युद्धमा मारिएका श्रीमानको अन्तिम संस्कारका लागि चाँदनी रुस प्रस्थान

युद्धमा मारिएका श्रीमानको अन्तिम संस्कारका लागि चाँदनी रुस प्रस्थान

रुस–युक्रेन युद्धमा मारिएका कञ्चनपुरका विराजन विष्टको अन्तिम संस्कारका लागि श्रीमती चाँदनी विष्ट मस्को प्रस्थान गरेकी छिन् । उनी आज भारत हुँदै मस्को गएकी हुन् । 

रुसी सेनामा भर्ती भएका विष्ट युद्धमा मारिएपछि उनको अन्तिम संस्कार गर्न चाँदनी उता गएको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले बताइन् । उनका अनुसार चाँदनीको परिवारका तीन सदस्य रुसी सेनामा भर्ना भएका थिए । जसमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने एक उपचाररत छन् । 

‘उहाँको परिवारको तीन सदस्य रुसी सेनामा हुनुहुन्थ्यो । श्रीमान् विराजन र नाति नाता पर्ने लोकेन्द्रबहादुर विष्टको निधन भएको छ । देवर निराजन विष्टको उपचार भइरहेको छ । उहाँ श्रीमानको अन्तिम संस्कारका लागि आज रुस जानुभएको छ’,उनले भनिन्,‘हामीले धेरै प्रयास गरेर उहाँलाई रुस पठाएका हौं । शव ल्याउन नदिएपनि परिवारको एक सदस्य अन्तिम संस्कारमा जाने व्यवस्था मिलाइदिन भनेर हामी माग गरिरहेका छौं ।’

अवैध रुपमा रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ४९ पुगेको छ । ११७ जनाभन्दा बढी घाइते तथा अंगभंग भएका छन् । 

रुसमै अन्तिम संस्कार गरिएकोमध्ये पाँच जनाको अस्तु नेपाल ल्याइएको छ । मृतक ६ जनाको नाम क्षतिपूर्तिका लागि सिफारिस भएपनि हालसम्म पाएका छैनन् । चर्को विरोध भएपछि रुसले नेपालीलाई सेनामा भर्ती गर्न भने रोकेको छ ।

टिप्पणीहरू