बालुवाटारमा सार्कको चर्चा, शिखर सम्मेलन गर्न पाकिस्तान तयार
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विविधि विषयसँगै व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृतिको क्षेत्रमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्नेबारे छलफल भएको बताइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरुले पहल गरेको उल्लेख गर्नुभयोे । उहाँले भन्नुभयो, ‘यसमा आबद्ध मुलुकहरुले रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ । कुनै दुुई मुलुकबीच उत्पन्न आपसी समस्याको प्रतिकूल प्रभाव सार्कजस्ता क्षेत्रीय सङ्गठनमा पर्न हुँदैन ।’
उहाँले सार्वभौम र स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सबै मित्रराष्ट्रसँग सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको पनि राजदूतलाई अवगत गराउनुभएको छ ।
प्रत्युत्तरमा राजदूत हस्मीले आफूहरु पाकिस्तानमा सार्क शिखर सम्मेलन आयोजना गर्न तयार रहेको जानकारी दिनुभएको छ ।
टिप्पणीहरू