मिस नेपालहरू झन् ठूलो मर्कामा
सम्बन्ध बनाउन (जोड्न) जति कठिन हुन्छ, त्योभन्दा कठिनतम विषय हो दीर्घकालसम्म टिकाउनु । यही सम्बन्धमा तुषारापात आउँदा कुनै समयका ‘आइडल कपल’ मानिने नेपाल सुन्दरीमध्ये कतिपयको प्रेम र वैवाहिक सम्बन्ध ‘तासको घर’जस्तै बन्न पुगेको छ ।
नेपालको नाम विश्वभर चिनाउने प्रतिज्ञासहित मिस नेपालको ताज शीरमा पहिरिन सफल भएकामध्ये झण्डै आधा दर्जनको दाम्पत्य जीवनमा समस्या आएको देखिन्छ । सम्बन्ध जोगाउने प्रयासमा असफल हुँदा केही सुन्दरीले त आत्महत्याको प्रयाससमेत गरेको भेटिन्छ । २८ वर्षअघि ०५१ सालबाट वितरण शुरु भएको मिस नेपालको ताज २४ जना सुन्दरीले पहिरिसकेका छन् । यीमध्ये कतिपय यो दुनियाँबाटै अलग छन्, केही गुमनाम । केहीको घरबार र दाम्पत्य जीवन भताभुंग भएर तनाव र संघर्षपूर्ण जिन्दगी बाँचिरहेका छन् । केही मात्र रंगीन दुनियाँमा रमाइरहेका छन् । प्रथम मिस नेपाल रुबी राणा कुपण्डोलमा ‘रुबिज कलेक्सन’ चलाएर बसेकी छन् । प्रथम नेपाल सुन्दरी भएपछि केही समय अभिनय र मोडलिङमा सक्रिय रहेकी उनी सेनाको मेजरसँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । द्वन्द्वकालमै सम्बन्ध भत्कन खोजे पनि अहिलेसम्म त्यसलाई सम्हालिराखेकी उनी सामाजिक सञ्जालमा सक्रिय छिन् । ०५४ कै मिस नेपाल तथा पोखरेली चेली निलिमा गुरुङ जर्नेल रत्न गुरुङका पुत्र असिमसँग बिहे भएको केही वर्षअघि फिलिपिन्समा निन्द्राकै बीच पतिको देहावसानसँगै एकल जीवन बिताइरहेकी छन् । रुबीको झैं उनको पनि बुटिक छ पोखरातिर ।
०५७ सालकी नेपाल सुन्दरी उषा खड्गी र रेडियोकर्मी गणेशप्रसाद तिमल्सिना ‘जिपी’ कुनै समय आइडल जोडीको रूपमा चर्चित थिए । मिस नेपाल भएको दुई वर्षपछि २२ वर्षकै उमेरमा विवाह गरेकी उषामाथि जिपीले भर्खरै सौता हालेका छन् । विवाहको १७ वर्षपछि अदालती प्रक्रियाबाट अलग भए पनि अहिलेसम्म एक रूपैयाँ अंश नपाएको उषाको गुनासो छ । यी दुई लोकन्थलीस्थित एउटै घरमा बस्दै आएका छन् । उषा दोस्रो फ्ल्याटमा एक छोरा र एक छोरीसित बस्छिन् । तेस्रो फ्ल्याटमा भने जीपी नयाँ दुलहीसँग रमेका छन् । यसअघि स्टाइलिस कलेक्सन (बुटिक) सञ्चालन गर्दै आएकोमा अहिले नाम परिवर्तन गरेर उषा स्टाइलिस्ट बनाएकी छन् । जातीय हिंसामा परेर श्रीमान्बाट शारीरिक र मानसिक प्रताडना भोगेपछि उषाले २०६६ सालमै आत्महत्याको कोसिस गरेकी थिइन् ।
मलिना जोशीको सम्बन्ध पनि सुमधुर देखिँदैन । सुशान्त प्रधानसँग प्रेम सम्बन्धमा पूर्णविराम लागेको छ । कुखुराको मासुकी सोखिन मलिनाको जिम ट्रेनर सुशान्त प्रधानसँग सम्बन्ध टुटेको चर्चा छ ।
कुनै समय कल कान्तिपुर नामक चर्चित कार्यक्रमकी भिजे, पूर्व मिस नेपाल माल्भिका सुब्बा (०५९) को गितार बादक मनोज केसीसँगको सम्बन्धमा पूर्णविराम लाग्यो । त्यसपछि वैवाहिक बन्धनमा बाँधिइन् राजीव श्रेष्ठसँग । एक सन्तानको आमा रहेकी माल्भिकाले पनि श्रीमान्तर्फका नातेदारसँगको सम्बन्ध सुमधुर नहुँदा तनावपूर्ण स्थिति झेलिरहेको चर्चा छ । भारतीय गायकसँग निकट सन् ०१६ की मिस नेपाल अस्मी श्रेष्ठको प्रेम सम्बन्धले पूर्णता पाउन सकेन । यस्तै पूर्व स्वास्थ्यमन्त्री विरोध र मनु खतिवडापुत्री श्रृंखला नेपालकै राम्री र बौद्धिक भनेर चिनिन्छिन् । मिस नेपालको ताज पहिरिएपछि चर्चामा रह्यो उनी र ब्लगर सिसन बानियाँको प्रेम सम्बन्ध । युरोपको टुर सकाएर फर्किंदा भने यी दुईको दोस्तीमा पूर्ण विराम लागेको बताइन्छ । श्रृंखलापछिका मिस नेपाल प्रिंयका रानी जोशी र प्रेमी रिसभ ठकुरीको प्रेम सम्बन्ध पनि टुटेको चर्चा छ । रिसभ अमेरिकामा अध्ययनरत छन् । प्रियंकालाई अमेरिका जाँदा रिसभले तिरस्कार गरेको बुझिन्छ ।
मिस नेपाल, जसलाई रंगिन दुनियाँमा धेरैले चिन्छन्, तिनै सेलिब्रिटीलाई मात्रै किन वैवाहिक जीवन र प्रेम सम्बन्धमा यस्तो तनाव ? पुरुषप्रधान समाजमा महिला आफ्नो खुट्टामा उभिएर माथि पुगेपछि किन प्रेमी या पति क्रमशः बांगिदै जान्छन् ? कारण के हो ? अनि निदान के ?
टिप्पणीहरू