अनुदानको चपेटामा कचकच
२०७२ सालको भूकम्पमा क्षति भई पुनर्निर्माण गर्नुपर्ने सर्वसाधारणका घर अझै बन्न सकेका छैनन् । अनुदान पाउन नसक्दा पीडितहरूले कचकच गर्न थालेका छन् । अनुदानको चपेटालाई तीन तहकै सरकारले बेवास्ता गरेका छन् ।
पटक–पटक लाभग्राही सूचीमा परेर पनि अनुदान प्राप्त गर्न नसकेका पीडितहरू अझै उजुरी गरिरहेका छन् । सिंहदरबारभित्र रहेको कार्यालयमा लाभग्राहीको गुनासो फस्र्याेट भइरहेको छ । चालु वर्षको ७ महिनामा ५१ जना लाभग्राहीले पुनर्निर्माणको अनुदान प्राप्त गर्ने गरी गुनासो समितिले निर्णय गरेको छ ।
भूकम्पपछिको पुनर्निर्माणका लागि अनुदान वितरण गर्न काभ्रेपलाञ्चोक जिल्लामा भएको कार्यालय बन्द भइसकेको छ । नाम मात्रैको कार्यालय पनि आर्थिक वर्षको अन्त्यमा बन्द भएको छ । आर्थिक वर्षको अन्त्यमा १ सय ५९ जनालाई पहिलो किस्ता भुक्तानी गरिएको थियो । उनीहरूले दोस्रो किस्ता अझै प्राप्त गर्न सकेका छैनन् ।
३ सय १३ जनालाई दोश्रो किस्ता भुक्तानी गरिएको थियो । अहिले तेश्रो किस्ताका लागि पर्खिरहेका छन् । यसमा रेट्रोफिट गर्नेहरू पनि छन् । अझै सम्झौता नभएका थुप्रै लाभग्राही अनुदानबाट वञ्चित छन् । आर्थिक वर्षको अन्त्यमा लाभग्राहीलाई १६ करोड भुक्तानी गरिएको थियो । काभ्रेमा भूकम्प पीडित झण्डै ९० हजार लाभग्राहीमध्ये ६५ हजारले भुक्तानी लिएका छन् ।
जिल्लामा अझै लाभग्राहीले अनुदान नपाएको भन्दै गुनासो बोकेर स्थानीय सरकारमा जाने गरेका छन् । तर, स्थानीय सरकारका प्रतिनिधिले भूकम्प पीडितबारे गुनासो सुन्न चाहेका छैनन् । अहिले जिल्लामा कार्यालय नभए पनि राजधानी काठमाडौँमा सघन शहरी तथा भवन निर्माण आयोजनाले भुक्तानी तथा भूकम्प पीडितका फाइल अध्ययन गरिरहेको छ ।
सरकारले किस्ता दिने निर्णय नगरेका कारण थप रकम पठाउन नसकिएको कार्यालय प्रमुख गणेशबहादुर कर्माचार्यले जानकारी दिनुभयो । भूकम्पपछिको पुनर्निर्माणमा विद्यालय, स्वास्थ्य चौकी तथा अन्य संरचना निर्माण भएका छन् । काभ्रेमा केही विद्यालय निर्माण भइरहेका छन् ।
– मोतीराम तिमल्सिना
टिप्पणीहरू