भरतपुरमा पनि बनाउने अनि भत्काउने क्रम निरन्तर

भरतपुरमा पनि बनाउने अनि भत्काउने क्रम निरन्तर

पहुँचवाला धनाढ्यहरुको सामुन्ने सरकारी निकाय पनि निरीह हुँदा रहेछन् । चितवन मेडिकल कलेज अगाडिको बाटोमा सडक विभागको पनि केही नचलेको देखिन्छ । कुरा अरुपनि होलान्, यो प्रसंगचाहिँ सिक्स लेन सडकको हो ।

भरतपुरमा पुलचोकदेखि गोन्द्राङसम्मको सडकलाई छलेनको बनाउने काम अन्तिम चरणमा पुगिसक्यो । अब करिब ८–१० प्रतिशत काममात्रै बाँकी रहेको बताइन्छ । सडक बिस्तारको क्रममा सडक विभागले बनाइसकेको रोड मेडियन गतवर्ष चितवन मेडिकल कलेज अगाडि जबरजस्ती भत्काइएको थियो । मेडियनले पूर्वतिरबाट आउने सवारी साधन त्यहीँ युटर्न हुन पाउने अवस्था नरहेपछि बाटोबाट सीधै बिरामी तान्ने हिसाबले मुख्य हाइवेमै सञ्चालित चितवन मेडिकल कलेजलाई मेडिकल हबमा बिरामी अन्यत्रै मोडिनसक्ने चिन्ताले पिरोल्ने नै भयो । त्यतिखेर आफू प्रत्यक्ष नदेखिएपनि वडाअध्यक्ष लगायत टोलका पदाधिकारीहरुलाई प्रभावमा पारेर सिएमसीले नै रोड मेडियन फुटाल्न लगाएको आरोप छ । 

सडक डिभिजन कार्यालय भरतपुरले सडक सुरक्षाको कारण त्यहाँ ओपनिङ ‘हुन सक्दैन, मिल्दै मिल्दैन’ भनी निषेध गरिरहँदा वडाअध्यक्ष आफैं अग्रसर भएर ‘यो सडक जसरी नि फुटालिन्छ’ भनी कुर्लिंदै थिए । नभन्दै स्थानीयलाई उचालेर जेसिबी लगाएर रोड मेडियन भत्काइएको थियो । त्यतिबेला सडकका कर्मचारीसँग चर्कै विवाद भएको थियो । सडक भत्काउन प्रयोग भएको जेसिबीलाई सडकका कर्मचारीले नियन्त्रणमा पनि लिएका थिए । तर, लगत्तै महानगरपालिका कार्यालयमा एउटा छलफलपश्चात् वडाअध्यक्ष परमेश्वर खनालकै रोहवरमा जेसिबी छोडिएको थियो भने अहिले सिएमसी अगाडि रोड मेडियन नभएर चकाचक ओपेनिङ बनिसकेको देखिन्छ । 

‘सीएमसीको अगाडि सडकको केही सीप नलागेको हो ?’ भन्ने जिज्ञासा राख्दा सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायणप्रसाद लामिछानेले भने, ‘जबरजस्ती खोलिएका कुरा हुन् ती ।’ ट्राफिक सुरक्षाको दृष्टिले आफूहरुले अझै पनि त्यहाँ ओपनिङ नदिएको सडककी इन्जिनियर शिला न्यौपाने बताउँछिन् । ‘केही सीप नलागेको त होइन होला’, उनले भनिन्, ‘हाम्रो तर्फबाट हामीले दिएकै छैनौं ।’ लडाइँगतभन्दा पनि प्रक्रियागत रुपमा समस्या सुल्झाउनेतिर आफूहरु लागेको उनको भनाइ छ । 

एम्बुलेन्स छिर्ने ठाउँ भएन भनेर चितवन मेडिकल कलेज (सिएमसी)ले माथि मन्त्रालयलाई नै गुहारेकोे र मन्त्रालयबाट आवश्यक सहजीकरण गरिदिनू भनी सडकलाई पत्राचारसमेत भएको बुझिन्छ । जबकि त्यहीँ नजिकै करिब १०० मिटरकै पेरिफेरिमा क्याम्पसगेट अगाडि नै ओपनिङ बनाइएको छ भने अर्काेतर्फ चौबीसकोठीमा पनि इन्टरसेक्सन नभएको होइन । सडकका प्रमुख भन्छन्, ‘नजिकै अर्काे चोक छ भने त्यहीँबाट टर्न गरेर आउन एम्बुलेन्सलाई पनि के समस्या ?’

तैपनि सीएमसी अगाडि छुट्टै ओपनिङ बनाइएपछि अरु हस्पिटल र पेट्रोलपम्पवालाहरुले हामीलाई पनि चाहियो भनेर कराइरहेका छन् । कतिपय ठाउँमा सर्भिसलेनतर्फको मेडियन पनि जबरजस्ती फुटालेर साइड क्रसिङहरु खोलिएका छन् । सीएमसी अगाडि ओपनिङ बनेपछि सँगैको दिवा इन्टरप्राइजेज (पेट्रोल पम्प)लाई फाइदा भएको छ । नारायणगढको पुरानो सिद्धि आयल स्टोर्सले त सडक डिभिजन कार्यालयविरुद्ध अदालतमा मुद्दा समेत हालेको सुनिन्छ । त्यहीँ नजिकै खानीखोलेको हार्डवेयर पसललाई सर्भिसलेनको बाटो खुला गर्दा पेट्रोल पम्पलाई भने नदिएकोमा सिद्धि आयलको गुनासो छ । 

एक्सप्रेस लेन र सर्भिस लेनको बीचमा नालीमाथि मेडियन बनाइएको छ । चितवनको सबैभन्दा पुरानो उक्त पेट्रोल पम्पमा अहिले सर्भिस लेनतर्फको बाटो पनि छेकिएपछि डिजलको व्यापार ठप्पै भएको सिद्धि आयल स्टोर्सका कर्मचारी राजु श्रेष्ठ बताउँछन् । साहुको व्यापार नभएपछि अब आफूहरुको रोजगारीमासमेत असर पर्ने चिन्ता उनले व्यक्त गरे । साँझतिर शहीदचोकमा सर्भिसलेनको मुखमै फुटपाथका व्यापारीहरु आएर बस्दा गाडीहरु झनै गुड्न नपाउँदा व्यापार चौपट भएको उनले बताए । 

अहिले विस्तारित सडकमा पनि ठाउँठाउँमा सर्भिस लेनमै पार्किङ र फुटपाथमा व्यापार हुन छोडेको छैन । भरतपुर ओरालो जस्तो ठाउँमा भाटभटेनी सुपरमार्केट र रोयल सेन्चुरी होटल अगाडिको फुटपाथ पार्किङले ओगटेको छ । नारायणगढको ठाउँ–ठाउँमा पनि उही हालत छ । उता, गोन्द्राङमा बिवाईडी शोरुम अगाडि फुटपाथ समेत भत्काएको सडककै कर्मचारीले बताए । 

एसियाली मापदण्डको सडक विस्तार योजनामा प्रतिकूल असर पर्नेगरी जबरजस्ती ओपनिङ बनाउँदा दुर्घटनाको जोखिम बढेको ती कर्मचारीको भनाई छ । चितवन मेडिकल कलेज अगाडि बलजफ्ती खोलिएको ओपेनिङमा केही दिन अगाडि सवारी दुर्घटना भएको थियो । यस सम्बन्धमा सडक डिभिजन कार्यालयले सार्वजनिक सूचना समेत निकालेको छ । सार्वजनिक बाटोमा ओपनिङहरु जबरजस्ती खोलिएको र गलत भएमा त्यसलाई सच्याउन भरतपुर महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए । 

उक्त समस्या समाधानका लागि सडक डिभिजन भरतपुरले आगामी केही दिनमै महानगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग छलफल गर्ने तयारी गरेको छ । छलफलमा ‘ओपनिङ आवश्यक भएको र नभएको सम्बन्धमा’ एउटा प्रिजेन्टेसन गरेर अनावश्यक ओपनिङहरु बन्द गराइने सडक डिभिजन कार्यालयले बताएको छ । 

टिप्पणीहरू