आकर्षक अड्डामा कर्मचारीको रुची, बिचौलियाको बिगबिगी

आकर्षक अड्डामा कर्मचारीको रुची, बिचौलियाको बिगबिगी

अन्य केही मन्त्रालय, विभाग, महाशाखाझै उद्योग विभाग पनि निजामती कर्मचारीहरुबीच आकर्षक कार्यालयको श्रेणीमा पर्छन । महाशाखामा तलका हाकिमले फाइल अगाडि बढाउन नमान्ने तर माथिकाले दबाब बढाउँदै फाइल अघि बढाउनुस् भन्न थालेपछि उद्योग विभाग केही महिनादेखि अस्तव्यस्त बनेको बताइन्छ । 

हालै भएको एक जना निर्देशकको सरुवालाई जोडेर उक्त चर्चा भएको हो । कतिपयले महानिर्देशक रामचन्द्र तिवारीको अनावश्यक दबाबका कारण निर्देशक भक्तराज जोशी मन्त्रालयतिर हानिएको भन्ने व्याख्या समेत गरेका छन् । 

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा उनको बेग्लै रवाफ भएको बताइन्छ । त्यसैले हाकिमले भनेको नमानेपछि भक्तराज त्यहाँबाट फालिएको भन्ने अर्थ लगाइएको हो । फाइल अघि बढाउने र नबढाउने भन्ने विषयमा महानिर्देशक र निर्देशकबीच नियमित गलफत्ती परेको सम्बन्धमा कर्मचारीहरुले पनि ‘हो’ भनेका छन् ।

अहिले भक्तराजको ठाउँमा घनश्याम न्यौपानेलाई ल्याइएको । त्यसपछि भक्तराजले आफ्नो टेबुलमा रहेको सामान त परै जाओस् उनले वरको सिन्को परसम्म पनि नसारेपछि सुदूरपश्चिमका तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुलाई महानिर्देशकसँगको रुखो संवाद सुनाइएपछि मन्त्रालयमा हाजिर गराइएको स्रोतको दाबी छ ।

त्यतिबेला बालुवाटारको आर्शिवाद प्राप्त भनिएका कम्प्युटर अधिकृत यमप्रसाद तिवारीको पहुँच अघिल्तिर मन्त्री पनि छक्क परेको किस्सा अहिले पनि विभागमा सुनाइन्छ । मन्त्री पनि चुनावअघि क्रसर उद्योग तथा मदिरा कम्पनीको क्षमता अभिवृद्धिलगायतका आकर्षक विषयमा मात्र सीमित हुनुपर्ने बाध्यता अर्कोतिर थियो ।

त्यसअघि लामो समय मन्त्री नहुँदा विभागमा मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेललगायतले रजगज चलाउँदा एकथरी कर्मचारीको हात तालुमा र अर्काथरी ठालुझैँ भएका हुन् । तत्कालीन उद्योगमन्त्रीहरु लेखराज भट्ट, चोलेन्द्र समशेर जबराका सम्धी गजेन्द्र हमालदेखि बडुसम्म आइपुग्दा उनीहरुले मनोमानी गरेका हुन् । 

माथिको आदेश, माथिसम्म भन्ने प्रचलन रामचन्द्रकै पालामा अगाडि बढेको कर्मचारीहरु बताउँछन् । सुब्बा राजन खड्कालाई अनुमति महाशाखामा राखेका पनि धेरैले ‘दालमा कालो’ हुनसक्नेतर्फ संकेत गरेका छन् । यसअघि रामचन्द्र अध्यागमन विभागमा हुँदा त्यहिँ रहेका राजनले कतिपय विदेशीलाई पर्यटन भीसा तथा बिजनेस भीसा उपलब्ध गराउने कार्यमा ‘मार्ग प्रशस्त’ गरेको आरोप लागेको थियो ।

त्यसपछि रामचन्द्रसँगै उनलाई पनि उद्योगमा ल्याइयो । केही महिनाअघि मात्रै उदयपुरका थापा थरका एक जना विद्युत प्राधिकरणका उच्च तहबाट अवकाश पाएका र चिनियाँहरुको जलविद्युत परियोजनामा काम गर्ने समन्वयकर्तासँग पनि राजनको नाम मुछिएको थियो । 

यतिखेर कर्मचारी संघ संगठनका कर्मचारीका लागि पनि उद्योग विभाग मालदार अड्डा भएको छ । विभागको क्षमता अभिवृद्धि र प्रविधि हस्तान्तरण महाशाखामा राखिएका कर्मचारीको हालिमुहालीले त्यहि बताउने गरेको अन्य संघ संगठनका कर्मचारीको आरोप छ ।

त्यहाँ पूर्वकर्मचारी तथा उक्त खेलोमेलोमा रमाउने कालो कोटधारीले ‘डिल’ गर्ने गरेका छन् । जनआस्था प्रतिनिधिले गरेको पछिल्लो स्थलगत अध्ययनबाट पनि सेवाग्राहीले ‘हुन्छ’ नभनेसम्म कर्मचारीले फाइलमा एउटा न एउटा खोट फेला पार्ने गरेको देखिन आएको हो ।

यस्तो अवस्थामा नियुक्त भएका नयाँ मन्त्री दामोदर भण्डारीले गर्ने विभागीय सुधारतर्फ सबैको ध्यान गएको छ । तर, त्यसको परिणाम कहिले देखिन्छ, त्यो हेर्न केही समय कुर्नैपर्ने हुन्छ ।

टिप्पणीहरू