प्रभु साहले खोले दिल्लीको आम आदमीजस्तै आम जनता पार्टी

प्रभु साहले खोले दिल्लीको आम आदमीजस्तै आम जनता पार्टी

तत्कालीन नेकपा माओवादी केन्द्र हुँदै नेकपा र एमाले नेताबाट स्वतन्त्र रहेका प्रभु साहले नयाँ पार्टी खोलेका छन् । रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य साहले हिजो राजधानीमा नयाँ पार्टी घोषणा गरेका हुन् ।

दिउँसो कोटेश्वरको एउटा रेष्टुरेन्टमा उनले पार्टी घोषणा गरेका हुन् । स्थानीय होटल तपोवन एण्ड रेष्टुरेन्टमा साहले आफ्नो अध्यक्षतामा पार्टी गठन भएको जानकारी गराएका थिए । ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति गठन गरिएको भनिए पनि अन्य पदाधिकारीको नाम सार्वजनिक गरिएको छैन ।

भारतीय राजधानी नयाँ दिल्लीमा पछिल्लो केही समयदेखि चर्चामा आएको अरविन्द केजरीवालको आम आदमीझैँ उनको पार्टीको नाम पनि आम जनता राखिएको छ । उनले यसअघि प्रचारमा ल्याएको स्वतन्त्र उम्मेदवार जिताऊ अभियानलाई अहिले पार्टीमा रुपान्तरण गरिएको बताएका छन् । उक्त अभियानको भेलाले आम जनता पार्टीको अन्तरिम विधान २०७९ पनि पारित गरेको छ ।

सातै वटा प्रदेश समितिको अध्यक्ष र इञ्चार्ज तोकिएको छ । चन्द भुषण साहको नेतृत्वमा आईटी आर्मी गठन गरिएको छ भने त्यसको इञ्चार्ज स्वयम प्रभु बसेका छन् । छ वटा विभाग गठन गरिएको छ भने उपेन्द्र साह,रामप्रित राम र इस्लाम हवारी रहेको वार्ता समिति गठन गरिएको छ । समितिले अग्रगामी शक्तिहरुसँग सहकार्य र एकताको निम्ति आवश्यक पहल गर्ने जनाइएको छ ।

प्रभु गत आमनिर्वाचनमा उम्मेदवारी मनोनयन गर्नुभन्दा केही क्षण अगाडि एमाले परित्याग गरेर स्वतन्त्र हैसियतमा सांसद बनेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई उनको पनि समर्थन छ ।

टिप्पणीहरू