सिकेको सत्ता यात्रा : उपेन्द्र–राजेन्द्रहरूकै पदचाप पछ्याउने संकेत
– सन्तोष बराइली
पृथकतावादी अभियानको जगबाट नेपालको राजनीतिमा भर्खरै उदाएको सिके राउत नेतृत्वको जनमत पार्टी सत्ता साझेदार गठबन्धनको एक सदस्य बनेको छ । केन्द्र सरकारमा प्रवेशसँगै मधेश प्रदेशको मुख्यमन्त्रीमा पनि दाबि छ । स्थानीय चुनावमा सप्तरीको दुई तहका प्रमुख जितेको जनमत पार्टीले गएको आम चुनावमा अप्रत्यासित नतिजा ल्यायो, पुराना मधेशवादी दलहरूलाई चुनौती दिँदै राष्ट्रिय पार्टी बन्यो । सप्तरी क्षेत्र नं. २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले हराएर मधेशमा नयाँ शक्तिको रूपमा उदाएका सिके र उनको नेतृत्वको जनमत पार्टीले समानुपातिकसहित प्रतिनिधि सभामा ५ र मधेश प्रदेश सभामा १३ सिट प्राप्त गरेको छ । तर जनमतको सत्ता यात्राले मधेशमा सिकेप्रति संशय र शंका बढेर गएको छ । कतिपयले जनमतको सत्ता यात्रालाई उपेन्द्र यादव, राजेन्द्र महतोहरूकै पदचाप पछ्याएको भनेर आलोचना शुरु गरेका छन् ।
मुद्दा होइन, सत्ताका लागि टुक्रैटुक्रा
बिखण्डनको मुद्दा बिसाएर मूलधारको राजनीतिमा उदाएका सिके राउतप्रति शंका गर्ने सुविधा विगतमा बग्रेल्ती खुलेका मधेश केन्द्रित दल र नेताहरूको सत्ता मोह र श्रृंखलाबद्व फुटले दिएको छ ।
औपचारिक रूपमा मधेशको मुद्दा उठाएर गजेन्द्रनारायण सिंहले २०४७ साल वैशाख ३ गते खोलेका थिए– नेपाल सद्भावना पार्टी । सद्भावना परिषद् नामक सामाजिक संस्थालाई पार्टीमा रूपान्तरण गरिएको थियो । तर सद्भावना खोलेको केही वर्ष नबित्दै विभाजनको विजारोपण भयो । नेपाल सदभावना पार्टीमा गजेन्द्रनारायण सिंहको सहयात्री रहेका रामजनम तिवारीले ३ वर्ष नबित्दै आफ्नै नेतृत्वमा नेपाल सदभावना पार्टी (आर) गठन गरे । तिवारीले गठन गरेको दल पनि २ वर्ष नबित्दै फुट्यो । ०५२ सालमा रामेश्वरराय यादवले विद्रोह गरेर समाजवादी जनता दल खोले । यादवको अध्यक्षतामा गठित सो दलमा हदयेश त्रिपाठी उपाध्यक्ष थिए भने राजेन्द्र महतो प्रवक्ता रहे ।
पार्टी टुक्राटुक्रामा विभाजित भएको २ वर्षपछि २०५४ सालमा विराटनगरमा अधिवेशन आयोजना गरेर सदभावना पार्टीका विभिन्न घटकलाई एकठाउँमा ल्याइयो । पार्टीको नाम नेपाल सद्भावना पार्टी नै राखियो । तर एकीकरण भएको ५ वर्षभित्रै फेरि सदभावना विभाजन भयो । २०५९ चैत ११ गते सप्तरीको राजविराजस्थित महाधिवेशनबाट गजेन्द्रनारायण सिंहकी पत्नी आनन्दीदेवी सिंहले नै पार्टी फुटाएकी थिइन् । यहाँ फुटको कारण थियो राजालाई समर्थन गर्ने कि लोकतान्त्रिक शक्तिलाई ! राजालाई समर्थन गर्ने गुट बद्री मण्डलतिर लागे भने बाँकी आनन्दी देवीसँग । नेपाल सदभावना पार्टीको नेतृत्व बद्री मण्डलले पाए र आनन्दी देवीले नेतृत्व गरेको दलको नाम नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) राखियो । बद्री मण्डल पार्टीमा निश्क्रिय भएपछि लक्ष्मणलाल कर्णले उक्त पार्टीको नेतृत्व गरे । २०६४ जेठ २५ गते कर्ण र आनन्दीदेवीबीच समेत एकता भएर नेपाल सद्भावना पार्टी फेरि एक ठाउँमा आयो । एकीकृत पार्टीको अध्यक्ष गजेन्द्र पत्नी आनन्दीदेवी भइन् । तर अचम्म, एकीकरणको एक वर्ष नबित्दै सद्भावना ३ टुक्रामा विभाजित हुन पुग्यो ।
०६५ मंसिर २४ गते राजेन्द्र महतोले आफ्नै नेतृत्वमा सद्भावना पार्टी गठन गरे । श्यामसुन्दर गुप्ता, खुशीलाल मण्डल र सरिता गिरीले समेत अलग अलग समूह बनाए । तर तीनै जनाले पार्टीको नाम नेपाल सदभावना पार्टी (आनन्दीदेवी)नै राखे । पछि श्यामसुन्दर गुप्ता सांसद अपहरण काण्डमा जेल परे । यता राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टी पनि २ टुक्रामा विभाजित भयो । अनिलकुमार झा र सरिता गिरीले मिलेर संघीय सदभावना पार्टी गठन गरे भने रामनरेश रायले समेत अर्कै दल गठन गरे । रामनरेश पछि महेन्द्र राय यादवले खोलेको तराई मधेश सद्भावना पार्टीतिर लागेका थिए भने महतो र झाले नेतृत्व गरेको पार्टी पछि राष्ट्रिय जनता दलमा एकीकृत भएको थियो ।
अब उदय हुन्छ उपेन्द्र यादवको ।१० वर्षे सशस्त्र युद्धलाई पूर्णविराम दिदै नेकपा माओवादी मूलधारको राजनीतिमा आइसकेपछि उपेन्द्र यादवले पनि माओवादी जस्तै संघीयताको माग गर्दै मधेशी जनअधिकार फोरम गठन गरे । मधेश आन्दोलनपछि मधेशी जनअधिकार फोरमलाई नै दलको रूप दिइयो । २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानको विरोध गर्दै मधेशमा आन्दोलन गरेका यादवले सरकारसँग २२ बुँदे सम्झौता गरेपछि २०६४ वैशाखमा मधेशी जनअधिकार फोरमलाई दलको रूपमा दर्ता गराएका थिए । फोरममा पनि फुटको श्रृंखला शुरू भयो – २०६४ भदौमा भाग्यनाथ गुप्ताले उपेन्द्रसंग अलग्गिएर मधेशी जनअधिकार फोरम (मधेश) नामक दल दर्ता गरे । कांग्रेसबाट बिद्रोह गरेर उपेन्द्र यादवको पार्टीमा लागेका विजयकुमार गच्छदारले पनि फोरमबाट अलग भएर मधेशी जनअधिकार पार्टी नेपाल (लोकतान्त्रिक) दर्ता गराए । केही वर्षअगाडि मात्रै गच्छेदारले आफ्नो पार्टीलाई नेपाली कांग्रेसमा विलय गराए ।
शरतसिंह भण्डारी, जयप्रकाश गुप्तालगायतका नेताहरू गच्छदारसँगै थिए तर रक्षामन्त्री बनेका भण्डारीले दिएको विवादास्पद अभिव्यक्तिका कारण उनलाई मन्त्री पदबाट हटाइयो तर पार्टीले उनको बचाव गरेन । सोही विषयलाई निहुँ बनाएर भण्डारीले आफ्नै नेतृत्वमा राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गरे । गच्छदारसंगै रहेका जेपी गुप्ताले समेत मधेशी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) नामक पार्टी दर्ता गराए । गुप्ता सञ्चारमन्त्री बनेकै बेला भ्रष्टाचार आरोपमा जेल परे । भ्रष्टाचारमा मुछिएपछि गुप्तालाई कारबाही गर्दै राजकिशोर यादवले सो पार्टीको कमान आफ्नो हातमा लिएका थिए ।
यति हुँदाहुँदै पनि मधेश केन्द्रित राजनीतिक दलहरूको उदय हुने क्रम रोकिएन । नेपाली कांग्रेसबाट विद्रोह गरेर महन्थ ठाकुरले तराई मधेश लोकतान्त्रिक पार्टी खोले । ठाकुर नेतृत्वको तमलोपा पनि विभाजित भयो । महेन्द्र राय यादवले तराई मधेश सद्भावना पार्टी (तमसपा) गठन गरेर तमलोपालाई विभाजन गरेका थिए । पछि राजपा गठन हुँदा साबिकका ६ वटा पार्टीहरू एक ठाउँमा आए ।
यता उपेन्द्र यादवले नेकपा एमालेबाट अलग भएका अशोक राई, राजेन्द्र श्रेष्ठ सँग एकता गरेर संघीय समाजवादी फोरम पार्टी गठन गरे । त्यसपछि एकीकृत नेकपा माओवादीबाट अलग भएर नयाँ शक्ति पार्टी गठन गरेका डा. बाबुराम भट्टराईसँग एकता गरेर समाजवादी पार्टी गठन गरिएको थियो । पछि सपा र राजपाबीच एकता भएर जनता समाजवादी पार्टी (जसपा) नेपाल बनेको थियो । तर उपेन्द्र यादव र महन्थ ठाकुरबीच राजनीतिक सिद्धान्त नमिलेपछि फेरि यो दल अहिले आएर विभाजित भएको छ । बाबुराम पनि प्रचण्ड क्याम्पमै फर्किसकेका छन् ।
यसपटक भने मधेशका दुई ठूला दल जसपा र लोसपा मधेशमा एकल त के संयुक्त सरकारसमेत बनाउन सक्ने हैसियतमा छैनन् । केन्द्रको सत्ता समीकरणमा पनि बलियो बार्गेनिङ गर्नसक्ने शक्ति उनीहरूमा रहेन । कतिसम्म भने, लोसपाले त समानुपातिक मतमा थ्रेसहोल्डसमेत कटाउन सकेन । पुराना मधेशवादी दललाई माथ दिँदै यसपटक सिके राउत नेतृत्वको जनमत उदाएको छ । जनमतको जवरजस्त उदय मधेशमा सिकेको जबरजस्त उदय हो । सन् २०११ मा अमेरिकाबाट नेपाल फर्केर स्वतन्त्र मधेशको अभियान चलाइरहेका सिके २०७५ साल फागुन २४ गते केपी ओली नेतृत्वको सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा लागेका थिए । तर गएको आम चुनावमा मधेशको नयाँ शक्तिका रूपमा उदाएको जनमतको सत्ता यात्रालाई धेरैले उपेन्द्र–राजेन्द्रहरूकै पदचाप पहिल्याउने सिके संकेत भनेका छन् ।
टिप्पणीहरू