त्यो जहाज दुर्घटनाबाट यसरी बच्यो

त्यो जहाज दुर्घटनाबाट यसरी बच्यो

-भक्त थापा (हाल कतार)

सन २००५ जुलाईतिरको घटना हो । त्यतिखेर कस्मिक एयरलायन्समा प्राविधिकको रुपमा काम गर्थेँ । मर्निङ सिफ्टमा ड्युटी हुन्थ्यो । त्यसैले दिउँसोबारे खासै चासो हुँदैनथ्यो । 

त्यतिखेरकै कुरा हो, दिउँसोतिर कस्मिक एयरको फोकर १०० विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्जको राँझा विमानस्थलमा नियमित उडान भर्ने तरखरमा थियो । 

जहाजलाई एटिसी (एयर ट्राफिक कन्ट्रोलर) ले रनवे ०२ सेना अप्रोच (कोटेश्वर) बाट ’टेकअफ’ क्लियरेन्स दियो । विमानलाई टोभारले ट्याक्सी वेबाट रनवेसम्म धकेलेर छोडेपछि दक्षिणतर्फ स्लो मोसनमा अगाडि बढ्यो । 

विमान अन्तिम छेउ पुगेर युटर्न गर्दै सोझिने बेला दायाँ ल्याण्डिङ्ग गियरपट्टीको एउटा चक्का फुत्किएर बाहिर निस्कियो । पाइलटले अन्तिमपल्ट एटिसीसंग टेकअफको लागि अनुमति मागिसकेका थिए । 

तर,एटिसीले क्लियरेन्स दिने प्रक्रियाकै बीच विमानस्थलमा सुरक्षाका लागि तैनाथ एक सैनिकले चक्का निस्किएको देखे । ती सैनिक आफूले भिरेको बन्दुकसहित विमानतर्फ दगुर्दै गए । विमान भीआई स्पिडका लागि फाइनलमा थियो । 

सैनिकले तल आत्तिएर हात हल्लाउँदै रोक्न संकेत दिएको देखेर पाइलटले एटिसीलाई खबर गरे । पाइलट दुवै इण्डोनेसियन थिए । पाइलटले बायाँतिरको झ्याल खोलेर हेरे । सैनिकले विमानको तल्लो भागमा खराबी उत्पन्न भएको संकेत गरेपछि विमान त्यहीँ रोकियो । 

एटिसीले विमानमा समस्या भएको जानकारी गराएपछि कस्मिक एयरको ईन्जिनियरिङ्ग टिमले तुरुन्त रनवे पुगेर चक्का फिट गर्यो र पार्किङ्गमा ल्याइयो । यो घटनाको कारण झण्डै डेढ 

घण्टा घरेलु तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको थियो । भएको के थियो भने चक्का फेर्ने क्रममा नटबोल्ट जस्ट इङ्गेज मात्रै गरियो । नट बोल्ट टाइट गरेर लक नगरिएको हुँदा चक्का बीचमै निस्किएको थियो । 

घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुवै पाइलट र ग्राउण्ड ईन्जिनियर अबुकार (इण्डोनेसियन नागरिक) लाई सस्पेण्ड गर्यो भने विमान ग्राउण्डेड भयो । त्यसपछि के भयो मलाई जानकारी छैन किनकि म विदेशतिर लागिसकेको थिएँ ।

टिप्पणीहरू