झापाले ४० लाखमा विद्यार्थीलाई साइकल बाड्ने, छोराछोरी लड्ने चिन्ताले स्थानीय असन्तुष्ट

झापाले ४० लाखमा विद्यार्थीलाई साइकल बाड्ने, छोराछोरी लड्ने चिन्ताले स्थानीय असन्तुष्ट

झापाको झापा गाउँपालिकाले विद्यार्थीलाई साइकल वितरण गर्ने भएको छ । त्यहाँका ७० प्रतिशत नागरिक गरिवीको रेखामुनि रहेकाले विद्यार्थीहरुलाई विद्यालय आउन प्रोत्साहित गराउन साइकल दिन लागिएको हो ।  यसअघि पालिकामा सञ्चालित ५ वटा विद्यालयका २ सय ८० छात्राहरूलाई साइकल वितरण गरेको गाउँपालिकाले भोलि थप पाँच विद्यालयका सबै विद्यार्थीलाई साइकल दिन लागेको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले बताए । गाउँपालिकाको अधिकांश भूभाग भारतीय सीमासँग जोडिएकाले विद्यार्थीहरुको सहजताका लागि साइकल बाँड्न लागेको पनि उनले जानकारी दिए । यो गाउँपालिकाभित्रका बासिन्दाहरु गरिब नै छन् । कति त विद्यालय टाढा भएको कारणले पनि आउँन सक्दैनन् ।

कतिपय त साइकल पाउने आशले पनि आउँछन् । त्यसैले हामीले पालिकाबाट बजेट ब्यवस्था गरेर साइकल वितरण गरेका हौं, उनले भने । पालिका प्रमुख जयनारायण साहले २०७५ सालदेखि नै साइकल वितरण गर्न पालिकामा सुझाव दिदैँ आएको बताए । आफ्नो पालिकामा रहेका मधेशी, आदिवासी, मुस्लिम र  जनजातिका बालबच्चाहरू गरिब भएको कारणले पढाई छोड्नुपर्ने अवस्था नआओस् भनेर साइकल वितरण गर्न लागेको उनको भनाई छ । 

विद्यालयमा अपाङ्ग विद्यार्थी भए उनीहरुलाई ह्विल चियरको व्यवस्था गर्ने बताएका अध्यक्ष साहले कोही पनि शिक्षाबाट बञ्चित हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताए ।तर, केही अभिभावक भने साइकल बाँड्ने गाउँपालिकाको निर्णयप्रति असन्तुष्ट देखिएका छन् । वडा नम्बर ४ का राजन साहले साइकल दिने कुराले आफूलाई राम्रो नलागेको बताए । गाउँपालिकाले यहाँका विद्यार्थीलाई साइकल वितरण गरेकोमा तपाइलाई कस्तो लाग्यो त ? भनि राजन साहसँग प्रश्न गर्दा उनले भने, एक हिसाबले त राम्रो पनि हो । तर, मलाई चाहिँ खासै राम्रो लागेन । किनकी मेरो एउटा छोरी पढ्छ । साइकलमा बच्चाहरूको उत्ताउलो हुन्छन् । भोलि लडेर हात भाँचियो भने कसले जिम्मा लिन्छ । हामी गरिब मान्छे उपचार कसरी गर्ने ?

अर्का स्थानीय विरेन्द्र यादवले भने साइकल वितरण गर्न लागेकोमा खुशी हुँदै पालिकालाई धन्यवाद पनि दिए । अहिले युग पहिलेको जस्तो नभएको र सानैदेखि हरेक कुरा सिक्दै जानुपर्ने बताएका उनले भने, पालिकाले राम्रो काम गरिरहेको छ, हामी किनेर दिउँ भने सकिदैन् । अहिले बच्चालाई हरेक कुरा सिकाउँदै लानुपर्छ । नत्र हामी र उनीहरुमा के फरक ? म त खुसि छु कमसेकम साइकल त सिक्न पाए । यता, पालिकाका अध्यक्ष साहले साइकल दिने निर्णयको अभिभावकले विरोध गरेकोमा आफूलाई अचम्म लागेको बताए । यहाँका सबै बालबालिका साइकल चलाउँन पोस्त भएको बताउँदै उनले भने, यहाँ सबैले सहजैसँग साइकल चलाउँन सक्छन् । साइकल दिँदा किन आपत्ति मान्नुभएको हो, थाहा छैन ।

साइकल दिएकै कारण अहिले स्कुल आउने विद्यार्थीको संख्या बढिरहेको अध्यक्ष साहको भनाई छ । उनले सरकारी स्कुलमा विद्यार्थीको आकर्षण बढाउन पनि आफूहरुको निर्णय सही सावित हुने दावी गरे । पालिकाको ४० लाख बजेटमा दोस्रो चरणको साइकल वितरण गरिन लागेको हो । पालिका अध्यक्ष साहले भविष्यमा थप बजेट छुट्याएर अरु विद्यार्थीलाई पनि साइकल बाँड्ने बताए । साइकल वितरण भोलि बिहान १० बजे वडा नम्बर ४ स्थिति डिल्लीराज माध्यमिक विद्यालयबाट शुरु गर्ने तयारी छ ।

टिप्पणीहरू