क्रान्तिकारीको विवाद चुनावमार्फत छिनोफानो

क्रान्तिकारीको विवाद चुनावमार्फत छिनोफानो

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चुनावबाट छान्ने निर्क्यौल भएको छ । केन्द्रीय निर्वाचन समितिले दुई चरणमा चुनाव गर्नेगरी आज कार्यतालिका सार्वजनिक गरेको हो । 

क्रान्तिकारीको गत असोज १०–१५ सम्म काठमाडौँमा भएको राष्ट्रिय सम्मेलनमा उमेर हदको विवाद चर्किएपछि स्थगित गरिएको थियो । उमेर हद राख्ने कि नराख्ने भन्ने विवाद मतदानबाट टुंग्याउने सहमतिका साथ निर्वाचन कार्यक्रम अघि बढेको बताइएको छ । 

सार्वजनिक कार्यतालिका अनुसार पहिलो चरणमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्नेबारे मतदान गराइने छ । जसअन्तर्गत पुस १० गते मतदाता नामावली प्रकाशन, भोलिपल्ट बिहानदेखि १२ गते बिहान १० बजेसम्म दावी विरोध र सोही दिन साँझ ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ । 

पुस १३ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान गर्ने कार्यक्रम छ । भूगोल र गैरभूगोलका गरी ८६ वटा जिल्लामा मतदान केन्द्र तोकिएको छ । भोलिपल्ट मत परिणाम सार्वजनिक गर्ने जनाइएको छ । 

दोस्रो चरणमा नेतृत्व चयनका लागि चुनाव गरिने छ । निर्वाचन समितिका अनुसार भूगोल र गैर भूगोलगरी ९ प्रदेशस्तरीय मतदान केन्द्रमा १७ गते बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान रहनेछ ।

अखिल क्रान्तिकारीको नेतृत्वको लागि पवन कार्की, नरेश रेग्मी, दीपेश पुन, मदन भुल, केशव रावललगायत दावेदार छन् । तर, ३२ वर्षे उमेर हद कायम भए उनीहरुमध्ये अधिकांश नेतृत्वको दौडबाट स्वत: बाहिरिने छन् ।

टिप्पणीहरू