हिमालय एअरलाइन्सले बेइजिङमा नियमित उडान थाल्यो

हिमालय एअरलाइन्सले बेइजिङमा नियमित उडान थाल्यो

नेपाल र चीनको संयुक्त लगानीमा खुलेको हिमालय एयरलायन्सले चीनको राजधानी बेइजिङमा नियमित उडान थालेको छ । कोरोना महामारीका कारण रोकिएको काठमाडौं–बेइजिङ उडान अस्तिदेखि पुनः सुचारु भएको छ ।

चीनले कोभिड १९ का कारण लगाएको विदेशी उडानमाथिको प्रतिबिन्ध हटाएपछि अस्तिदेखि उडान पुनः सुचारु भएको हो । हिमालय एयरलायन्सले आगामी फेब्रुअरीबाट साप्ताहिक रुपमा बेइजिङको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलसँग काठमाडौंलाई पुनः जोड्ने योजना बनाएको छ । 

एयरलायन्सको पहिलो उडान, एचनाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार अस्ति बिहान १० बजेर ४१ मीनेटमा प्रस्थान गरेको थियो । विमान बेइजिङ समयअनुसार बेलुकी ५ बजेर ४ मीनेटमा अवतरण गरेको हो । 

उडान अवधि ३ घण्टा ४८ मीनेट रहेको कम्पनीले जनाएको छ । बेइजिङबाट फर्कने उडान एच नाइन ६६६ स्थानीय समयअनुसार बेलुकीको ६ बजेर ५ मीनेटको थियो । उक्त उडान राति ९ बजेर ५६ मीनेटमा काठमाडौंमा अवतरण भएको हो । 

चिनियाँ नयाँ वर्षको बिदाको सिजन नजिकिँदै गर्दा चीन र नेपालका राजधानीबीच सीधा उडान पुनःसञ्चालन गर्न हिमालय उत्सुक रहेको कम्पनीका भाइस प्रेसिडेण्ट विजय श्रेष्ठले जानकारी दिएका छन् । 

‘हामी चीनबाट नेपाल आउने यात्रुहरुलाई अझ बढी सेवा प्रदान गर्ने र त्यसको साथै पर्यटन र व्यापारमा टेवा पुर्याउने कुरामा आशावादी छौं’, उनले भने, ‘यो कनेक्टिभिटी पुनः स्थापना गर्न पाँउदा धेरै खुशी छौं र बढ्दो फ्रिक्वेन्सीको साथ हाम्रा यात्रुहरुलाई सेवा प्रदान गर्न तत्पर छौं ।’

सोझो दुईतर्फी यात्राका कारण यात्रुलाई २ घण्टा उडान समय बचत भएको जनाइएको छ । हिमालय एयरलायन्स ट्रान्स हिमालयन रुटबाट ल्हासा हुँदै नेपाललाई उत्तरी चीनसँग सीधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनीसमेत हो ।

टिप्पणीहरू