कम्युनिष्ट एकताः पहिले कोसँग ?
कोसँग र कस्तो मिल्ने ? भन्ने कुराको टुंगो नलगाई कम्युनिष्ट घटकहरू ‘एकता कार्यदल’ बनाएर अगाडि बढेका छन् । प्रधानमन्त्री बन्ने मूल्यमा पुराना अन्तर्विरोध बिर्सिंदै प्रचण्डले एमालेसँग सहकार्यको हात बढाउनुभएको छ । बाँकी कुनै पनि कम्युनिष्ट घटक एमालेसँग मिल्ने पक्षमा तत्काल छैनन् । न त एमालेले कोहीसँग औपचारिक रुपमा एकता गर्ने भनेको छैन ।
तर, एमालेबाटै छुटेर गठन भएको नेकपा (एकीकृत समाजवादी) ले चुनावअघि गठन गरेको एकता कार्यदललाई सक्रिय बनाएको छ । ऊ सक्रिय हुनासाथ माओवादी केन्द्रले अर्को कार्यदल बनाएपछि प्रश्न उठेको छ, आखिर मिल्नुपर्ने वा मिल्न तयार भएका कम्युनिष्टहरू को–को हुन् ? एकीकृत समाजवादीले कम्युनिष्ट पृष्ठभूमिका नेताहरूको वर्चस्व रहेको गैरकम्युनिष्ट घटक जनता समाजवादी पार्टी (जसपा) बाट एकताको वार्ता थालनी गरेको छ । जबकि, निर्वाचनअघि माओवादी केन्द्रसँग एकता हुने गरी उक्त पार्टीले आफ्नो भूमिका र कार्यशैली अवलम्बन गरेको थियो ।
जसपासँग एकताको कुरा अगाडि बढ्नासाथ माओवादीले अर्को कार्यदल बनाएपछि प्रधानमन्त्री प्रचण्डको बोलाहटमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादी, जसपा र एसका अध्यक्षबीच एकता केन्द्रित छलफल भयो । तर, त्यसले कुनै ठोस निर्णय गरेको छैन । एसले जसपाबाहेक नेकपा (संयुक्त) का नेता चन्द्रदेव जोशीहरूसँग पनि छलफल चलाएको छ । उक्त पार्टीबाट गणेश साहसहितका नेताहरू माओवादीमा गइसकेपछि त्यहाँ सानो समूहमात्रै बाँकी छ ।
तर, बोधराज काफ्ले र एकनारायण सुवेदीहरूको नेकपा (माक्र्सवादी) ‘नेकपा’ कै नाममा पार्टी चलाएका ऋषि कट्टेलहरूसँग एकता गर्न सकिन्छ भन्ने विश्वास एसका वार्ताकारहरूमा छैन । माक्र्सवादीका नेताहरूले पुष्पलालको ‘नयाँ जनवाद’ शास्त्रीय ढंगले बुझ्ने भएका कारण समस्या देखिएको छ । ऋषि कट्टेलसँग एमाले–माओवादी एकताकालको अनुभवका आधारमा एकता वार्ता अगाडि बढाउनु व्यर्थ हुने उनीहरूको निश्कर्ष छ । त्यसबेला कट्टेलले पैसा लिन्छन् भने दिएर भए पनि मुद्दा फिर्ता लिन लगाउन र नेकपाको ब्राण्ड नेम आफूसँगै राख्ने कुरा चलेको थियो । पैसा लिन मानेनन् ।
तर, सीधै अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनेकन सौदावाजीमा उत्रिए । अन्ततः अदालतले उनको नाम त उनैलाई दियो । सँगसँगै एमाले–माओवादीको एकता पनि भंग गरिदियो । उनले त्यतिबेलै पदीय वा व्यक्तिगत लाभका विषयमा गरेका मागहरूमा तलमाथि भइदिएर एमाले–माओवादी नेताका कुरा मानिदिएको भए आज पनि एउटा राजनीतिक भूमिकामा हुन्थे होला । तर, दुःखको कुरा उनले पार्टीको नामलाई ज्यादै ठूलो प्रतिष्ठाको विषय बनाएको नेकपाले नै उनैलाई कारबाही गरेर निकालिदियो । अहिले उनी गुमनाम छन् ।
टिप्पणीहरू