डिआईजी कार्यालयमा गाँजादेखि ब्राउनसुगरसम्मको चर्चा

डिआईजी कार्यालयमा गाँजादेखि ब्राउनसुगरसम्मको चर्चा

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी राजन अधिकारीसँग पूर्वका पत्रकारहरुले थुप्रै गुनासा राखेका छन् । सरुवा भएर आएपछि पदभार ग्रहणलगत्तै आयोजना गरिएको परिचयात्मक भेटघाट कार्यक्रममा पत्रकारहरुले खुल्ला सीमानाबाट भइरहेको खुलेआम तस्करी, विराटनगरमा दिनदहाडै बढ्न थालेको गुण्डागर्दी, यताबाट भारततर्फ हुने गाँजा र उताबाट ल्याउने गरेको ब्राउनसुगर तस्करीबारे प्रश्न उठाएका हुन् । 

पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘म बोलेर होइन, काम गरेर देखाउने प्रहरी अधिकृत हुँ । केही दिनमै त्यसमा कमी आउँछ । त्यसका लागि प्रहरी युनिटहरु वर्गीकरण गरी अलग–अलग कार्ययोजना बनाएर कार्यसम्पादन सम्झौता गरिसकिएको छ ।’ उनका अनुसार कोशी प्रदेशका १४ मध्ये नौ जिल्लाका लागि ४६ र पाँच जिल्लाका लागि ४७ बुँदे कार्ययोजना बनाइएको छ ।

कार्ययोजना कार्यान्वयन भएमा आपराधिक क्रियाकलापहरु घट्ने उनको जिकिर छ । कोशीेका ८८५ युनिटमध्ये ३८५ युनिट दुर्गम क्षेत्रमा पर्छन् । त्यहाँ कार्यरत प्रहरी र सो क्षेत्रका नागरिकको पीरमर्का बुझ्न सोझो सम्पर्कको व्यवस्था मिलाउने उनको योजना छ । कोशीमा एक जना प्रहरीले ३४६ जना नागरिकको सुरक्षाको जिम्मा लिनुपर्ने अवस्था छ । तर, दुर्गम र अति दुर्गम क्षेत्रमा सुरक्षा प्रदान गर्न भौगोलिक विकटता र स्रोतसाधनको चर्को अभाव छ ।

पत्रकारहरुले प्रहरीकै मिलेमतोमा खुलेआम तस्करी भएको आरोपसमेत लगाएका छन् । झापा, मोरङ र सुनसरीको विभिन्न नाकाहरुबाट खुलेआम तस्करी भइरहँदा प्रहरी रमिते बन्ने गरेको तर सोझा र झोले पोकेहरुलाई पक्राउ गरेर पुरुषार्थ देखाएको आरोप लाग्दै आएको छ । तर उनले भन्सार, चोरी, तस्करी हेर्ने मुुख्य निकाय नेपाल प्रहरी नभएको बताउँदै रोकथामको प्रयास भएको बताए ।

गत आर्थिक वर्षमा कोशी प्रहरीले १२ करोड र चालु आर्थिक वर्षमा चार करोड रुपैयाँ बराबर चोरी तस्करीको मालवस्तु पक्रेर भन्सारमा राजश्व दाखिला गराइसकेको छ । धनकुटा र भोजपुरमा उत्पादन हुने गाँजा ‘टनका टन’ सुनसरी र मोरङमा मात्र पक्राउ पर्ने गरेको कारण सोध्दै सेटिङको आशंका गरिएको छ ।

त्यसैगरी, विराटनगरका होटल, क्यासिनो र रेष्टुरेण्टमा दिनदहाडै व्यापारीहरुमाथि आक्रमणको घटना बढेको छ । प्रदेश राजधानी असुरक्षित हुँदै गएको र लागुऔषध कारोबारले विकराल रुपमा लिँदै गएको सन्दर्भ पनि भेटघाटमा उठेको बताइन्छ ।

लागुऔषध ओसारपसार र सेवन गर्नेहरुलाई पक्राउसँगै लागुऔषध सेवनकर्तालाई उपचारार्थ अस्पताल वा सम्बन्धित केन्द्रमा पठाउन सहजीकरण गर्नुपर्ने सुझाव प्रहरीलाई दिइएको छ । कोशीमा चालु आर्थिक वर्षको मंसिरसम्म एक केजी ८२ ग्राम ब्राउनसुगर नियन्त्रणमा लिइएको छ । त्यसैगरी, दुई लाख २८ हजार ८२८ वटा मेडिकल ड्रग्स ट्याब्लेट बरामद गरिसकेको छ । 

भेटघाटमा आत्महत्याका घटनाको अनुसन्धान र कारण विश्लेषणमा चासो नदिएको, खुलेआम घुस लेनदेन हुने गरेको, तस्करीकै कारण कोशीका उपल्ला तहका प्रहरीहरुमा गुटबन्दी बढ्न थालेको र त्यस्ता घटनाको प्रहरीले कार्यदल बनाएर अध्ययन गरेपनि प्रतिवेदन गोप्य राखेको गुनासो पत्रकारहरुको छ ।

टिप्पणीहरू