मान्यलाई जेल बस्दाभन्दा फरार हुँदा फाइदा

मान्यलाई जेल बस्दाभन्दा फरार हुँदा फाइदा

धानको भाउ कुन्यु हेरेपछि चाल पाउने उखानलाई गृहमन्त्री रवि लामिछानेले चरितार्थ गरेका छन् । लामिछानेसँगै बसेर सशस्त्र प्रहरीको हत्या अभियोगमा फरार अभियुक्त लक्ष्मी महतो कोइरीले सरकारलाई विश्वासको मत दिएपछि यो उखान मिल्न पुगेको हो । लामिछाने गृहमन्त्री भएयता अपराधीहरुलाई खोजी खोजी कार्वाही गर्छु भन्दै आएका थिए ।

तर उनी अन्तर्गतकै सशस्त्र र जनपथ प्रहरीको चार वटा सुरक्षा घेरा छल्दै कोइरीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको रविसमेत सम्मिलित सरकारलाई विश्वासको मत दिएका हुन् । संसद भित्र बाहिरी सुरक्षा घेरामा सशस्त्र र जनपथ प्रहरी तथा भित्र मर्यादापालकका रुपमा डिएसपीको कमाण्डमा १ सय ३० भन्दा बढी प्रहरी तैनाथ छन् ।

सांसद कोइरीविरुद्ध २०७२ साल भदौ २५ गते मधेस आन्दोलनको बेला घाइते भएका सशस्त्र प्रहरीका असई थमन बिकलाई उपचारको निम्ति जनकपुर लैजाने क्रममा बाटैमा एम्बुलेन्सबाट थुतेर हत्या गरेको आरोप छ । जिल्ला अदालत धनुषाले ३ वर्षअघि एक लाख धरौटीमा छोड्न आदेश दिए पनि उच्च अदालत जनकपुरले पुनः पक्राउ गर्न आदेश दिएको थियो । यो आदेशपछि फरार भएका थिए ।

यही अवस्थामा एमालेबाट सांसदको टिकट पाए र २३ हजार ४०२ मत ल्याएर महोत्तरी १ बाट विजयी हुन पुगे । प्रहरीले चाहँदा कोइरी जुनसुकै बेला पक्राउ पर्न सक्छन् । तर गृहमन्त्री लामिछानेसँगै सरकारलाई मत दिन उपस्थित हुँदा पनि पक्राउ नपर्नु आश्चर्यको विषय बनेको छ । 

उता, मंसिर ४ गते कोइरीसँगै निर्वाचित भएका र भ्रष्टचारको अभियोग लागेका नेपाली काँग्रेसका सांसद टेकबहादुर गुरुङ भने निलम्बनमा छन् । यसले राजनीतिमा लागेका अभियुक्तहरु जेल बस्दाभन्दा फरार हुँदा निकै फाइदा हुने अवस्था देखिएको छ । किनभने सेटिङ मिलाएर पक्राउ पर्नबाट जोगिन सक्ने उदाहरण सांसद कोइरीले देखाएका छन् । फरार हुने मान्छेले जतासुकै, जोसँग पनि भेटघाट गर्न सक्छ, संसदमा गएर शपथ खान र मतदान गर्न पनि सक्छ ।

तर जेलमा भएका रेशम चौधरी र मोहम्मद आफताव आलमले भने एक कल भित्रबाट फोन गर्दा पनि महाभारत मच्चिन्छ । 

टिप्पणीहरू