रविले अमेरिकी नागरिकता त्याग्न पूरा गरे त यी सारा प्रक्रिया ?

रविले अमेरिकी नागरिकता त्याग्न पूरा गरे त यी सारा प्रक्रिया ?

वर्तमान गृहमन्त्रीको नागरिकतासम्बन्धी विवादसहित अदालतमा प्रवेश भएका दुई रिट निवेदनउपर माघ ११ गते पुनः सुनुवाइ हुने भएको छ । कुनै पक्षले पनि पेसी हटाउन नपाउने शर्त राखी अग्राधिकारसहित हेरिने यो मुद्दाको सम्भवतः सोही दिन फैसला हुन पनि सक्छ । थप केही बुझ्नुपरे वा गहन बहस पैरवी हुनुपर्ने ठानिएमा एमिकस क्युरी (अदालतको सहयोगी) पनि बोलाइन सक्छ । यो रवि लामिछानेको व्यक्तिगत मात्र नभई सार्वजनिक सरोकारको विषय पनि भएको हुँदा सर्वोच्च अदालतले क्षेत्राधिकारको आधारमा यो विषयलाई अन्य निकायमा नपठाई आफैँले फैसला गर्नेछ भन्नेमा विश्वास गर्न सकिन्छ । जे–जसो भए पनि यो मुद्दाको अन्तिम फैसलाका निम्ति भने त्यति लामो कुर्नुपर्ने देखिँदैन । 

फाइलभित्रका सबै दशी प्रमाण हेर्न नपाइए पनि अहिले विभिन्न माध्यमबाट सार्वजनिक जानकारीअनुसार रवि लामिछानेले नेपालको मौजुदा कानुनी व्यवस्थालाई अवलम्बन नगरेको मात्र हैन उल्टै गलत व्याख्या गरिरहेको बुझिन्छ । दोहोरो नागरिकतामा सजायँ अवलम्बन गर्ने देशमा त्यहाँको नागरिकता लिने बेला अन्य देशको नागरिकता त्याग गर्नैपर्ने प्रावधान हुँदैन । एकल नागारिकता मात्र स्वीकार गर्ने देशमा बस्ने विदेशीले भने त्यही देशको नागरिकता लिन परे आफू आएको देशको नागरिकता छाडेको निस्सा लिनुपर्ने हुन्छ । यही प्रयोजनका लागि नागरिकता ऐन २०६३ को दफा १० (२) मा नागरिकता त्याग गर्नका लागि दिनुपर्ने निवेदनबारे व्यवस्था गरिएको छ । १० (२) मा भनिएकै छ– नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकिएबमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गर्नेछ र त्यसरी दर्ता गरिएको मितिदेखि निजको नेपाली नागरिकता कायम रहने छैन) । व्यवहारतः कसैले सबैजसो दोहोरो नागरिकता स्वीकार गर्ने देशको नागरिकता प्राप्त गरे पनि त्यसबारे नेपाल सरकारलाई कुनै जानकारी हुँदैन । सबैले जानकारी गराउनुपर्छ भन्ने बाध्यात्मक व्यवस्था पनि छैन तर त्यस्तो नागरिकता प्रयोग गरेमा कसुरअनुसारको सजायँँ हुने व्यवस्थाचाहिँ प्रष्ट छ । नेपाल अहिलेसम्म एकल नागरिकतामा सजायँको भएको देश हो । त्यसैले त कसैले विदेशको नागरिकता लियो भने नागरिकता ऐन २०६३ को दफा १० (१) अनुसार त्यस्तो व्यक्तिको नेपाली नागरिकता स्वतः बदर हुने किटानी व्यवस्था छ । १० (१) अनुसार नेपालको कुनै नागरिकले आफू खुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन भनिएकाले यस्तो व्यवस्था नगरेको भए निवेदन दिएर जानकारी नगराएका र विदेशको नागरिकता लिएकाहरूलाई नेपाली नै भन्नुपर्ने हुन्थ्यो होला ।

तसर्थ विदेशको नागरिकता प्राप्त गरेपछि जो–कसैको पनि नेपाली नागरिकता स्वतः बदर हुने प्रष्ट छ । त्यसरी बदर भएको नागरिकता सदर गर्न दुई प्रक्रिया अनिवार्य रूपमा पूरा गर्नैपर्ने हुन्र्छ । पहिलो, विदेशको नागरिकता त्याग भएको प्रमाण र दोस्रो त्यही आधारमा नागरिकता नियमावलीको नियम ११(१) ले व्यवस्था गरेअनुसार अनुसूची ११ बमोजिम नेपाली नागरिकता पुनः कायम हुनको लागि दर्ता गरिपाऊँ भन्ने निवेदन । त्यसरी निवेदन प्राप्त भएपछि नागरिकता नियमावलीको नियम ११(२) अनुसार सम्बन्धित अधिकारीले साविककै विवरणअनुसार नयाँ नागरिकता जारी गर्नुपर्ने हुन्छ । यसका लागि अनुसूची १२ अनुसारको सूचनासमेत दर्ता गर्नुपर्ने हुन्छ । जारी भन्ने शब्दको अर्थ स्वतः कायम हुने भन्ने होइन । अहिले रवि लामिछानेका कानुन व्यवसायीले व्याख्या गर्न खोजेझैँ हुनका लागि त ‘विदेशको नागरिकता लिएकाहरूले त्यस्तो नागरिकता त्यागेमा स्वतः नेपाली नागरिक हुनेछ’ भनेर लेखिनुपर्ने थियो । अहिले दोहरो नागरिकता प्राप्त गर्न सकिने देशमा बसोबास गर्ने धेरैले त्यहाँको नागरिकता लिने र नेपालको पनि प्रयोग गर्ने प्रचलन भएको सबैलाई जानकारी नै छ । जुन कानुनी रूपमा सजायँ भागी हुन्छ । पक्राउ परेर कानुनअनुसार सजायँ पाएकाहरू मात्र अपराधी हुन्छन् भनिए पनि समाजमा कानुन उल्लंघन गर्नेको संख्या धेरै गुणा बढी हुने पक्का छ । यस्तो अवस्थामा पक्राउ पर्नेले अरुलाई कानुन नलाग्ने, मलाई मात्र किन लाग्ने भनी प्रश्न गर्नुको अर्थ रहँदैन । 

संसारका अधिकांश देशले आफ्नो नागरिक भैसकेका व्यक्तिले त्यस्तो नागरिकता त्याग गर्न सक्ने कानुन निर्माण गरेका हुन्छन् । यस्तो कानुन निर्माण हुनुको मुख्य कारण संसारभरि नागरिकतासम्बन्धी एउटै अवधारणा नहुनु हो । कुनै पनि व्यक्ति राज्यविहीन हुन हुँदैन भन्ने सिद्धान्तअनुसार कसैले निवेदन पेश गर्दैमा नागरिकता त्याग गरेको ह“ुदैन । सम्बन्धित व्यक्तिले उक्त नागरिकता त्याग गरिसकेपछि कुन देशको नागरिक बन्ने हो त्यसको भरपर्दो प्रमाण पेश गर्नुपर्ने हुन्छ । अर्को देशको नागरिकता पाउने आधारविना एउटा देशको नागरिकता खारेज हुने र अर्को देशको नागरिकता प्राप्त गर्न सकेन भने त्यसरी बिना आधार नागरिकता खारेज गर्ने देशले अन्तर्राष्ट्रिय कानुन अवलम्बन नगरेको ठहरिन्छ । त्यसैले सबै देशले नागरिकता त्याग्नको लागि अनुरोध गर्ने व्यक्तिको सम्पूर्ण विवरण जा“च पड्ताल गर्नैपर्ने हुन्छ । आफू बसेको देशमा कुनै आर्थिक, सामाजिक वा नैतिक कसुर गरेको मानिस त्यस्तो सजायँबाट बच्नका लागि सम्भव भएसम्म अर्को देशको नागरिक बन्न सक्छन् । यस्तो प्रचलनलाई निस्तेज गर्न र कसैले पनि सजायँबाट उन्मुक्ति नपाओस् भन्नको लागि नागरिकता त्यागको प्रक्रिया त्यति सहज र सरल हुँदैन । त्यस्तो निवेदनमाथिको छानबिनले लामो समय पनि लिन सक्छ । पुनः नागरिकता प्रदान गर्ने देशले नागरिकता त्याग गरेको देशमा सम्बन्धित व्यक्तिको सम्पूर्ण पृष्ठभूमिबारे जानकारी लिन त्यति सम्भव हुँदैन । त्यसैले त्यस्तो व्यक्तिको विवरण छानबिन गर्ने दायित्व नागरिकता खारेजी गर्ने देशको हुने गर्छ । अहिलेको प्रसंगमा कुनै अमेरिकी नागरिकले त्यहाँको नागरिकता त्याग गर्न के–कस्तो प्रक्रिया पूरा गर्नुपर्छ भन्नेतिर ध्यान दिन जरुरी छ । 

अमेरिकी राहदानी त्याग गर्नको लागि सर्वप्रथम अन्य देशको नागरिक बन्न सक्ने बलियो आधार पेश गर्दै नागरिकता त्याग फाराम डी एस– ४०७९ भर्नुपर्ने हुन्छ । त्यो फारामसहित अमेरिकी दूतावास वा कन्सुलर कार्यालयमा सशरीर उपस्थित हुनुपर्छ । यसका लागि २३५० अमेरिकी डलर शुल्क तिर्नुपर्ने हुन्छ । अर्को महत्वपूर्ण विषय भनेको त्यस्तो व्यक्तिले आफ्नो सम्पूर्ण आयकर फस्र्योट भएको प्रमाण प्राप्त गर्न फारम ८८५४ पनि भर्नुपर्ने हुन्छ । कर, तिर्न बाँकी रहेसम्म अन्य देशको नागरिक भए पनि अमेरिकी नागरिकतासमेत कायम रहन्छ । एकपटक सबै कागजातमा हस्ताक्षर गरिसकेपछि कन्सुलर अफिसरले त्यस्तो व्यक्तिलाई नागरिकता स्वेच्छापूर्वक त्याग गरेको हुँ भनी अमेरिकी झण्डाको अगाडि शपथ लिन आग्रह गरिन्छ । यो प्रक्रिया पूरा भएपछि उक्त निवेदन वासिंगटनस्थित डिपार्टमेन्ट अफ स्टेटमा पठाइन्छ । त्यसपछि सम्बन्धित व्यक्तिको सम्पूर्ण विवरणमाथि जाँच हुन्छ । सबै ठीक ठहरिएमा डी एस ४०८३ फारामअनुसारको प्रमाण पत्र (सीएलएन– सर्टिफिकेट अफ लस अफ नेश्नालिटी) सम्बन्धित व्यक्तिलाई दिइन्छ । यो सबै प्रक्रिया पूरा हुन निवेदकको अवस्थाअनुसार लामो समय लाग्न पनि सक्छ । रवि लामिछानेको प्रसंगमा उनले आफूसँग भएका सबै प्रमाण सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका थिए । अमेरिकन नागरिकता छाडेको निस्सास्वरूप नेपालस्थित अमेरिकी दूतावासमा शुल्कसहित पेश गरेको निवेदन मात्रै सार्वजनिक भएको छ । आउँदो पेसीमा अदालतमा यी सारा कुरा देखाउन सकेनन् भने त्यो प्रमाणपत्र प्राप्त नभएसम्म उनी अमेरिकन नागरिक नै मानिनेछन् । त्यो अवस्थामा अहिले नेपालको नागरिकता प्राप्त गर्न कुनै प्रक्रिया पूरा गर्नु पर्दैन भन्ने गलत तर्कको हैसियत पनि शून्य हुनेछ । 

अमेरिकाबाट नेपाल फिर्ता आएपछि सबैभन्दा पहिला उनले त्यहाँको नागरिकता त्यागसम्बन्धी प्रक्रिया शुरु गर्नुपर्ने थियो । तर, काम गर्ने अनुमतिसमेत नलिएर पारिवारिक भीसामा बसी सबैलाई नैतिकताको पाठ सिकाउँदै सञ्चारकर्मी बने । उनले सन् २०१४ मा अमेरिकाको नागरिकता प्राप्त गरेपछि स्वतः बदर भइसकेको नेपालको नागरिकता प्रयोग गरेर सन् २०१५ मै फेरि नेपाली पासपोर्ट प्राप्त गरे । उनको नागरिकताबारे चर्चा चल्न थालेपछि सन् २०१८ मे १८ मा नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकता त्याग गर्ने प्रक्रियासम्म शुरु गरेका हुन् । त्यही कागजात अध्यागमन कार्यालयमा पेश गरेपछि आफू नेपाली नागरिक बनिसकेको उनको जिकिर छ । त्यस्तो कागज पेश गर्ने निकाय अध्यागमन हैन, सिडियो कार्यालय हो । अध्यागमनले भीसा लिए/नलिएको र कस्तो भीसा भन्ने मात्रै निक्र्योल गर्छ । पुरानो पार्टी र नेताहरूबाट कुनै परिवर्तन नहुने भनी आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरी चुनावमा होमिए । नभन्दै असन्तुष्टिको पराकाष्ठाका कारण कसैले पनि अनुमान नगरेको नतिजा प्राप्त भयो । अब सदनमा जनताको आवाज उठाउनेहरूको स्वर बलियो हुने भयो भन्ने आशामा रहेका मतदातालाई चकित पार्दै र तिनै बृद्ध नेताहरूको ढोका चहार्दै उपप्रधानमन्त्री बन्न सफल भए । त्यति मात्र हैन प्रहरीमा आफूविरुद्ध नागरिकतासम्बन्धी मुद्दा चलिरहेका बेला त्यसैको तालुकदार मन्त्रालयकै जिम्मा नपाए सरकारलाई समर्थनसमेत नगर्ने घुर्की सुनाए । विद्यमान कानुनको आधारमा यो मुद्दामा रवि लामिछानेले जित हासिल गर्ने सम्भावना छैन । त्यसो भएमा फेरि यो सबै दोष नेपालको पुरानो राजनीतिक पार्टीलाई बोकाउने र न्यायालयविरुद्ध ठूलो विग्रह सिर्जना हुने सम्भावना देखिन्छ । त्यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीको बाँकी नेतृत्व कसरी अगाडि बढ्ला त्यसमा अन्य धेरै विषय अन्तर्निहित हुनेछ । 

– सुरेन्द्र श्रेष्ठ
 

टिप्पणीहरू