यी पार्टी अब चकनाचुर हुनेछन्
‘भुइँको लोभ गर्दा पोल्टाको समेत गुमाउनुपर्ने’ स्थितिमा पुग्यो नेपाली कांग्रेस । आइतबार अपराह्न शेरबहादुर देउवाले आफू निकट ‘कचौराहरू’को लहैलहैमा लाग्दा यो परिस्थिति निर्माण भएको र यसलाई इतिहासकै सबैभन्दा ठूलो मूर्खताको रूपमा टिप्पणी गर्दछन् बौद्धिक नेता डा. चन्द्र भण्डारी । हालै सम्पन्न संघीय निर्वाचनमा गुल्मी–१ बाट नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी संसदीय यात्रा तय गरेका भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रअन्तर्गत ‘राष्ट्र निर्माणमा भूमण्डलीकरणको प्रभाव’ विषयमा विद्यावारिधि गरेका छन् । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनी ०४८ मा नेविसंघको महामन्त्री थिए भने ०६७ पछि निरन्तर पार्टीको केन्द्रीय सदस्य छन् । ०७८ मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा उप–सभापति बन्न सकेनन् ।
-हरि गजुरेल
० अकस्मात् विकसित राजनीतिक घटनाक्रम कसरी विश्लेषण गर्नुहुन्छ ?
– नेपालका नेताहरू सत्ताका लागि जे पनि गर्छन् भन्ने फेरि पुष्टि भएको छ । तिनमा इमान छैन । न समाजप्रतिको कुनै डर, न निष्ठा नै छ । न त छ आफ्नो कर्मप्रति विश्वास !
० नेपाली कांग्रेसले राष्ट्रपति या प्रधानमन्त्रीमध्ये एक पद त्याग्न नसक्दा यो परिस्थिति निर्माण भएको हो ?
– कांग्रेसले यदि प्रधानमन्त्री चाहेको थियो भने संसदको सबैभन्दा ठूलो पार्टीको हिसाबले प्रचण्डजीले मान्नुपथ्र्याे । प्रचण्डजीले नमान्दा कांग्रेस लोकतान्त्रिक पार्टी भएको नाताले उहाँलाई मनाउन सक्नुपथ्र्याे । जसले यो गठबन्धन बनायो । उसैले प्रधानमन्त्री पद प्रचण्डलाई छाडी आफूले राष्ट्रपति र सभामुख लिएर भए पनि यो गठबन्धन तोड्न दिनु हुँदैनथ्यो ।
० अकस्मात् गठबन्धन भाँडिनुको कारण सत्ता स्वार्थ मात्र हो वा अरु केही छ ?
– हरेक कमजोर मान्छेले विभिन्न अर्थ लगाउन सक्छन् तर सबै कुरा सत्ता स्वार्थसँगै जोडिएको छ । हिजो केपी ओलीले प्रचण्डलाई ‘विदेशी दलाल’ भन्नुभएको थियो । प्रचण्डले केपी ओलीलाई कटु आलोचना गर्न कतै ठाउँ बाँकी राख्नुभएको थिएन । एकले अर्काेलाई गरेका आलोचना तुलना गर्ने हो भने यो मामलामा शेरबहादुर देउवा धेरै कम बोल्नुहुन्थ्यो । त्यति धेरै कटु आलोचना गर्नुभएको सुनिएको थिएन । नेपालका राजनीतिक दल र तिनका नेताहरू कुर्सीको लागि जे पनि गर्न तत्पर हुन्छन् । उनीहरूमा कुनै मानवीय गुण छैन । यो मुलुकको विकास र प्रगति अहिलेका नेताहरू अवरोधक हुन् । कसैसँग पनि उनीहरु मुलुकलाई अबको पाँच वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलगायत क्षेत्रमा कहाँ पु¥याउने भन्ने कुनै योजना छैन ।
० अबको राजनीति कस्तो हुने अनुमान गर्नुहुन्छ ?
– नेताहरूको चिन्तन, व्यवहार र कार्यशैली हेर्दा यसले नेपालको राजनीतिमा ठूलो दुर्घटना गराउन सक्छ भन्ने रूपमा मैले हेरेको छु । कुनै पनि राजनीतिक मूल्य–मान्यता, संस्कारप्रति विश्वास छैन । बोली वचनको कुनै ठेगान छैन । सत्ता स्वार्थलाई केन्द्रमा राखेर चल्ने यी नेता, दलसँग मुलुक बनाउने कुनै स्पष्ट खाका छैन । यस्ता व्यक्तिका कारण मुलुक जुनसुकै बेलामा दुर्घटनामा जान सक्छ ।
० अहिलेको सत्तालाई कसैले यो राजतन्त्र पक्षधरको हो सल्बलाहट हो भनेका छन् । कसैले युरोपेली–अमेरिकी चाहनाको प्रतिविम्बमा पनि मानेका छन् । यसमध्ये कुन चर्चामा दम छ ?
– राजतन्त्रवादी, युरोपियन पन्थी भएको भए ती शक्तिशाली हुन्थे तर यिनीहरू लोभवादी, सत्तावादी र स्वार्थवादी छन् । उनीहरूलाई कसैसँग जोड्नु पर्ने, आरोप लगाउनु पर्ने, कसैको चलखेल देख्नुपर्ने कुनै आवश्यकता छैन ।
० अबको सत्ता राजनीति ०५१–०६१ को दशकझैं वा त्योभन्दा बढी गञ्जागोल हुन्छ भनिँदै छ । के लाग्छ तपाईंलाई ?
– योभन्दा बढी राजनीतिक स्वार्थमा कसैले भाग लिएको खण्डमा यी पार्टी चकनाचुर हुने छन् । माओवादी, एमाले वा अरु पार्टी बेला बखतमा विखण्डन भए । ती विखण्डनलाई अनेक उपमा र अनेकसँग विश्लेषण ग¥यौँ । यसपटक शेरबहादुर देउवा प्रधानमन्त्री नभएका कारण मात्र मैले यसो भनिरहेको छैन । हाम्रा पार्टीहरूमा आफ्नो घर फुटालेर कसरी आफू मजबुत बन्ने भन्ने चिन्तनले डेरा जमायो, त्यहीअनुसार उनीहरू चल्न थाले । सानो कोठामा बस्न रुचाउनेहरूलाई हामीले के पो भन्न सक्छौं र ? राजनीतिक शास्त्रको आधारमा नेपालको राजनीतिलाई अनुमानै लगाउन साह्रै गाह्रो छ ।
० केन्द्रका दर्जन मन्त्री, सातै प्रदेश सरकार, राजकीय पद गमाउने स्थिति किन आयो ?
– भारतमा जतिखेर अटलबिहारी बाजपेयी प्रधानमन्त्री हुँदा प्रमोद महाजन संसदीय व्यवस्थामन्त्री हुनुहुन्थ्यो । उनलाई प्रश्न गरियो, तपाईंजस्तो वरिष्ठ नेता किन यस्ता झल्लु मन्त्री बन्नुभयो ? प्रमोदले जवाफ दिनुभयो– मेरो नेता उमेरले वरिष्ठ हुनुहुन्छ । उहाँलाई धेरै सहयोग गर्नुपर्ने हुँदा अलि सरल मन्त्रालय लिएको छु । आज शेरबहादुर देउवाजीहरू ८० वर्ष पुग्नुभएको छ । उहाँको वरिपरी बस्नेहरूले उहाँलाई कसरी राम्रो र सफल बनाउने भनेर सोच्नु पथ्र्याे । तर, ति जम्मै विभिन्न राजनीतिक पार्टीसँग वार्तामा पठाउँदा मैले के पाउँछु भन्नेमा केन्द्रित रहे । राष्ट्रियता र पार्टीगत स्वार्थलाई उनीहरूले भुले । शेरबहादुरलाई एउटा बन्द कोठामा राखे । गठबन्धन बैठकमा उनलाई आफ्नो अडानबाट टसको मस हुन दिएनन् । प्रचण्ड बालुवाटारबाट खुमलटार हुँदै बालकोट पुगिसकेको कुरा सभापतिले थाहै पाएनन् । ओलीको ‘सर्जिकल स्ट्राइक’ले सत्ताको शक्ति बालकोट पुगिसकेको कुरा थाहा पाएपछि सन्नाटा छाउनुबाहेक के नै विकल्प बचेको थियो र ?
० पार्टी सभापतिलाई यसरी घेराबन्दीमा पार्ने सचिवालयका मान्छे हुन् वा अरु कोही ?
– देउवाले निरन्तर पालेका, उहाँकै आशीर्वाद प्राप्त भएपछि घर, घडेरी, गाडी जोडेका मान्छेहरूले नै सबै थोक बिगारे । तिनको जोड थियो देउवालाई जसरी पनि प्रधानमन्त्रीमा टिकाउने । उमेरले ८० वर्ष पुगिसकेको बूढो मान्छेलाई फेरि किन सत्ता चाहिएको थियो ? उहाँले सिंगै कांग्रेस र मुलुकको चिन्ता र भलो हेरेको भए स्थिति अर्कै हुने थियो । शेरबहादुरजी र उहाँका मान्छेहरूले चाहेको भए गत निर्वाचनमा कांग्रेसले अझै २२÷२३ सिट बढी ल्याउँथ्यो । विरोधीहरूका कुरा सुन्नेभन्दा तिनलाई ठेगान लगाउने परिपाटी आज हरेक पार्टीमा हावी हुँदै छ । एउटा घटनाक्रम सुनाउँ, त्यतिखेर मुख्य–सचिव थिए लीलामणि पौडेल । भएभरका शक्ति उनलाई हटाउन लागिपरे । नेपालकै शक्ति मात्र होइन भारतीयहरू पनि लागिपरे । त्यतिखेर सुशील कोइराला अमेरिकामा हुनुहुन्थ्यो । लीलामणिलाई हटाउनुप¥यो भन्दै त्यहाँ पनि पुगे । स्वदेश फर्किनुभएपछि सुशीलदाले भन्नुभयो, लीलामणिलाई किन हटाउनु ? कम से कम फरक मत राख्छन् । क्याबिनेटमा फरक मत, दृष्टिकोण राख्छन्, त्यो हाम्रा लागि पाठ हुन्छ । यसरी उहाँले कुनै पनि हालतमा हटाउन हुँदैन भनेर अड्डी लिनुभयो ।
० फरक मत राख्दा तपार्इंमाथि पार्टीले गरेका अन्याय के–के हुन् ?
– मजस्तो उद्धण्ड मान्छेलाई शेरबहादुर देउवाले टिकट दिनुभयो । अहिलेको विश्व भनेको प्रतिष्प्रर्धा होइन, सहकार्यको हो । प्रतिस्पर्धा भनेको जंगली युगमा डार्बिनको सिद्धान्त र भौतिकवादीले प्रयोग गर्ने कुरा हो । शेरबहादुरजी र केपी ओलीका के कमजोरी भए तिनलाई सुधार्ने हो हामीले ।
० देउवा कहाँ कहाँ चुके भन्नोस् त ?
– शेरबहादुर देउवाले प्रधानमन्त्री पद प्रचण्डलाई नछाडेर एकदमै ठूलो गल्ती गर्नुभयो । हिजो सुशील कोइरालालाई हामी सबैले केपी ओलीसँग नलड्नुहोस्, छोडिदिनुहोस् भन्दा कसैले मानेनन् । सुशील कोइरालाको त्यो रुपमा मृत्यु हुँदैनथ्यो । उहाँ राष्ट्रपति बन्नुहुन्थ्यो । हिजो मैले त्यो विषयमा बोल्दा खेदो खने । शेरबहादुर दाइले व्यक्तिगत स्वार्थका लागि सिंगो पार्टीलाई डुबाइदिन हुँदैनथ्यो ।
टिप्पणीहरू