जनताले मुलुक भत्काउनकै लागि मतदान गरेजस्तो छ
– दिलनाथ गिरी, पूर्वमन्त्री तथा उपाध्यक्ष, राप्रपा नेपाल
०४६ को परिवर्तनपछि राप्रपाका नाममा राजनीतिक दल बनाएका पञ्चायत समर्थकहरूको कलह गणतन्त्रसम्मै जारी छ । ६ पटक एकता हुँदै ६ पटक नै विभाजित राप्रपालाई पछिल्लो समय कमल थापाले फेरि फुटाए । यससँगै कुममा कुम जोडेर हिँडेका दिलनाथ गिरी राजेन्द्र लिङ्देनको पक्षमा खुलेरै लागी उनलाई अध्यक्षमा जिताएका पनि हुन् । तर, राजावादी र राष्ट्रवादी शक्तिलाई एकाकार गर्ने ‘ग्लु’को रूपमा काम गर्न खोजिरहँदा उनी निष्कासनमा परे र फर्किए पुरानै घर । अहिले राप्रपा नेपाल उपाध्यक्षको भूमिकामा रहेका उनी र कमल थापा दुवै पञ्चायत व्यवस्थाको ‘मण्डले आन्दोलन’का अगुवा हुन् । त्यसबेला उनीहरुलाई कांग्रेस र वामपन्थी विद्यार्थीले मण्डलेको आरोप लगाउँथे । कमल थापापछि मण्डलको अध्यक्ष बनेका गिरी दुई पटक मन्त्री बने । शहरी विकासमन्त्री रहँदा कमल थापाबाट बर्खास्तीमा परेका दिलनाथ कमल थापाका कतिपय निर्णयप्रति असहमत छन् । ६९ वर्षको उमेरमा हिँडिरहेका उनको ठम्याइ छ, नेपालका राजनीतिक दल, नेतामध्ये राष्ट्रवादी कोही छैनन् । छन् त अवसरवादी र स्वार्थी मात्रै ।
– हरि गजुरेल
राजनीतिको सम्भावित चित्र कस्तो देख्दै हुनुहुन्छ ?
– नेताहरू राजनीतिक परिणाम दिनभन्दा पनि स्वार्थपूर्तितिर लागे र बिर्सिए आफ्नो दायित्व, जिम्मेवारी । सबैले भन्ने एकथरी, गर्ने अर्कै थरी । यस कारण तत्काल राजनीति कसरी अगाडि बढ्ला भनेर अनुमान लगाउन कठिन छ । कांग्रेस र माओवादीकै विश्लेषण गरौं न, विगतमा एकथरीले टाउकाको मूल्य ५० लाख तोक्ने, अर्काेथरीले टाउको काट्ने गरेका हैनन् ? यी दुई दल एकै ठाउँमा आउँछन् भनेर कसैले कल्पना गरेको थियो ? ती किन एकै ठाउँमा आए ? राष्ट्र बनाउनका लागि ? पक्कै होइन । स्वार्थको सम्बन्ध थियो, त्यो पूरा भएन र दुई वर्ष नपुग्दै यो सम्बन्धमा ‘ब्रेक’ लाग्यो । एमाले र माओवादी एक हुने कुरा पनि कल्पनाबाहिरको विषय थियो । भनिन्छ, दुई नदीको किनारा कहिल्यै भेट हुन सक्दैन तर राजनीतिक विज्ञानले आवश्यक पर्दा कहिलेकाहीँ नदीको धार नै परिवर्तन गरेर भए पनि किनारालाई एकै ठाउँमा ल्याउन सक्दोरहेछ भन्ने अभ्यास यहीँ भइरहेको छ । तर, यस्तो अभ्यासले नेता त बन्लान्, मुलुक बन्दैन ।
ओली–प्रचण्डको सम्बन्ध र सरकारको भविष्य कस्तो देख्नुहुन्छ ?
– जबसम्म उहाँहरूको स्वार्थ मिल्छ, सम्बन्ध अगाडि बढ्छ । स्वार्थ नमिलेपछि फेरि टुट्छ र लथालिंग हुन्छ । फेरि स्वार्थ मिल्ने दल खोजिन्छ र साइनो जोडिन्छ । उहाँहरूको विगत र वर्तमानले देखाएको त्यही हो ।
पहिलो दल प्रतिपक्षी बस्नुपर्ने, दोश्रो र तेश्रो दल मिलेर सरकार बनाउने संसदीय अभ्यास कस्तो लागिरहेको छ ?
– जुन मुलुक सिष्टममा चल्छ ती देशमा यी कुरा कल्पनाभन्दा बाहिरको विषय भयो तर ब्यालेटबक्समार्फत जुन दलप्रति जनताले अविश्वास वा कम विश्वास गरेको हुन्छ त्यो दलको नेतृत्व पुनःस्थापित हुँदैन । तर, हामीकहाँ गुण र दोषका आधारमा चल्ने होइन कि मौका यही हो, लुट्न सके लुट भन्ने चरित्र विकसित हुँदै छ । अहिले जनताले कसैलाई बहुमत दिएका छैनन् । नेपाली कांग्रेसको अकर्मण्यताका कारण यो स्थिति आएको हो । माओवादीलाई पनि बहुमतको जनादेश जनताले दिएका थिएनन् । माओवादी र एमाले कुनै हालतमा मिल्न सक्दैनन् । उनीहरूलाई केही दिनु हुँदैन, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख मैले राख्नुपर्छ भन्ने अपरिपक्व अडानका कारण अहिले कांग्रेसमा रुवाबासी छ । पहिलो पार्टी भएर पनि यो स्थिति नेतृत्वको अकर्मण्यताको कारण आएको हो । जनादेश, ठूलो पार्टीले सरकार बनाऊ भन्ने हो र जनादेश पाएको पार्टी प्रतिपक्षमा छ । भोलि स्वार्थको टकराव हुँदा मध्यावधि निर्वाचनमा मुलुक नजाला भन्न सकिन्न । नेपाली जनताले मुलुक बनाउनका लागि भन्दा मुलुक भत्काउनकै लागि मतदान गरेजस्तो लाग्छ ।
कसरी ?
– केपी ओलीद्वारा प्रतिगमन भयो भनेर पार्टी फुटाइएको छ तर अदालत २३ सिटे कांग्रेसलाई सरकार बनाउन आदेश दिन्छ । जनता स्पष्ट विचार र छवि भएका व्यक्तिलाई ल्याउनुपर्छ भन्दैछन् । छ्यासमिस गरेर जिताई मिलेर, लुटेरै मुलुक खाओ भन्ने म्याण्डेट दिन्छन् । संसारभर कहीँ कतै विचार, सिद्धान्त नमिल्नेबीच गठजोड हुँदै हुँदैन । तर, हामीकहाँ मात्र त्यस्तो अभ्यास भइरहेको छ । बहुदलीय व्यवस्था आएपछि किन संस्कार, सिष्टम बनाउन सकेनौँ ? मुलुक बनाउनेभन्दा पनि भत्काउने काम गणतन्त्रात्मक प्रणालीबाट भएको छ । हिन्दूधर्म नेपालको पहिचान थियो । त्यसलाई समाप्त पारिएको छ । राजतन्त्रलाई सामन्ती व्यवस्था भनेर खत्तम पारिएको छ । राजसंस्थाकै कार्यकालमा स्थापना भएको उद्योगधन्दा सिध्याइएको छ । राजसंस्था हुँदा खाद्यान्नमा नेपाल आत्मनिर्भर थियो । हामीलाई खान पुगेर विदेशमा निर्यात हुन्थ्यो । अहिले वार्षिक अर्बांैको खाद्यान्न आयात गर्नुपर्ने स्थिति छ । गणतन्त्रपछि हिजोको भन्दा उदाहरणीय केही काम कतै भएको देखिँदैन । यस्तो भद्रगोल ठाउँमा जनताले स्पष्ट म्याण्डेट दिनुपथ्र्याे ।
तपाईंहरूकै पार्टीबाट अलग हुनुभएका राजेन्द्र लिङ्देनको सत्ता यात्रालाई कसरी लिनुभएको छ ?
– ०७० सालमा कमल थापाको नेतृत्वमा राप्रपा चौथो शक्ति भयो । त्यतिखेर माओवादीको बिगबिगी थियो । राजा, धर्मको विषयमा बोल्नु भनेको मृत्युवरण गरे बराबरको परिस्थिति थियो । नदीे प्रवाहको बीचमा बसेर यसलाई फर्काउँछु भन्नु र ज्यान जोखिममै पार्नु बराबरकै स्थिति थियो त्यतिखेर गणतन्त्रले धर्म र राजाको स्थिति समाप्त पा¥यो । हामी अन्तिमसम्म लडिरह्यौं र पराजित भयौँ । दुई वटा विकल्प थिए विद्रोह गर्ने वा प्रजातान्त्रिक प्रणालीबाट आलोचनात्मक समर्थन गर्ने । भर्खरै माओवादीको विद्रोहबाट शान्त भएको मुलुकमा हामीले दोस्रो विकल्प रोज्यौं । त्यो समयमा हाम्रोतर्फबाट गम्भीर त्रुटि के भयो भने राप्रपाको मूल एजेण्डा संवैधानिक राजतन्त्र थियो तर हामी राष्ट्रपति, उपराष्ट्रपतिको समर्थक बस्यौँ । त्यतिखेर संवैधानिक राजतन्त्रको कुरा गर्नु नाटकजस्तो भयो । सिद्धान्तमा राजा स्थापित गर्छु भन्ने, राजाको विकल्पमा राष्ट्रपतिलाई समर्थन गर्ने ? ०७४ मा राष्ट्रिय दल बन्न सकेनौं । एमालेको सहयोगमा राजेन्द्र लिङ्देनले एक सिट जित्नुभयो । कमल थापाको नेतृत्व परिवर्तन गर्दा हाम्रा एजेण्डा स्थापित गर्न सक्छौं कि भन्ने लागेर म आफैँ राजेन्द्रलाई जिताउन अग्रसर भएँ । तर, अहिले उहाँले पनि राष्ट्रपतिलाई भोट हाल्ने, प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भनेपछि कि त भन्न सक्नुप¥यो कि, हिजो कमल थापाले गल्ती नै गरेका थिएनन् भनेर । होइन भने हिजो कमल थापा हिँडेकै बाटो हिँड्ने भए राजेन्द्र ठीक कि कमल ठीक ? कि त दुईटै बेठीक ? सरकारमा जाने हो भने राष्ट्रपतिलाई स्विकार्नुपर्छ । राष्ट्रपतिलाई स्विकार्ने हो भने नारामा राजसंस्था बोक्ने कुरा कत्तिको सुहायो ? हिजो कमल थापाले जे गर्नुभयो त्यही गल्ती गर्दै हुनुहुन्छ राजेन्द्र लिङ्देन पनि । त्यसैले मेरो निश्कर्ष छ, यहाँ कुनै दल, व्यक्ति इमान्दार छैनन् । सबैले आ–आफ्नो स्वार्थ र दुनो सोझाउने हुन । यहाँ कोही राष्ट्रवादी छैनन् ।
पूर्वराजा ज्ञानेन्द्रले सिमरामा राजेन्द्र लिङदेनलाई बोलाएर तत्काल सत्तामा जाँदा राजतन्त्र र हिन्दूराज्यको एजेण्डाबाट च्यूत हुने हुँदा सत्तामा नजान सुझाव दिनुभएको थियो । तर, अहिले आफ्नो सबै एजेण्डा छाडेर सरकारमा जाँदै हुनुहुन्छ राजेन्द्र, यसले के देखायो ?
– मैले पनि त्यही सुनेको हुँ । यदि, सत्य हो भने राजाको सीधै सहमतिबाट उहाँहरू सरकारमा जाने हुनुभयो । अब राजसंस्था सकियो । यसको आवश्यकता नै भएन।
राप्रपा भन्ने पार्टी बडो नमुना देखियो । हिन्दू राज्य भन्छ, समानुपातिक सांसद क्रिश्चियनलाई बनाउँछ ! राजा आऊ भन्छ, राजतन्त्र हटाउनेलाई प्रधानमन्त्रीमा समर्थन गर्छ, प्रदेश खारेज गर भन्छ प्रदेशको मुख्यमन्त्री दाबी गर्छ ! यो कस्तो राजनीति हो ?
– यो व्यक्तिगत स्वार्थका लागि चलेको प्रणाली हो । राप्रपा मात्र होइन, सबै दलमा त्यस्तै देखिन्छ । स्वार्थ मिलुञ्जेल काम र स्वार्थ टुटेपछि राजा, हिन्दू, गणतन्त्रको नाम बेचेर निर्वाचनमा जाने हो । नाराअनुसार कसले काम गरेको छ र यहाँ ?
राजावादी कित्ता फेरि एक हुने स्थिति छ कि छैन ? राजेन्द्र लिङदेनसँग मिल्ने सम्भावना के छ ?
– राजेन्द्र लिङ्देनसँग मेरो केही व्यक्तिगत दुश्मनी छैन । राप्रपालाई बृहतरूपको वैकल्पिक राष्ट्रवादी पार्टी बनाउने अठोट हो मेरो । त्यहाँ केशर विष्ट, रवीन्द्र मिश्रदेखि अरु संघसंगठनलाई एकै ठाउँमा ल्याउन खोजेको थिएँ । यही प्रस्ताव पेश गर्दा हामीमाथि कारबाही भयो । राष्ट्रपतिलाई भोट हाल्न, प्रचण्डको सरकारमा जान राजासँग सहमति लिने भनेपछि किन चाहियो राजावादी शक्तिबीच बृहत् एकता ? पार्टी किन बलियो बनाउनुप¥यो र ? ममाथि किन कारबाही गरिएको रहेछ अहिले स्पष्ट भएन र ? उहाँको नारा छ, ‘भ्रष्टाचार र आमाको रगत खानु बराबर’ । के आर्थिक अनियमितता गर्नु मात्र भ्रष्टाचार हो ? राजनीतिक सिद्धान्त बेचिखानु, राजनीतिक सिद्धान्तमा विचलन आउनुचाहिँ भ्रष्टाचार होइन ?
आफैँले अध्यक्षमा चुनाव जिताउनुभएको राजेन्द्र लिङ्देन छाडेर कमल थापातिर किन जम्प गर्नुभयो ?
– गणितमा २ जोड २ गर्दा ४ हुन्छ तर राजनीतिमा कहिलेकाहीँ दुई प्लस दुई गर्दा पाँच पनि हुन्छ । अहिले प्रचण्ड र केपी ओली, यसअघि देउवा र प्रचण्ड एकै ठाउँमा हुनु जसरी दुई प्लस दुई ५ भयो, त्यसैगरी कमल थापा एकै ठाउँमा आउनु उही हिसाब हो । बृहत् राष्ट्रवादी एकताको प्रस्ताव राख्दा राजेन्द्रले हामीलाई कारबाही गरेपछि फर्कने ठाउँ त अन्यत्र थिएन । कमल थापालाई गलत ठानेर जसले अहिलेको नेतृत्वलाई मत दिए यो नेतृत्व पनि उही पथमा गएपछि मतदातामा बहस त होला नि कमल थापा गलत कि राजेन्द्र लिङ्देन भनेर !
अमेरिकाबाट फर्किएपछि राजनीतिमा किन सफल हुन सक्नुभएन ?
– अहिले ६९ वर्षको भएँ । मेरो राय छ, देश बनाउने हो भने यो उमेरको मान्छेले सक्रिय राजनीति गर्ने होइन, नयाँ पुस्तालाई अवसर दिने हो । दुई पटक मन्त्री भएँ, अब भए मन्त्री नै हुने हो प्रधानमन्त्री हुने होइन । किन पदका लागि हिरिक्क हुने ? आफ्नो जीवनकालमा मैले राम्रो काम गर्न सकिन होला तर देशको अहित र कुभलो हुने काम त केही गरिन ।
तपाईंकै पार्टी अध्यक्ष कमल थापाको हारको कारण के हो भन्ने लाग्छ ?
– कमल थापा राजनीतिक, बौद्धिक क्षमता भएको मान्छे । अहिलेका प्रमुख चार दलका शीर्ष नेतामध्ये तुलना गर्नलायक, क्षमता र हैसियत भएको मान्छे । कमलका कतिपय लक्ष्य र दृष्टिकोण विदेशीका लागि घातक छ । यो मान्छे यही ढंगबाट बलियो र सशक्त भएको खण्डमा विदेशीको चलखेल सफल हुन सक्दैन र दिनुहुन्न भन्ने वैदेशिक सोचाइ पनि रह्यो । कमल थापामाथि धर्म, गाई बेच्यो भन्ने आरोप पनि लाग्यो । राष्ट्रपति, उपराष्ट्रपतिको समर्थन गरेको र यो संविधानलाई उत्कृष्ट संविधान भनेका कारण उनलाई सिध्याउने डिजाइन भयो । त्यो डिजाइनअन्तर्गत उहाँ प्रयोग हुनुभयो र एमालेको सबैभन्दा सुरक्षित ठाउँबाट चुनाव लड्दासमेत जित्न सक्नुभएन ।
आफू सूर्य चिह्न लिएर उठ्ने, अरूलाई तीर चिह्न लिएर लडाउने कुरा कत्तिको नैतिक भयो ?
– कमलजीलाई तपाईं सूर्य चिह्नबाट चुनाव लड्न हुँदैन भन्ने मान्छे हुँ म । मेरो अध्यक्ष सूर्य चिह्नबाट लडेका छन्, म त्रिशूल चिह्नमा मतदान गर्न जाँदा सबैले प्रश्न गर्ने भए । त्यही कारण मैले मतदानसमेत गरिनँ । मैले यस्तो नाटक किन गर्छौ ? भनेर प्रश्न गर्दा केही जवाफ दिएनन् । दीपकबहादुर सिंहसँग चुनाव नलड्नु है भनेको पनि थिएँ तर आफ्नै मान्छेसँग चुनाव लडेर हार्नुभयो ।
एमालेपट्टि लागेर राप्रपाको इमेजै खत्तम हुने स्थिति आयो भनिँदै छ । यसलाई कसरी लिनुहुन्छ ?
– म राप्रपाको भन्ने अनि देखिने गरी एमालेको हित हुने गरी काम गरेपछि प्रश्न उठाउनु स्वाभाविक हो ।
गृह मन्त्रालय सम्हालिरहेका रवि लामिछानेको भविष्य कस्तो देख्दै हुनुहुन्छ ?
– उहाँसँग अहिलेसम्म नेपाललाई कसरी परिवर्तन गर्ने ? कस्तो नेपाल बनाउने भन्ने केही रोडम्याप छैन । तर, जनताले विकल्पको रूपमा उहाँको पार्टीलाई मत दिए । राम्रोसँग काम गर्नुभएको खण्डमा अर्काे पटक उहाँहरू मत माग्नै जानुपर्दैन ।
विदेशीको चलखेल कस्तो लागिरहेको छ ?
– यही ढंगबाट मुलुक र राजनीति अघि बढ्ने हो भने हाम्रै जीवनमा नेपाल भन्ने मुलुक देख्न पाइँदैन कि भन्ने गम्भीर आशंका लागिरहेको छ । आज सिक्किमेलीले जुन पीडा भोगेका छन् त्योभन्दा ठूलो पीडा भोगेर मर्नुपर्ने हो कि भन्ने पीडाले रातदिन पोलिरहन्छ ।
टिप्पणीहरू