पत्नीले सभापतिलाई थाहै नदिई लुकेको कुरा कसले पत्याउने ?
संसदभित्र सार्वजनिक लेखा समितिको हिजोको बैठकमा प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले सभापति ऋषिकेश पोखरेलको राजीनामा माग्यो । सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी पत्नी अञ्जना कोइरालालाई पोखरेलले लुकाएको दावी गर्दै सांसद अमनलाल मोदीले भनेका थिए, ‘विषय संवेदनशील छ,मार्गप्रशस्त गर्नुभए हुन्छ ।’
समितिका अन्य सदस्यले पनि यसबारे प्रष्ट पार्न माग गरेपछि सभापति पोखरेलले आफू श्रीमतीसँग सम्पर्कमा नरहेको जिकिर गरे । ढुक्कका साथ जवाफ दिए, ‘कुनै सम्पर्क छैन,मलाई नै नसोधी फरार छिन्, म जस्तोसुकै परीक्षा दिन पनि तयार छु ।’
पत्नी अञ्जनासँग केही दिनयता सम्पर्क नभएको र आफूले नलुकाएको दाबी गरेका पोखरेलले नै बिदाको लागि विद्यालयमा पत्र पठाएको खुलेको छ । स्थायी शिक्षक अञ्जना विराटनगरको महेन्द्र रात्रि माध्यामिक विद्यालयमा पढाउँछिन् । अन्तिम पटक उनी मंसिर २७ गते विद्यालयमा हाजिर भएको विद्यालयले जनाएको छ ।
त्यसदिन अञ्जना बिदा स्वीकृत गराउनको लागि मात्र विद्यालय पुगेको एक शिक्षकले जानकारी दिए । उनले पाँच दिनको बिदा मागेको पत्र बुझाएकोमा शुक्रबारदेखि सकिएको छ । आइतबार सभापति पोखरेलले पत्नी अञ्जनाको बिदा थप गरिदिन भन्दै पुनः विद्यालयका प्राधानाध्यापक झँकप्रसाद पराजुलीलाई अर्काे पत्र पठाएका हुन् । पराजुलीले विभिन्न मिडियासँगको कुराकानीमा यसको पुष्टी गरिसकेका छन् ।
आइतबार पत्नीको बिदा थपको लागि विद्यालयमा पत्र पठाएका सभापति पोखरेलले हिजोको बैठकमा किन सम्पर्क नभएको जिकिर गरे ? भन्ने प्रश्न उठेको छ । उमागौरी सहकारी ठगी प्रकरणका एक पीडित भन्छन्, ‘उहाँ (पोखरेल)को कुरा पत्याउने हामी नै मूर्ख हौं । श्रीमतीसँग सम्पर्क नभएको भए बिदा थपको पत्र विद्यालयमा किन पठाउँथे र ?’
त्यस्तै, सहकारीकी अर्की पीडितले पनि अञ्जना सत्ताकै संरक्षणमा रहेको दावी गरेकी छन् । उनको प्रतिक्रिया छ, ‘ठूलाबडाको लागि पक्राउ पुर्जी कागजमा मात्र सिमित हुँदोरहेछ, पक्राउ गर्नुपर्ने प्रहरीले नै उनलाई सुरक्षा दिइरहेको छ ।’
टिप्पणीहरू