विनोद चौधरीलाई व्यापारीको प्रश्न ‘चीनमा १३ लाख,नेपालमा ३८ लाख किन ?’

विनोद चौधरीलाई व्यापारीको प्रश्न ‘चीनमा १३ लाख,नेपालमा ३८ लाख किन ?’

डलर अर्बपति तथा नेपाली काँग्रेस सभासद विनोद चौधरीले आर्थिक मन्दीको बेला सवारी साधन बिक्रीमा पनि हात हालेका छन् । उनी आफू नेता बनेसँगै विद्युतीय सवारी साधन ‘नेता भी’ को पनि साहुजी बनेका हुन् । चौधरी ग्रुपले पछिल्लो समय चीनबाट विद्युतीय सवारी साधन नेपाल ल्याएर बिक्री गर्न थालेको छ ।

उनका भाइ अरुणले भारतीय मोटर कम्पनी मारुती सुजुकीको व्यापार गर्दै आएका छन् । दाइले भने विद्युतीय सवारी साधनमा हात हालेको छ महिना पूरा भएको छ । गत असारमा ‘नेता भी’ पहिलो पटक नेपाली बजारमा बिक्री गरिँदा चौधरीले त्यसको मूल्य ३७ लाख ९० हजार तोकेका थिए ।

तर चीनको बजारमा नेपाली मूल्यअनुसार १३ लाख पर्ने उक्त सवारी साधनलाई नेपालमा ल्याउँदा २५ लाख रुपैयाँ थप मूल्य पर्नुको कारणबारे धेरैले अचम्म मानेका छन् । सरकारले विद्युतीय सवारी साधन आयातमा न्यूनतम भन्सार शुल्क तोकेको छ । जसअनुसार कूल १८ प्रतिशत कर तिरे पुग्छ । 

नेपालको प्रचलित कानुनअनुसार सवारी साधनमा शुरुको मूल्यमा बढीमा १० प्रतिशत मात्रै नाफा जोड्न पाइन्छ । ग्वाङ्झौस्थित एक जना व्यापारीका अनुसार चीनबाट जतिसुकै महँगोमा सवारी साधन ल्याउँदा पनि भाडा १ लाख २० हजार रुपैयाँभन्दा बढी तिर्नु पर्दैन । 

यो हिसाबले नेपालको भन्सार बिन्दुमा आइपुग्दा चौधरीले बेच्ने गरेको ‘नेता भी’ गाडीको मूल्य १४ लाख २० हजारसम्म पर्न आउँछ । त्यसमा ५ प्रतिशत कर जोड्दा ७१ हजार र १३ प्रतिशतले हुन आउने भ्याट १ लाख ९३ हजार ८३० हुन्छ । त्यो सबै जोड्दा उक्त सवारी साधनको मूल्य भन्सारसम्म १६ लाख ८४ हजार ८३० हुन आउँछ । 

अब सोही मूल्यमा व्यापारीले बैंकको ब्याज ५० हजार पाँच सय, नाफा १० प्रतिशतले हुन आउने १ लाख ६८ हजार ४८३,विविध खर्च ५० हजारसहित कूल २० लाख तीन हजार १३ रुपैयाँमा बेच्नुपर्ने सवारी साधनलाई १८ लाख बढी लिएर ३८ लाखमा बेचिँदा सरकार रमाएकै देखिन्छ ।

विद्युतीय सवारी साधनले प्रदुुषण नगर्ने भएकाले शून्य प्रतिशत एमिशन भन्ने गरिएको छ । तर त्यही एमिशनको आवरणमा सतप्रतिशत कमिशन निकालिएकोतर्फ सम्बन्धित निकाय मौन हुँदा अन्य सवारी साधन बिक्रेताले जीब्रो काढेको पाइन्छ ।

टिप्पणीहरू