नेपालीको सपना पूरा हुँदा चीन दङ्ग-कार्यवाहक राजदूत वाङ्ग सिन

नेपालीको सपना पूरा हुँदा चीन दङ्ग-कार्यवाहक राजदूत वाङ्ग सिन

नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ मापदण्डअनुसार डिजाइन र निर्माण गरिएको बताउनुभएको छ । आज विमानस्थल उदघाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विमानस्थल निर्माण सम्पन्न भएसँगै पोखरावासीको ५० वर्षदेखिको सपना पूरा भएको पनि उल्लेख गर्नुभयो । चिनियाँ डिजाइनमा बनाइएको विमानस्थलले चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्काएको उहाँको भनाइ छ । 

पोखरा विमानस्थल नेपालको राष्ट्रिय गौरवको प्रतीक रहेको भन्दै वाङले थप्नुभयो, ‘ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिको  सपना हो । यो विमानस्थल चिनियाँ मापदण्डअनुसार डिजाइन र निर्माण गरिएको छ,जसले चिनियाँ इन्जिनियरिङको उच्च गुणस्तर झल्काउँछ र नेपालको राष्ट्रिय गौरवको प्रतीक पनि हो ।’ 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चीन र नेपालका नेताहरूले उच्च मान्यतामा राखेको बताउँदै उहाँले नयाँ विमानस्थल साझा विकास र समृद्धि हासिल गर्न मिलेर काम गर्ने शैलीको जीवन्त अभ्यास र सशक्त साक्षी बन्ने विश्वाससमेत व्यक्त गर्नुभयो । 

विमानस्थल उद्घाटन समारोहमा उपस्थित हुन पाउँदा गौरवान्वित भएको बताएका कार्यवाहक राजदूत वाङले परियोजनामा सहयोगको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल सरकारलाई विशेष धन्यवाद तथा उत्कृष्ट योगदानका लागि चिनियाँ र नेपाली इन्जिनियर तथा प्राविधिककर्मीहरूलाई पनि धन्यवाद प्रकट गर्नुभयो ।
 

टिप्पणीहरू