बालेनले दुःख दिँदा अमेरिकी राजदूत बालुवाटारमा
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले वर्षौंदेखिको निवास छाड्नुभएको छ । लामो समयदेखि अमेरिकी राजदूतले प्रयोग गर्दै आएको कमलादीमोडस्थित निवास यसै साता खाली गराइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको सामुन्ने र पुतलीसडकबाट कमलादीतर्फ मोडिँदा टुकुचा छेउको कमलकुञ्ज अमेरिकी राजदूत बस्ने घरका रुपमा परिचित थियो ।
तर भर्खरै कार्यभार सम्हाल्न आउनुभएका नयाँ राजदूत थम्पसन त्यहाँबाट प्रधानमन्त्रीको सरकारी निवास सामुन्ने सर्नुभएको छ । उहाँ प्रधानमन्त्री निवासको पूर्वी ३ नम्बर गेट नजिकैको घरतिर लाग्नुभएको हो । उक्त घर प्रहरी बिटबाट भित्र छिर्ने बाटोमा पर्दछ ।
पहिले सो घर दूतावासकै इकोनोमिक काउन्सिलर, भीसा कन्सुलर तथा पोलिटिकल काउन्सिलरले विभिन्न समयमा प्रयोग गरेको स्रोतको दाबी छ । राजदूत नयाँ ठाउँमा सर्नुमा धेरैले सुरक्षाको कारण ठानेका छन् । त्यसो त तुलनात्मक रुपमा बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको क्षेत्रलाई सुरक्षित पनि मानिन्छ ।
तर केहीले भने राजदूतले अकस्मात डेरा सर्नुमा काठमाडौं महानगरका मेयर बालेन साह र नजिकैको टुकुचालाई कारण देखाएका छन् । साहले जय नेपालदेखि वरसम्म छोपिएको टुकुचालाई ह्वांगै बनाएको, कमलादीदेखि बागमतीसम्मको भाग फराकिलो पार्ने नाममा डोजरले खोतलेर अलपत्र पारेबाट टुकुचामाथि पर्ने सो घरलाई सुरक्षा खतरा उत्पन्न भएको र पछाडि अर्को आपत्कालीन ढोकासमेत नभएको भनी कतिपयले अर्थ लगाएका छन् । अस्ति आइतबार कमल कुञ्जबाट अन्तिम लट सामान ओसारिएको छ भने नयाँ घर ४–५ रोपनीमा फैलिएको बताइन्छ ।
टिप्पणीहरू