सावधान,चकलेटका नाममा कसले बिष बेच्दैछ ?
बच्चाहरु चक्लेट भन्नेबित्तिकै हुरुक्क हुन्छन् । अभिभावक पनि उनीहरुको खुशीका लागि खर्च गर्न हिच्किचाउँदैनन् । तर,चक्लेट उत्पादन र वितरक कम्पनीहरुले बालबालिकाको स्वास्थ्यमाथि कति डरलाग्दो खेलवाड गरिरहेका हुन्छन्, एउटा घटना हेरौँ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-३ बालकोटास्थित विनायक स्टोरमा साताअघि एक बालिका चकलेट किन्न पुगेकी थिइन् । स्टोर सञ्चालक रितेश श्रेष्ठले मागेअनुसार क्याडबरीको फ्युज चकलेट दिए । तर, बालिकाले चकलेट खोल्दा किरा भेटियो । त्यसपछि सँगै रहेकी आमाले ‘किरा परेको चकलेट बेच्ने ?’ भन्दै थर्काइन् । रितेशले माफी माग्दै अन्य प्रकारको चक्लेट दिएर पठाए ।
केही समयपछि रितेशले एकपछि अर्को फ्युज चकलेट खोलेर हेर्दा सबैमा किरा भेटियो । जबकि उक्त चक्लेट 'डेट एक्सपायर' हैन, प्याकेटमा सन् २०२५ फेब्रुअरीसम्मको मिति छ । चक्लेटको प्याकेट एक साताअघि मात्रै स्टोरमा झारिएको रितेश बताउँछन् ।
संयोग कस्तो भने, करिब सात महिनाअघि पनि उनले क्याडबरीकै चक्लेटमा किरा भेट्टाएका थिए । त्यतिबेला करिब १० पेटी चक्लेट खेर गएको उनको भनाई छ । यसरी ढुसी परेको र किरा परेको चक्लेट खाएर बालबालिका गम्भीर बिरामी भए को जिम्मेवार हुने ? ग्राहकको प्रश्नमा उनी सहमत छन् ।
स्टोर सञ्चालक रितेशले वितरक कम्पनीसँग सम्पर्क गरेर चक्लेट फिर्ता लैजान भनेका थिए । 'फिर्ता लिन आएका छैनन्,यस्तो चक्लेट हामी बेच्न सक्दैनौँ’, उनले भने ।
प्याकेटमा सन् २०२५ फेब्रुअरीसम्मको मिति छ । चक्लेटको प्याकेट एक साताअघि मात्रै स्टोरमा झारिएको रितेश बताउँछन् ।
आखिर बजारमा यसरी गुणस्तरहीन सामग्री कसले पठाइरहेको छ त ? यो चकलेटको उत्पादक खेतान समूहअन्तर्गतको कम्पनी हो । उसले मिति गुज्रिएका चकलेट नयाँ प्याकेटमा हालेर बजारमा पठाइरहेको तथ्य पनि खुलेको छ ।
नेपालमा क्याडबरीका चक्लेट उत्पादन तथा वितरण गर्ने मुख्यतया: दुई वटा कम्पनी रहेको बताइन्छ । एउटा खेतान समूहकै कम्पनी हो भने अर्को युनाइटेड डिस्ट्रीब्युर्टस प्रालि । तर फ्युज नामक चक्लेट भने आजसम्म उत्पादन र वितरण नगरेको युनाइटेड डिस्ट्रीब्युटर्स सञ्चालक समितिका एक सदस्यले जनआस्थालाई जानकारी दिए ।
उनले भने, ‘फ्युज हाम्रो कम्पनीको चक्लेट होइन । नेपालमा इन्डियन र युके ब्राण्डको दुईथरी क्याडबरी छन् । हाम्रो इण्डियनवाला हो । फ्युज उत्पादन तथा वितरण गर्ने अर्को एउटा कम्पनी छ,उसैको हो कि !’
ती सदस्यले उपलब्ध गराएको विवरण अनुसार युनाइटेड डिस्ट्रीब्युर्टसले क्याडबरीकै चक्लेट उत्पादन तथा वितरण गरे पनि फ्युज चक्लेट भने आजसम्म बनाएको देखिंदैन । यसबाट प्रष्ट हुन्छ कि खेतान समूहकै कम्पनीले किरा परेको चकलेट बजारमा पठाइरहेको छ ।
यसबारेमा जनआस्थाले बुझ्न खोज्दा खेतान समूहको व्यवस्थापकीय टिम सम्पर्कमा आउन चाहेन ।
टिप्पणीहरू