बलात्कार हुनु र खुट्टा काटिनु कसरी हुन्छ बराबर ?

बलात्कार हुनु र खुट्टा काटिनु कसरी हुन्छ बराबर ?

सरकारी सेवामा झण्डै ४० वर्ष, त्यसमा पनि अधिकांश समय दूरदराजमा । डा. भोला रिजालको सान्निध्यता र छत्रछायाँमा चिकित्सकीय अभ्यास गरेका उनले हजारौं निसन्तानको कोख उजिल्याएका छन् । जागिरे जीवनमा जहाँ–जहाँ पाइला राखे, त्यहाँ आमूल परिवर्तन नै गरिदिएका छन् । भरतपुरमा १४ वर्ष बिताउँदा त्यहाँको स्वरूप मात्र फेरेनन्, आज चितवन ‘मेडिकल हब’ हुनुमा जागेश्वरकै देन उल्लेख्य छ भन्नेहरू पनि छन् । त्यहाँबाट थापाथलीस्थित प्रसूतिगृहको नेतृत्वमा रहँदा राम्रै गरे । तत्कालीन मन्त्री खगराज अधिकारीको आग्रहमा स्वास्थ्य मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी सम्हाल्न पुगे । कम बोल्ने गौतमलाई सरकारले बोल्ने जिम्मेवारी दियो, जसलाई कुशलतापूर्वक निर्वाह गरे । ११ महिना १५ दिनपछि कोभिड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइए । त्यहाँ २ सय बेडको भेन्टिलेटरसहित आइसियू सेवा शुरु गर्न खोजिएपछि निजी अस्पताल सुक्ने भयका कारण साहुजीहरूको दबाबमा बालुवाटारले हटायो । हक्की स्वभाव, प्रष्टवक्ता र कुराभन्दा कामले चिनाउन सफल गौतम अहिले एमालेनिकट राष्ट्रिय चिकित्सक संघको अध्यक्ष छन् ।

– हरि गजुरेल 

० नयाँ माननीय सोविता गौतमले बलात्कार र खुट्टा काटिएको मान्छेबीच गरेको तुलनालाई यहाँले कडा शब्दमा प्रतिकार गर्नुभयो । किन ?

– बलात्कारको बहुआयामिक असर हुन्छन् । शारीरिक असर त हुने नै भयो । स–साना मान्छेलाई ठूलो मान्छेले बलात्कार गर्दा योनि, पाठेघर सबै क्षतविक्षत हुने, बनाउनै नमिल्ने, पिसाब, दिसा चुहिनेलगायत दीर्घकालीन असर हुने भए । अनिच्छा हुँदाहुँदै कतिपय गर्भवती भएर बच्चा पाउनुपर्ने खराबी भए । यसको  ठूलो असरचाहिँ मानसिक रहने भयो । एक पटक बलात्कृत भएपछि उसले जिन्दगीभर पुरुषहरूलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । डिप्रेसनमा जाने, एन्जाइटी हुने्, कतिपय त बहुलाउँछन् पनि । उल्टै सामाजिक तिरस्कार बलात्कृतले नै भोग्नुपर्छ । यसले एउटा मान्छेको पूरै जीवन बर्बाद हुन सक्छ । कतिपयले आत्महत्याको बाटो रोज्छन् । सुसाइडको मूल्य कति ? यी कुराको हेक्का नराखी बलात्कारजस्तो जघन्य अपराधको घटनालाई हल्काफुल्का रूपमा लागेको घाउसँग  तुलना गरिएको छ । नबुझी, नसोची सार्वजनिक पदमा बसेको मान्छेले यसरी अभिव्यक्ति दिएबाट बलात्कृतप्रति समाजले कसरी हेर्छ भन्ने देखाउँछ । कसैले नेपालको राजधानी सोध्दा नयाँदिल्ली भन्ने उत्तर दिन्छ भने त्यसलाई के भन्ने ? यो लाक्षणिक कुरा हो । बलात्कारलाई अशिक्षित मात्र होइन, पढेलेखेका वर्गले पनि यसरी तुलना गरेको अपच भएर प्रतिवाद गरेको हुँ । 

० यौन मनस्थिति रोमाञ्चकतामा आधारित हुनुपर्नेमा घृणात्मक वा आपराधिक मनस्थितिमा किन हुन्छ ?

– बलात्कार गरेर मात्र यौन सन्तुष्टि हुने त होइन नि ! विवाह नगरेका कतिपय मान्छेले पनि अन्य प्रकारबाट यौन सन्तुष्टि लिन सक्छन् । लोग्ने र श्रीमतीको सम्पर्क, सम्बन्ध, सहवास मात्र सन्तुष्टिको  आधार होइन । बलात्कार गर्नेहरू मानसिक रूपमा बिरामी नै हुन् । पहिला नहोलान् तर आवेशमा आएपछि मानसिक रूपमा मान्छे असन्तुलित हुन्छ र बलात्कार गर्छ । उसलाई शारीरिक÷मानसिक उपचारको जरुरी हुन्छ । कानुन कडा बनाएर मात्र बलात्कार नियन्त्रण हुने होइन । छोरी मान्छेलाई हेर्ने दृष्टिकोण, उसको यौनिकता, यौन सम्पर्कको इच्छाले मान्छे बलात्कार गर्ने स्थितिमा पुग्छ तर यसो भन्दाभन्दै सहमतिमै यौन सम्पर्क गर्ने र कुरा नमिलेपछि बलात्कारको आरोप लगाउने प्रवृत्ति पनि नेपालमा बढ्दो छ । त्यसबाट चाहिँ होशियार हुनु जरुरी छ । 

० स्वास्थ्य मन्त्रालयमा ११ महिना १५ दिन बिताउनुभयो । तपाईं कम बोल्ने मान्छे, त्यो समयमा सरकारले बोल्ने जिम्मेवारी दियो । त्यो अनुभवलाई कसरी लिनुहुन्छ ? 

– स्वास्थ्य मन्त्रालयमा भयंकर इच्छा भएर गएको होइन । त्यहाँ जानुअघि स्वास्थ्य मन्त्रालय, प्रवक्ता, सिनियर म्यानेज्मेन्ट टिमले गरेका काम चित्त बुझेको थिएन । खगराज अधिकारी, मन्त्रीजीले नै बोलाउनुभयो । नेपाल सरकारको उच्च पदमा पुगेको, स्वास्थ्यको कतिपय ठाउँमा नेतृत्वदायी भूमिकामा बसेको मान्छे भएका कारण केही कन्ट्रिब्युट गर्न सक्छु कि भन्ने लाग्यो । दोस्रो, मन्त्रीसँग ३५/४० वर्षदेखिको चिनजान, उहाँले आग्रह गरेपछि नाइँ भन्न सकिन । कोभिडको महामारीमा नेपाली दाजुभाइले जुन समस्या भोगिरहनुभएको थियो । त्यसमा थोरै भए पनि मलमपट्टी लगाउन सकिन्छ कि भनेर म त्यहाँ गएको हुँ । त्यतिबेलाका मन्त्री र सचिव लक्ष्मण अर्यालसँग ट्युनिङ मिल्यो । कोभिडकालमा सबै काम राम्रा ग¥यौं त म भन्दिनँ तर विश्व स्वास्थ्य संगठनका महासचिवले नेपाल आउनुभएको बेला नेपालले गरेको कामको मुक्तकण्ठले प्रशंसा गरेर जानुभयो । यो महामारीलाई बुझ्ने मान्छे नै कति थिए र नेपालमा ? 

० कोभिडकालमा सरकार जनताभन्दा व्यापारीप्रति सहयोगी भयो, कमाउ धन्दा चलायो भनिन्छ । सत्य के हो ?

 – म जानुभन्दा अगाडि ओम्नी काण्ड भएको थियो । त्यसको व्यावहारिक पक्ष बुझ्नुपर्ने हुन्छ । देशभरका चिकित्सक, नर्सले पिपिईसमेत पाएनौं, काम छाड्छौं भनेर थ्रेट दिइरहेको अवस्था थियो । त्यतिखेर म भएको भए सामान ल्याउनेसम्बन्धी डिस्कसन मन्त्रालयमा हुन दिने थिइनँ । पछि मन्त्रीज्यूले भ्याक्सिनबारे छलफल गर्न खोज्दा हामीले सिधै इन्कार ग¥यौं । त्यो पनि ओम्नीजस्तै हुन्छ भनेर । स्वास्थ्य मन्त्रालय आफैंले स्टेसनरी, फर्निचरबाहेकका कुनै सामान किन्दैन । यी सामान खरिद गर्नका लागि स्वास्थ्य सेवा विभागमातहत व्यवस्थापन महाशाखा छ, जहाँ अतिरिक्त सचिवको नेतृत्वमा १२ जना कर्मचारी छुट्टै छन् । त्यहीँबाट किन्नुपर्ने, मिटिङ त्यहीँबाट हुनुपर्ने थियो तर मिटिङ मन्त्रालयमा गरेको भएर सञ्चारमाध्यमले चौतर्फी हमला गरे । नेपालका सञ्चारमाध्यमले यहाँको सरकार कांग्रेसले मात्र चलाउनुपर्छ भनेर सोच्छन् । कांग्रेस बाहेकका कोही मन्त्री आयो भने त्यसलाई एट्याक गरिहाल्छन् । वास्तविकता यही हो । त्यतिबेला नन कांग्रेस सरकार थियो । एमालेका मान्छे मन्त्री थिए । मान्छेहरूलाई त्यो कुरा पटक्कै मन परेको थिएन । त्यसैमा मिडिया पनि आइलागे । ओम्नी  काण्डमा भुक्तानी नै गएको थिएन ।  पेमेन्ट नै नभएको ठाउँमा कसरी भ्रष्टाचार हुन्छ ? सर्वसाधारणबीचमा मसला त खपत होला तर वास्तविकता त्यस्तो थिएन । हामीले छाडेपछिको डेढ वर्षमा स्वास्थ्यमा के भयो त खै ? सबै सुतेर बसेका छन् । हामीले त ६५० वटा अस्पताल शिलान्यास  गरेका थियौँ । २ सय अस्पताल अहिले बनिरहेका छन् ।

० हाम्रो स्वास्थ्य मन्त्रालय मन्त्री, सचिवले कम र बिचौलियाले बढी चलाउँछन् । तिनकै इन्ट्रेस्टअनुसार नीति–नियम बन्छ भनिन्छ । स्वास्थ्यमा रहँदा यस्तो भोग्नु÷देख्नुभयो ? 
– बिचौलियाले निर्णय गर्ने लेभलमा गएर संस्थागत भ्रष्टाचार गर्न खोज्छन् । त्यो कुराचाहिँ सरकार बलियो नभएको प्रमाण हो । नेपालमा जसले सरकारको नेतृत्व गर्छ, उनीहरूमा के भ्रम हुन्छ भने हामी सबै कुरा जान्दछौं । म डाक्टर, स्त्रीरोग विशेषज्ञ, त्यसमा पनि ल्योप्रोस्कोपी सर्जरी गर्छु । मलाई त स्वास्थ्य क्षेत्रका सबै कुरा थाहा हुँदैन भने मेडिकल साइन्स नै नपढेका मान्छेले स्वास्थ्यको यावत् कुरा कसरी जान्दछ ? कृषिमन्त्री हुँदैमा कृषिका सारा कुरा कसरी जान्दछ ? हामीले  गर्नुपर्नेचाहिँ ५ जना विशेषज्ञलाई बोलाउने, उनीहरूलाई केही इस्यु दिने, छलफल गरेर के निश्कर्ष निकाल्छन्, त्यही मात्र मन्त्री, प्रधानमन्त्रीले बोल्नुपर्ने हो । विदेशमा त्यस्तो अभ्यास छ तर नेपालमा राजनीतिज्ञ भएपछि मैले सबै कुरा जानेको छु भन्ने भ्रम छ । त्यो गलत भयो । त्यही कारण पोलिसीमा बिचौलिया हाबी हुने प्रयास गर्छन् । तर, विशेषज्ञसँग बिचौलियाले सक्दैनन् ।

० इन्ट्रेस्ट ग्रुपकै स्वार्थअनुसार स्वास्थ्यका नीति बनेको देख्दा एक जना चिकित्सकको मन कत्तिको पोल्छ ? 

– यो अवस्था देखेर धेरैचोटि मानसिक रूपले रोएको छु । मान्छे जन्मेपछि स्वास्थ्य र शिक्षाको जिम्मेवारी सरकारले लिनुपर्छ भन्ने विचारधारा बोकेर हिँडेको मान्छे हुँ । स्वास्थ्य बिमा शुरु गर्ने काम त्यतिखेरका मन्त्री खगराज अधिकारीहरूले गर्नुभयो । गगन थापाले शुरु गरेको भनेर लेखिदिए मिडियाले । यस्तो देशमा अभियन्तालाई कस्तो असर पर्छ ? तपार्इं अड्कल गर्न सक्नुहुन्छ नि !

० संस्था सफल हुनमा व्यक्तिको भूमिका कति हुँदो रहेछ ? 

– सरकार होस् वा संस्था त्यसको नेतृत्वमा बस्ने मान्छेले अनुचित लाभ उठाउन खोज्दैन, पारदर्शी छ भने सबैलेसाथ दिन्छन् । चितवन मेडिकल कलेज मसहितको टिमले शुरु गरेको हो । भरतपुर मेडिकल कलेज पहिले कस्तो थियो, अहिले कुन अवस्थामा छ ? प्रसूतिगृहलाई कायापलटै गरेर निस्किएको हुँ । स्वास्थ्य मन्त्रालयमा म हुँदा सरकारलाई कति बचावट गरँे, जनतामा भ्याक्सिनेसनदेखि अरु सेवा पु¥याउन कति सहयोग गरें ? वीरको भव्य बिल्डिङ ६ महिनादेखि खडा थियो तर सञ्चालन हुन सकेको थिएन । म अस्पताल गएको सात दिनमै सेवा सञ्चालनमा ल्याएँ । यो सबै काम गर्न इच्छाशक्ति र मोटिभेशन हुनुपर्छ । पदमा बसेर कमाउनुपर्छ भन्ने सिद्धान्तभन्दा बाहिरको मान्छे हुँ । जो मान्छे नेतृत्वमा बस्छ उसको भिजन, मिसन, मिहिनेत र टिमवर्कमा सफलता गाँसिएको हुन्छ । 

० प्रसूतिगृहमा रहँदा हजारौं निःसन्तानको कोख उजिल्याउनुभएको छ । उपचारको अनुभव बताइदिनुहोस् न !

– १९९८ मा एमडी गरेर निस्किएको थिएँ । त्यतिखेर मेरो गुरु डा. भोला रिजालसँग दुई वर्ष काम गरँे । उहाँसँग प्रशस्त निःसन्तान आउने, रुने, घरमा अर्काे विवाहको कुरा भइरहेको छ भन्ने देखेरै म आइबीएफको फेलोसिपका लागि कलकत्ता गएँ र फर्किएर काम शुरु गरेँ । त्यसरी काम गर्दा हजारौं निःसन्तान दम्पतीको काखमा बच्चा भएको छ । उनीहरूको  घर उज्यालो भएको छ । आज पनि त्यो काम गरिरहेको छु । दैनिक दर्जनभन्दा बढी निःसन्तान चेकजाँचका लागि आउँछन् । अहिले त धेरै आइभिएफ सेन्टरहरू खुलेका छन् । टेष्टटुयब बेबीको प्रविधि नेपालमा छ । सानोतिनो सरसल्लाहले पनि बच्चा जन्माउन सकिन्छ । मान्छेलाई बच्चा कहिले बस्छ भन्ने पनि थाहा छैन । महिनावारी भएको १२ देखि १८ दिनमा श्रीमान् श्रीमतीबीच संसर्ग भएमा बच्चा बस्छ भन्दिए पनि हजारौं दम्पतीले सन्तान सुख पाउँथे ।  

० तपाईं सुधारको हुटहुटी बोक्नुभएको एउटा चिकित्सक । तपार्इंलाई सरकारले स्वास्थ्य मन्त्रालयबाट कोभिड युनिफाइड अस्पतालको जिम्मेवारी दिएको थियो तर बीचैमा हटायो । किन रहेछ ? 

– कोभिडताका वीर अस्पतालमा गएर दुई सय बेडको भेन्टिलेटरसहितको आइसियू शुरु गरें । भेन्टिलेटर जम्मा भइसकेको थियो, जनशक्ति लिइसकेको अवस्था थियो । वीर अस्पतालमा यो शुरु हुनेबित्तिकै कैयौं निजी अस्पताल सुक्ने थिए । प्राइभेट अस्पतालका साहुजीहरू बालुवाटार पुगेर आग्रह गरेपछि मलाई हटाइएको हो । जनताका लागि काम गर्ने व्यक्ति हटाउँदा जनतालाई नै अप्ठ्यारो प¥यो । सक्नेहरूले त एयर एम्बुलेन्स ल्याएर सरकारी र आफ्नो पैसामा विदेश गई उपचार गरिरहेका छन् । सर्वसाधारणचाहिँ उपचार नपाएर मरिरहेका छन् । उनीहरूको घर, खेत उडिरहेको छ । स्वास्थ्य उपचार गर्न नसकेर घरबाट रोडमा आइरहेका छन् । ती मान्छेको उपचार गर्ने भए भनेरै मलाई हटाएका हुन् । 

० नेपालको मेडिकल फिल्डमा कम्युनिष्टहरू किन पछि परेका ?

– मेडिकल फिल्ड महँगो हुँदै गएको छ । यहाँ पैसा हुनेहरूकै दबदबा बढी हुने नै भयो । हामीले साढे तीन वर्षमा के काम गरेका थियौं र अहिलेका डेढ वर्षमा के काम भए तुलना गरे पुग्छ । अमेरिकामा जब जनतालाई अप्ठ्यारो पर्छ समाजवादी कार्यक्रम ल्याएर थामथुम पार्ने गरिन्छ । 

० दैनिकी कसरी बित्दै छ ?
आफ्नो काम गरिरहेको छु । दूरबिन प्रविधिबाट उपचार शुरु गर्नेमध्येको एक जना डाक्टर हुँ । अहिले पनि दिनमा चार÷पाँच वटा अप्रेसन गरिरहेको हुन्छु । त्यसमा दूरविन प्रविधिबाटै ९० प्रतिशतभन्दा बढी अप्रेसन हुन्छ । आज पाठेघर, ट्युमर निकाल्छु, बिरामी भोलिपल्टै घर फर्कन्छ ।
 

टिप्पणीहरू