प्रधानमन्त्री दुवै आफैँले लिने कांग्रेसको चाल बुझेपछि त्यसको ’काउन्टर’ मा माओवादी र समाजवादीले उहाँको नाम अघि सारेको बताइन्छ । ’उहाँको चाहना त होइन, हामीले नै तपाईं हुनुपर्छ भनेका हौँ’, समाजवादीका एक नेताले भने । 

त्यसो त डा. बाबुराम भट्टराई पनि राष्ट्रपतिको दौडमा रहेको चर्चा छ । माओवादीले राष्ट्रपति पाउँदा उहाँलाई अघि सार्ने सम्भावना छ भनिन्छ । पूर्वप्रधानमन्त्री तथा समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि राष्ट्रपतिमा आकांक्षा राखेको यसअघि नै चर्चा थियो । तर, चुनावमा पराजित खनाललाई नैतिकरुपमा पनि अब राष्ट्रपति दाबी गर्न अप्ठेरो देखिन्छ । 

यता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा थन्क्याएर सहज प्रधानमन्त्री हुने देउवाको दाउ छ । प्रधानमन्त्रीको दाबी गरिरहेको गगन समूह पनि वामपन्थीहरुलाई रोक्ने शर्तमा त्यो मान्न तयार भइसकेको काँग्रेसका एक नेताले बताए । उनका अनुसार अन्तराष्ट्रिय शक्ति केन्द्रहरुको चाहना पनि राष्ट्रपति र प्रधानमन्त्री दुबै काँग्रेसले लिनुपर्छ भन्ने छ । राष्ट्रपतिमा खिलराज रेग्मीको चर्चालाई भारत र पश्चिमा शक्तिको चलखेलका रुपमा ती कांग्रेस नेताले विश्लेषण गरे । 

’यहाँ आन्तरिकभन्दा बाहिरी स्वार्थ निर्णायक हुन्छ । एमसीसीका बेला पनि देउवाले गठबन्धन तोडेर जान खोजेकै हो, अहिले पनि उहाँलाई वामपन्थीहरुलाई छोडेर जान दबाब छ’, काँग्रेसका ती नेताले आफ्नो नाम नलेख्न आग्रह गर्दै भने ।

यसका बाबजुद पनि संसद्को गणित भने वाह्य शक्ति, देउवा र काँग्रेस अनुकूल छैन । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन १३८ जनाको समर्थन चाहिन्छ । संसद्को सबैभन्दा ठूलो दल काँग्रेससँग जम्मा ८९ सांसद छन् । बहुमत पुर्याउन उसलाई थप ४९ सांसद आवश्यक पर्छ । माओवादी र एकीकृत समाजवादीलाई छोडेर उक्त संख्या जुटाउन देउवालाई सहज छैन ।

२० सीट भएको राष्ट्रिय स्वतन्त्र पार्टी, १४ सिटे राप्रपा र चार सांसद रहेको लोसपाको समर्थन पाउने देउवाको विश्वास छ । सीके राउतको जनमत र नागरिक उन्मुक्ति पार्टी पनि मिलाउन सकिनेमा देउवा ढुक्क हुनुहुन्छ  । तथापि यो सबै जोडजाड गर्दा पनि सरकारका लागि ’भ्यागुताको धार्नी’ नपुग्ने अवस्था छ ।

यता, वामपन्थीहरुका लागि पनि उस्तै अप्ठेरो छ । एमाले ७८, माओवादी ३२, जसपा १२, समाजवादी १०, जनमोर्चा १, नेमकिपा १ र ३ स्वतन्त्र एकतिर हुँदा पनि १३७ हुन्छ, जुन आवश्यक बहुमत होइन । 

यस्तो अप्ठेरो अंकगणितका बीच गठबन्धनकै सरकार बनाउने सहज सम्भावना लत्याएर देउवा अप्ठेरो बाटोमा हिँड्न थालेको संकेत बुझेपछि प्रचण्ड र माधवको दौडादौड बढेको हो । हिजो माधव जानुअघि देउवा भेट्न प्रचण्ड पनि बालुवाटार पुग्नुभएको थियो । भेटमा प्रचण्डले गठबन्धन जोगाएर जान प्रस्ताव गर्दै प्रधानमन्त्रीमा देउवाको समर्थन खोजेको बताइएको छ । तर, देउवाले भने पार्टीमा संसदीय दलको नेता चयन नहुँदासम्म यसबारे छलफल नगर्ने आफ्नो पुरानै अडान दोहोर्याएको बुझिएको छ ।

टिप्पणीहरू