पूर्व राष्ट्रपतिका पिता पुत्रमाथि नै प्रहार

पूर्व राष्ट्रपतिका पिता पुत्रमाथि नै प्रहार

नेपाली कांग्रेसका सह-महामन्त्री महेन्द्र यादवले पूर्वराष्ट्रपतिपुत्र डा.चन्द्रमोहन यादवविरुद्ध आफूलाई चुनाव हराउन अन्तर्घात गरेको भन्दै कारवाहीका लागि केन्द्रीय कार्यालय सानेपामा उजुर हालेका छन् । महाधिवेशनबाट केन्द्रीय सदस्य जितेका चन्द्रमोहनलाई कांग्रेसको साधारण सदस्यबाट निलम्बन गर्न महेन्द्रको माग छ ।   

धनुषा-४ मा जम्मा १२४ मतले एमालेका रघुवीरसँग पराजित भएका महेन्द्रले पूर्वराष्ट्रपति रामवरण यादवको उपस्थितिमा पारिवारिक मिटिङ बसी रातारात 'परिवारको प्रतिष्ठा जोगाउन' महेन्द्रलाई हराउनै पर्ने निष्कर्ष निकालेको उजुरमा दावी गरिएको छ । सोही बैठकमा रामवरणका अर्का भतिजले 'मैले आजसम्म काँग्रेसको रुख चिन्हबाहेक अन्त भोट हालेको छैन' भनी अडान राखेको सूचना महेन्द्रसम्म ढिलो गरी पुगेको उनीनिकट स्रोतले बताएको छ । 

चुनावको दुई दिनअघि एमाले उम्मेदवार रघुवीर महासेठसहित उनका जेठान डा. उपेन्द्र महतोको अगुवाइमा डा. रामवरण, चन्द्रमोहनसहितको गोप्य बैठक बसेर आफूलाई हराउने योजना बनाइएको महेन्द्रले जनआस्थालाई बताए । सोही योजनाअन्तर्गत डा. उपेन्द्रको पैसा बुझेका रामवरणको परिवारका सदस्य समिर यादवले एमालेलाई भोट किनेको आरोप छ । धनुषा जिल्लाको ४ नम्बर क्षेत्रमा पर्ने ढल्केबर र महेन्द्रनगरमा पैसा बाँड्दा बाँड्दै समिर रंगेहात पक्राउ परेको महेन्द्रका मान्छेहरुले बताउने गरेका छन् । 

त्यसो त,रामवरण र महेन्द्रको प्रतिद्धन्दिता आजको मात्रै होइन । वल्लो-पल्लो गाउँका यी दुई लामो समयदेखि कांग्रेसको राजनीतिमा दुई कित्तामा उभिने गरेको इतिहास छ । विगत हेर्दा दुबैले एक-अर्काको 'खुट्टा तान्ने' गरेको देखिन्छ । महेन्द्र शेरबहादुर देउवा नेतृत्वको कांग्रेस (प्रजातान्त्रिक) निकट तरुण दलको केन्द्रीय अध्यक्ष हुँदा रामवरण नेपाली कांग्रेसको महामन्त्री थिए । जिल्ला राजनीतिमा पनि रामवरणहरु सधैँ कोइराला क्याम्प र महेन्द्र शेरबहादुर खेमामा देखिंदै आएका छन् । महेन्द्रले सहमहामन्त्री जितेपछि उनको हालीमुहाली बढेको र आफूहरु पछि परेको पूर्वराष्ट्रपति परिवारको बुझाई छ ।

"रामवरणका अर्का भतिजले 'मैले आजसम्म काँग्रेसको रुख चिन्हबाहेक अन्त भोट हालेको छैन' भनी अडान राखेको सूचना महेन्द्रसम्म ढिलो गरी पुगेको उनीनिकट स्रोतले बताएको छ । "

अहिले रामवरण चिढिनुको मुख्य कारण हो - उनको परिवार सबै तहको चुनावमा टिकटबाट बन्चित हुनु । मधेसी कोटाबाट समानुपातिकमा परेका छोरा चन्द्रमोहनसमेत अन्तिम समयमा गुट नमिलेकै कारण बन्दसूचीको दोस्रोबाट तेस्रोमा हुत्याइएपछि सांसद हुने आश मारेका थिए । लगत्तै चन्द्रमोहनले निर्वाचन आयोगमा निवेदन दिएर आफ्नो नाम मेटिदिन आग्रह गरे । पहिलो नम्बरमा विमलेन्द्र निधिलाई निश्चित गराएर आरजु राणाका ब्यापारिक साझेदार भनिने संविधानसभा सदस्य अनिल रुङ्ग्टालाई दोस्रो नम्बरमा राखी चन्द्रमोहनलाई फ्याँकिएको र त्यसमा महेन्द्रको हात रहेको रामवरणको बुझाइ हो ।  त्यसैको इगो फेर्न अन्तर्घात गरेर हराइएको महेन्द्र निकटहरुको गुनासो छ । जानकारहरुका अनुसार अनिललाई दोस्रोमा पार्न देउवाको एकल निर्णय थियो । 

रामवरणले पारिवारिक मिटिङमा आफ्नो प्रतिष्ठा बचाउनका लागि पनि 'महेन्द्रलाई हराउनुपर्ने' भन्दै चुनावी योजनाको ब्रिफ़िङ गरेको सूचना आफूसम्म आइपुगेको महेन्द्रले जनआस्थालाई बताए । काँग्रेस केन्द्रीय सदस्य तथा अनुशासन आयोगका सभापति आनन्द ढुंगानाले पनि महेन्द्र यादवलाई हराउन कांग्रेसीहरुले नै अन्तर्घात गरेको बताएका छन् । डा. रामवरणको गाउँ सपहीको उदाहरण दिँदै उनले भने, 'त्यहाँ कांग्रेसको बोलबाला हुँदाहुँदै पनि कांग्रेसका उम्मेदवारले पाँच सय र एमालेका उम्मेदवारले ११ सय पाउनु नै अन्तर्घातको प्रमाण हो ।'

महेन्द्रले रामवरणको मात्र होइन पूर्वउपसभापति विमलेन्द्रको सचिवालयमा काम गर्नेहरुले पनि अन्तर्घात गरेको बताउने गरेका छन् । त्यसको आफूसंग बलियो प्रमाण रहेको दावी गरेका उनले उजुरी भने हालेका छैनन् । 

यता, एनआरएनएका पूर्वअध्यक्ष उपेन्द्रको परिवारबाट तीन जनाले चुनाव जितेका छन् । उनका सहोदर भाइ डा. वीरेन्द्र महतोले सिराहाना उपेन्द्र यादवको पार्टीबाट चुनाव जितेका छन् भने बैनी जुलीले धनुषा-३ र ज्वाईं रघुवीरले क्षेत्र नम्बर ४ बाट जितेका हुन् । एकै परिवारका तीन जनालाई जिताउने जिम्मा लिएका धनाढ्य उपेन्द्रको चुनावका बेला चर्को कुदाकुद देखिन्थ्यो । एउटा व्यापारीले परिवारका तीन जनालाई प्रत्यक्षमा चुनाव जिताएर रेकर्ड कायम गरेको मधेसमा चर्चा छ । 

टिप्पणीहरू