विमान दुर्घटनाले सिकाएको पाठ, संवेदना किन हराएको हामीमा ?

विमान दुर्घटनाले सिकाएको पाठ, संवेदना किन हराएको हामीमा ?

रोम शहर जलिरहेको थियो, सम्राट नीरो बाँसुरी बजाएर आनन्दमग्न थिए । संवेदनाहीन यो पलको बारेमा नीरो अहिलेसम्म बदनाम छन् । अहिले एउटा होइन हजारौं नीरो देखिएका छन् । यति एयरलाइन्सको विमान जलिरहेछ, धुकधुकी चलेका र  यात्रुहरुको आर्तनाद आइरहेको छ । धुकधुकी बाँकी भएका मान्छेहरु होश गुमाएर जल्दै गइरहेका छन् । यस्तो भयावह र विभत्स दृश्य देख्दा पनि मान्छेको मन पग्लेन । मोबाइल तेर्साएर, भिडियो खिचेर फेसबुक, टिकटक, युट्युबलगायतका सामाजिक सञ्जालमा पोस्ट गर्ने ध्याउन्नमा देखिए । यस्तो लाग्छ, नीरोमात्र त बदनाम भएका रहेछन् । नीरोभन्दा पनि गए गुज्रेका, मानवीय समवेदना हराएका मान्छे बित्थामा हामीसँगै रहेछन् । व्यर्थमा हामी पनि नीरोको बदमान गर्न अघि सर्दै रहेछौं । दुर्घटनास्थलमा सयौं मान्छेको भीड देखिन्छ । तर त्यो भीडमा धेरैजना राहतको काम छाडेर मोबाइल ठाडो पार्दै भिडियो व फोटो खिच्न तल्लिन देखिन्छन् ।

र, उनीहरु त्यसैलाई लाइभ गरेर भ्यूज बढाउने र मनिटाइज गर्ने वा पैसा कमाउनेतिर अग्रसर भएका देखिन्छन् । एक बाल्टी वा गाग्री पानी बोकेर आगो निभाउने प्रयास बाहिरबाट रमिता हेर्न त्यहाँ पुगेका सचेत युवाले गरेनन् । आगोमा पोलिँदै, पानी पानी भनेर मुख बाइरहेका कसैलाई पनि निकाल्ने प्रयास गरेको भिडियो फुटेज वा फोटो देखिएन एक जना बाहेक । ती साहसी युवक भन्दै थिए– ‘भिडियो खिच्न भन्दा सघाउन, मान्छे बचाउन आएनन् ।’ तर उनको आर्तनाद मोबाइल तेर्साएर अरुको करुण र विभत्स अन्तिम क्षणलाई आपूm पपुलर हुने अवसर ठान्ने, अरुको दुःख भजाएर धनी हुन खोज्नेहरु कसैले सुनेनन् । बरु मानवीयतालाई उपेक्षा गर्दै लाइभ गर्न व्यस्त भए । सबै दृश्य ह्रदयविदारक छन् । यसो गरेर संवदेना हराएका मोबाइलधारीहरुले कति भ्यूज बढाए ? कति मनिटाइज गरे ? त्यो त थाहा भएन । एउटा कुरा भने सावित भयो –हाम्रो समाजमा मानवीय संवेदना हराउँदै गएको छ । नीरो होइन नीरोका बाबु बाजेहरु जिउँदै छन्, जसलाई आफ्नो बाहेक अरु कसैको मतलब छैन । तर यस्ता नीरोमाथि नैं यस्तो भयो भने यिनीहरु के गर्दा हुन् भन्ने प्रश्नले भने चिमोटि रहने छ ।

पत्रकारितामा आगो लागेको देखियो भने निभाउन तम्सिने होइन–दमकललाई बोलाउन सन्देश प्रवाह गर्ने र समुन्द्रमा डुब्दै गरेको मान्छेको उद्धार होइन भिडियो खिच्ने प्रवृत्ति जहिले पनि बहसमा आएको हुन्छ । सिद्धान्ततः मानवीय संवदेनालाई नैं प्राथमिकता दिनु पर्ने अर्थात् सन्देशवाहक बन्ने र आगो निभाउन पनि सक्दो प्रयास गर्ने, डुब्दै गरेकालाई बचाउन पहिलो प्रयास हुनु पर्ने कुरामा सहमति देखिएको छ । पेशाको नाममा मानवीय संवेदनालाई तिलाञ्जलि दिनु कुनै पनि तर्कका आधारमा असल होइन र यसलाई मानवोचित कर्म पनि मानिन्न । अहिलेको पत्रकारिताले त्यस्ता फोटोहरु जो विभत्स र ह्रदयविदारक छन्, लाई सकेसम्म प्रयोगमा नल्याउने आचारसंहिता नैं बनाएको छ । किनभने यसले अन्य पाठक, दर्शक, श्रोता सबैको मन विचलित गर्न सक्छ । तर ७२ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा यस्ता तस्वीरहरु खिचिए । भिडियोहरु सामाजिक सञ्जालको माध्यमद्वारा संवदेनाहीन हुँदै प्रसारित भए । हुँदाहुँदा विकृत मनस्थिति भएकाहरुले सोही घटनासँग मिल्दाजुल्दा अरु दुर्घटनाका भिडियो फुटेजहरु हालेर भ्यूअर्स बढाए । शेयरको नम्बर चढाए । यसले हाम्रो सोच र समवेदनाको स्तर पशुको श्रेणीमा उक्लिँदैं गएको प्रमाणित गरेको छ ।

यो दुर्घटनाबाट नेपालीहरुको वीर अनि दयालु स्वभावमा ३६० डिग्रीको परिवर्तन आएको अनुभव गर्न सकिन्छ । यो विमान दुर्घटनाले हामी अन्तर्राष्ट्रियस्तरमा बदनाम भएका छौं । र, यो बदनामीमा थाहै नपाइकन यस्ता मोबाइलधारीहरुको हात रहेको छ, जो अरुको पीडामा रमाउने गर्छन्, जसले मानवीय संवेदना गुमाएका छन् । मान्छेका मन विचलित गर्ने कन्टेन्ट सामाजिक सञ्जालमा राखेर धन कमाउनेहरुविरुद्ध राज्यको ध्यान जानु आवश्यक छ । सरकार आफैं लाचार र भ्रष्ट भएपछि यस्ता दुर्घटनाहरु हुने र  दोहोरिने गर्छन् । र, शोक विदाको नाटक गर्छन् । सरकारका नीतिहरु नसच्चिने र इमान्दारिताका साथ लागू नगर्ने अनि मानवीय गल्ती अथवा प्राविधिक त्रुटि भन्दै जिम्मेवारीबाट पन्छिने चलन छ । यस्तो प्रवृत्तिविरुद्ध यी संवदेनाहीन भएका फेसबुक, युट्युबर, टिकटकलगायतका सामाजिक सञ्जाल प्रयोग गर्नेहरु उत्रिए सुधारको निम्ति सरकारलाई सकारात्मक दवाव पर्न सक्थ्यो । तर संवेदना हराएका मान्छेहरु अरुको दुःख, सन्तापमा रमाउने काममैं आनन्द लिइरहेको देखिन्छ । यसले भन्न कर लाग्छ, संवेदना हराउँदै गएको छ । हाम्रालागि आउँदो भविष्य सुखद छैन ।

टिप्पणीहरू