शेरधन राईको जग्गा प्रकाश तामाङलाई

शेरधन राईको जग्गा प्रकाश तामाङलाई

‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ का पात्र प्रकाश तामाङले पहिलो पटक जग्गाधनीपुर्जा पाएका छन् । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमाले कोशी इन्चार्ज शेरधन राईले तामाङको नाममा ५ रोपनी ३ आना २ पैसा जग्गा हस्तान्तरण गरेका हुन् ।

भोजपुरको षडानन्द– १०, साङपाङको छाप्लेगाउँस्थित तामाङकै घर पुगेर भोजपुरबाट पूर्व सांसदसमेत रहेका राईले जग्गाको पुर्जा हस्तान्तरण गरेका हुन् । लालपुर्जासँगै राईले हाते ट्याक्टर र एक हल गोरु दिएका छन् । प्रकाशले षडानन्द– ८ स्थित ५ रोपनी ३ आना २ पैसा राईको श्रीमती तथा समाजसेवी जाङ्मु इन शेर्पाको नामबाट प्राप्त गरेका हुन् । 

यसअघि १८ भदौ २०८१ मा राईसँगको भेटमा प्रकाशले पूर्वमुख्यमन्त्री राईसँग जग्गा,हाते ट्याक्टर र एक हल गोरु मागेका थिए । २४ दिनपछि राई प्रकाशको माग पुरा गर्न राई भोजपुर पुगे र जग्गा, ट्याक्टर र गोरु हस्तान्तरण गर्दै नमुना कृषक बन्न आग्रह गरे । उनले भने, ‘प्रकाशजीसँग काठमाडौंमा भएको भेटमा उहाँकै मागअनुसार मैले सहयोगको प्रतिबद्धता जनाको थिएँ । म आज बाचा पुरा गर्न तपाईंको घरमा आइपुगेको हुँ । यो जग्गामा राम्रो धान,सुन्तला,रुद्राक्ष र अकबरे खोर्सानी फल्छ । अब तपाईंले नमुना कृषक बनेर विदेशमा रहेका नेपालीहरुलाई गाउँ फर्किनुपर्छ, गाउँमै अथाह सम्भावना छ भन्ने सन्देश दिनुहोला ।’

जग्गा पाएपछि प्रकाशले खुशी व्यक्त गर्दै भने, ‘अब मेरोलागि गरी खाने वातावरण भएको छ । धेरै खुशी छु ।’ यसअघि प्रकाशको परिवार सुकुम्बासी थिए । यो जग्गा प्राप्त गरेसँगै अब जग्गाधनी भएका छन् ।जाङ्मु इन शेर्पाले प्रकाशलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् । 

यसअघि १८ भदौ २०८१ को भेटमा पूर्वमुख्यमन्त्री राईले प्रकाशलाई १ लाख नगद सहयोग गरेका थिए । राईको जग्गा दिने प्रतिबद्धतासँगै यसको खोजीमा षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेम दोर्जी शेर्पालगायत लागेका थिए । 

भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किरातीको नेतृत्वमा उनको घर बनाउने काम भइरहेको छ । त्यही घर नजिकैको जग्गा उनकै रुची अनुसार नेता राईले किनिदिएका हुन् ।

 

परिवारबाट ३५ वर्ष बढी हराएका तामाङले १६ भदौ २०८१ मा घरमै नागरिकताको प्रमाणपत्र पाएका थिए । ‘हेर्ने कथा’ का ‘हराएका वर्षहरू’ शिर्षकको कथा प्रशारण भएपछि उनलाई नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका थिए । 

भोजपुर सरोकार केन्द्रका राजेश राई,श्यामकृष्ण दाहाललगायतका समूहले उनलाई उनलाई गोरखाको चुमनुम्ब्रीबाट भोजपुर लैजान पहल गरेको थियो । उनको नागरिकता बनाउन षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास,प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईं र वडाध्यक्ष प्रेम दोजी शेर्पाले समन्वय गरेका थिए ।  तत्कालीन गृहसचिव एकनारायण अर्यालसँग प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकताबारे कुरा गरेका थिए ।

टिप्पणीहरू