पृथ्वीनारायणले मधेशी र नेवारलाई दिएको पीडा
– मनोजकुमार कर्ण
पुस २७ गते राजा पृथ्वीनारायण शाहको ३०१औंं जन्मजयन्ती सरकारीस्तरमै मनाइयो र बिदा पनि दिइयो । राजा भइसकेकालाई म मान्दिन वा हटाउँछु भन्न मिल्दैन तर कसैको क्रियाकलापलाई सन्तुलित र वैज्ञानिक रूपमा चर्चा गर्न वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रवाला संविधानको पाना पल्टाउनुपर्ने हुन्छ । साथै, एकीकरण गर्दा नेवार, मधेशी, तामाङ, शेर्पा आदि समुदायमाथि जुन व्यवहार भयो, ती समुदायका दृष्टिकोण पनि सुन्नुपर्छ । तर, ती समुदायको आलोचनाले पुष्टि गर्दैछ कि कहीँ साँच्चिकै पृथ्वीनारायण शाह असहिष्णु त थिएनन् ?
अवश्य पनि मधेशीको मन मस्तिष्कमा पृथ्वीनारायण शाहका लागि कुनै ठाउँ छैन । वर्तमान संविधानविरुद्ध गएर नयाँ मधेश जन्माउँछु भन्दा जेल परेका डा. सीके राउतहरू अहिले राप्रपा, एमाले, रास्वपाहरूसँगै सत्ता अलायन्समा छन् । केशवराज देवकोटाका पुस्तक ‘अग्निज्वालामा दरबार’, पृष्ठ १३ र अनि तत्कालीन राजा वीरेन्द्रको २०५४ सालमा भएको गद्दी आरोहणसम्बन्धी सन्दर्भमा ‘गोरखापत्र’ को विशेषांक पढ्दा प्रष्ट हुन्छ । करिब ५०० वर्षअघि भारतको चित्तौडगढबाट भागेर आएका ‘सिसौदिया राजपुत’हरू कुन धर्म वा जातका हुन्, आफैं प्रष्ट हुनेछ :
१) कुलमण्डन खाँ (चित्तौडगढबाट नेपाल पसेका)
२) यशोब्रम्ह शाह (कुलमण्डनका छोरा, खाँबाट शाहमा परिणत), लमजुङ्गमा राजाको पद खाली भनेर घले राज्य खोसी आफू राजा भएका,
३) द्रव्य शाह (यशोब्रम्हका द्रव्य र नरहरि गरी २ छोरामध्ये द्रव्यले गोर्खाली ‘खड्का’ थरका राजाको हत्या आफ्नो स्वतन्त्र राज्य खडा गरेका थिए)
५) छत्र शाह (सन् १६०५–१६०६)
६) डम्बर शाह (सन् १६३३–१६४५)
७) कृष्ण शाह (सन् १६४५–१६६१)
८) रूद्र शाह (सन् १६६१–१६७३)
९) पृथ्वीपति शाह (सन् १६७३–१७१६)
१०) नरभूपाल शाह (सन् १७१६–१७४२)
११) पृथ्वीनारायण शाह (सन् १७४२–१७६०)
१२) पृथ्वीनारायण शाह (सन् १७६८–१७७५), एकीकरणपछि फेरि राजा भएर नामको अगाडि “श्री ५“ थपेका,
१३) श्री ५ सिंहप्रताप÷प्रतापसिंह शाह (सन् १७७५–१७७७)
१४) श्री ५ रणबहादुर शाह (सन् १७७७–१७९९), यिनले नै तिरहुते विधुवा ब्राम्हणी ‘त्रिपुरा देवी’ मधेधीसँग, भारतको वैद्यनाथधाम जाँदा राति नदी किनारमा वास बसेको बेला राँटी मगरौनी गाउँ, बिहारका नारायणत्त मिश्र–कुमशालनी दम्पत्तिकी छोरी र ईश्वरीदत्त मिश्रकी बहिनीसँग, विवाह गरेका थिए । उनै त्रिपुरा र रणबहादुरका ज्येष्ठ पुत्र गीर्वाणयुद्ध पछि राजा भए ।
१५) श्री ५ गीर्वाणयुद्धविक्रम शाह (सन् १७९९ मार्च ८ शुक्रवार– सन् १८१६), यिनी पहाडी रणबहादुर र मधेधी त्रिपुराको ‘क्रस’ छोरा रहेकाले नाममा ‘विक्रम’ शब्द थपेका थिए भने बुवाले ‘विधुवा ब्राम्हणी’सँग विवाह गरेको कारण दुई सानी आमाको बिहे नभई राखेको विषम परिस्थितिमा दरबारमै मिथिलाबाट १०१ ब्राम्हण बर (दुलाहा) झिकाई बिहे गरिदिएका थिए र थुप्रै जमीन, जायदाद दाइजो दिएका थिए, ती सबैबाट पछि राणाहरू र राजा महेन्द्रले खोसेर लिए ।
१६) श्री ५ राजेन्द्रविक्रम शाह (सन् १८१६–१८७४)
१७) श्री ५ सुरेन्द्रविक्रम शाह (सन् १८७४–१८८१)
१८) श्री ५ पृथ्वीवीरविक्रम शाह (सन् १८८१–१९११)
१९) श्री ५ त्रिभुवनवीरविक्रम शाह (सन् १९११–१९५४), नाममा ‘वीर’ शब्द फेरि थपियो
२०) श्री ५ महेन्द्रवीरविक्रम शाह (सन् १९५४–१९७२) ले कट्टर मधेशविरोधी राजा हुनुको नाताले हनुमानढोका दरबारनेर राजा गीर्वाणयुद्धको आमापट्टीकी हजुरआमाको नाममा रहेको मधेशी निशान ‘कुमशालनी भवन’ भत्काउनेलगायत महारानी त्रिपुरा देवीका २ बहिनी ज्वाईंहरूले राजा गीर्वाणयुद्धबाट विवाहमा पाएका सबै जमीन त्रिपुरेश्वर, कीर्तिपुर (हाल त्रिभुवन विश्वविद्यालय रहेको सम्पूर्ण क्षेत्र आदि), गोकर्णेश्वर महादेवको सम्पत्तिलगायत खोसेका थिए,
२१) श्री ५ वीरेन्द्रवीरविक्रम शाह (सन् १९७२–२००१), जसको सपरिवार शंकास्पद हत्या भएको थियो
२२) श्री ५ दिपेन्द्रवीरविक्रम शाह (सन् २००१–२००१), छाउनी सैनिक अस्पतालमा मरेकै अवस्थामा टेक्निकल्ली ‘खेलाडीहरूले’ राजा बनाइदिएका
२३) श्री ५ ज्ञानेन्द्रवीरविक्रम शाह (सन् २००१–गणतन्त्र घोषणा हुँदा नारायणहिटी दरबारबाट बाहिरिनुपरेका) ।
मैंले जान्न खोजेका केही कुरा :
क) यदि ‘शाह’हरू हिन्दू राजा नै हुन् भने ‘खाँ’ कुन हिन्दूले विश्वमा लेख्छन् ? आफूलाई विष्णु भगवानको अवतार दाबी गर्नेलाई चुनौती हुने गरी नारायणहिटी दरबारअगाडि त्रिचन्द्र क्याम्पससँगै मुसलमानको कश्मिरी जामा मस्जिद कसरी ठड्याइयो ? ‘खाँ’ चाहिँ मुस्लिमले लेख्छन् र कुलमण्डन ‘खाँ’ नेपालमा आएका थिए, जो कुनै ‘शाह’ होइनन् !
ख) इतिहास शिरोमणि बाबुराम आचार्यका सुपुत्र श्रीकृष्ण आचार्यले बुवाको पाण्डुलिपी भन्दै निकालेको ‘नेपालको प्राचीनकालिन इतिहास’ किताबमा लेखेका छन्– कसरी राजा पृथ्वीनारायण शाहको तिरहुते मकवानपुर पाल्पा वा कीर्तिपुरका मान्छे चाडपर्व मनाइरहँदा वा वार्ताका लागि बोलाएर अचानक काटमार, बलात्कार, लुटमार्फत अरूको राज्य खोसे ! के यस्तालाई श्रद्धाले मधेशी, कीर्तिपुरे वा अन्य पीडितले मान्न सक्छन् ?
ग) पृथ्वीनारायण शाहका ‘दिव्योपदेश वा, अर्ती’ भनेर पूजा गर्नेहरूले उनको सेना, पुलिससम्बन्धी धारणा पनि पढ्नुस् ः ‘सेना (सिपाही) भनेका राजाका साला हुन् ...“ महाराजगञ्ज प्रहरी तालिम केन्द्र परिसरमा म आफैंले केही वर्ष अघिसम्म सगर्व पुलिसहरूले पानीखाने ठाउँमा लेखेर झुण्ड्याएको पढेको हुँ !
एउटा सीके राउत संसदमै छन् भने नजाने कति अन्य सीके, रेशम, ज्वाला सिंह, जयकृष्ण गोइतहरू जन्मेलान् तसर्थ, सरकार हाँक्ने दल र नेताहरूले संविधान जोगाउनै पर्छ र २१औं शताब्दीमा जनताले रसबरी (गणतन्त्र) खाइसकेको परिप्रेक्ष्यमा जेरी (राजतन्त्रात्मक पञ्चायत) खुवाउनु भनेको देशमा जानीबुझी रक्तपात निम्त्याउनु हो ।
(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका)
टिप्पणीहरू