जीतको मुखैमा सर्वोच्चमा ‘धोकाधडी’

जीतको मुखैमा सर्वोच्चमा ‘धोकाधडी’

सर्वोच्च अदालत बार एशोसिएसन कार्यसमितिको गत शनिवार सम्पन्न चुनावमा एकल प्रतिष्पर्धामा उत्रेको कांग्रेसनिकट लोकतन्त्रवादी समूहले अध्यक्षसहित बहुमत सिट जितेको छ । लोकतन्त्रवादी समूहविरुद्ध नेकपा एमाले, माओवादी केन्द्र, विप्लप माओवादी, राजमो, नेकपा एस, मधेशवादी, राप्रपालगायतको महागठबन्धन बनेको थियो । लोकतन्त्रवादी समूहबाट वरिष्ठ अधिवक्ता हरिशंकर निरौला प्रतिष्पर्धामा थिए भने प्रगतिशील समूहबाट माओवादी केन्द्र निकट वरिष्ठ अधिवक्ता तुलसी भट्ट भिडेका थिए । प्रतिस्पर्धामा निरौला १४ मतान्तरसहित अध्यक्षमा निर्वाचित भएका छन् । 

सर्वोच्च बारको १५ सदस्यीय कार्यसमितिमा पूरै जित निकाल्ने वाचासहित प्रतिस्पर्धामा उत्रेको वाम समूह सचिव र कोषाध्यक्षसहित ६ सिटमा खुम्चिन पुगेको छ । कूल ६ सय २१ मतदाता थिए । तीमध्ये प्रगतिशील गठबन्धनतर्फ तीन सय ६० मतदाता रहेको भनेर ढुक्क भइरहेका बेला मत परिणाम अर्कै आएको छ । निर्वाचन समितिका अनुसार ५ सय ७३ मत खसेको थियो । भट्टले कम्तिमा ३५ देखि ४० को वरिपरि बढी मत ल्याएर जित्नेमा वाम पक्षधर कानुनव्यवसायी आशावादी थिए । 

निरौलाले २८९ मत ल्याएर जित निकाल्दा भट्टले २७५ मत मात्र पाए । भट्टको जीत कन्फर्म भन्दै ढुक्क परेका माओवादी निकट कानुनव्यवसायीले अबिरसमेत किनेर ल्याइसकेका थिए । अन्ततः भट्टलाई भनेर ल्याएको अविरले निरौलाको गाला रंगियो । यता उपाध्यक्षमा लोकतान्त्रिक समूहका अधिवक्ता जगदिशचन्द्र पाण्डे विजयी भए । सचिवमा प्रगतिशील समूहका एमालेनिकट श्यामकुमार खत्री विजयी भए । सहसचिवमा लोकतान्त्रिक समूहकी सुजन लोप्चनले जितिन् भने कोषाध्यक्षमा प्रगतिशील समूह (माओवादी विप्लप निकट) कपिलचन्द्र पोखरेल निर्वाचित भए । 

विगतमा जस्तै एमालेले यसपल्ट पनि धोखा दिएको प्रारम्भिक निश्कर्ष माओवादीनिकट कानुन व्यवसायीले निकालेका छन् । खासगरी एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापासहित पूर्वीभेकबाट एमाले निकट कानुन व्यवसायीको १० देखि १५ मत निरौलाको पक्षमा गएको अनुमान गरिएको छ । सचिवमा उठेका एमालेनिकट अधिवक्ता श्यामकुमार खत्री भने तीन सय ६ मतसहित विजयी भए । उनले कांग्रेसनिकट कल्याण पोख्रेललाई ५५ मतान्तरमा पराजित गरे । 

यता, कोषाध्यक्षमा प्रगतिशील समूहका पोखरेलले पनि बालबाल जितेका छन् । उनले दुई सय ७४ मतसहित जित्दा उनका प्रतिस्पर्धी कांग्रेसनिकट रामचन्द्र पौडेल भने तीन मतले मात्र पराजित भएका छन् । सर्वोच्च बार अध्यक्षमा जितेका निरौलाको पुख्र्योली थलो सोलु रहेका कारण एमाले निकट कानुन व्यवसायीमा क्षेत्रीयताको प्रभाव स्पष्ट देखिएको समीक्षा अध्यक्षमा पराजित भट्ट निकट कानुन व्यवसायीले गरेका छन् । सर्वोच्च बार निर्वाचनमा हारको ‘तुष’ नेपाल बारको निर्वाचनमा प्रकट हुने गरेको छ । 
 

टिप्पणीहरू