गोली हान्छु भन्ने अध्यक्षलाई खै पक्रेको ?
गोलीकाण्डमा मुछिएका म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जा मगर कैद सजाय नकाटिकनै छुटेका छन् । दुई महिने कैद सजायँ तोकिएका उनलाई जिल्ला अदालत म्याग्दीका न्यायाधीश कृष्णप्रसाद नेपालले ६० दिनको जरिवाना लिएर फुकुवा गरेका हुन् । न्यायाधीशले ६० दिनको दैनिक तीन सय रूपैयाँका दरले १८ हजार लिएर कैद सजाय भुक्तान नगरिकन स्वतन्त्र छोडिदिएपछि गाउँका नागरिक अगुवाहरूले विरोध जनाएका छन् । सजायँ काट्नुपर्ने व्यक्ति सहजै कार्यालय आउने र जाने काम गरिरहेका छन् ।
घटना के थियो ?
कोरोना महामारीको प्रकोप चलिरहेको बेला मगरले सामाजिक सञ्जालमा स्टाटस लेख्दै तत्कालीन गापा अध्यक्ष दिपक कार्की बिखर्चीलाई बुलेट दिने बचन दिएका थिए । उनले घुमाउरो भाषामा गोली हान्छु भनेर धम्काएको अध्यक्ष बिखर्चीको भनाइ छ । उनले लेखेका छन्, ‘नेकपाका गापा अध्यक्ष दिपक कार्की बिखर्ची मित्रले झैं सामाजिक सञ्जालमा आगो बाल्नु छ । कसैले हिम्मत बोकी निभाउँछु भनेर आउँछ भने एउटा मात्र बुलेट छ, त्यही उपहार दिएर पठाउँछु ।’बुलेट भनेपछि प्रहरीले शंका लागेर उनको घरमा छापा मा¥यो । यता, गाउँपालिका अध्यक्ष बिखर्चीले पनि जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा निवेदन दर्ता गराए । निवेदनमा भनिएको छ,‘मनकुमार शेरपुञ्जा हातहतियार खेलाउने, गोली गठ्ठा बारुद बनाउने तथा संकलन गरी राख्ने भन्ने स्थानीयबाट बुझिन आएकोले कानुनबमोजिम कारबाही गरिपाऊँ ।’
खानतलासीका क्रममा प्रहरीले उनको घरबाट एक थान एली एल्पाम्याक्स लेखिएको जंगी राउण्ड बुलेट बरामद गरेको थियो । प्रहरीले गोली भेट्टाएको थाहा पाएपछि उनी एकाएक बेपत्ता भए । ०७६ चैत ३० गते बिहान घरबाट गोली बरामद भएको हो । तत्पश्चात् तत्कालीन प्रहरी नायब उपरीक्षक प्रेमजंग कुँवरले उनीविरुद्ध इजाजतपत्र प्राप्त नगरी खरखजानाको कारोबार अर्थात घरमा सञ्चय वा संकलन गर्नेसमेतको कार्य गरेको भनी मुलुकी देवानीसंहिता २०७४ को दफा १३० (२) बमोजिम सजायको माग र गोली बरामद गरी पाऊँ भन्दै म्याग्दी जिल्ला अदालतमा प्रतिवेदन पेश गरे । तर, अदालतले उनलाई ११ दिनमै दुई लाख ५० हजार रूपैयाँ धरौटी तिराएर रिहाई ग¥यो । धरौटीमा छुटेका उनलाई अदालतले पनि सफाइ दियो ।
जबकि ल्याब टेष्टमा समेत गोली भनेर प्रमाणित भएको तथ्य अदालतमा पेश गरिएको थियो । फौजदारी अभियोग भएकाले सरकारी वकिलले उच्च अदालत, बागलुङमा पुनरावेदन निवेदन दर्ता गराए । उच्चका न्यायाधीश कृष्ण गिरी र निलम पौडेलको इजलाशले ०७९ भदौ २१ गते हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा दुई महिनाको कैद र दुई हजार जरिवाना तोक्यो । गत भदौ २१ गते फैसला सुनाइए पनि वडाध्यक्ष मगर कानुनी दायराभन्दा बाहिर छन् । जिल्ला अदालतले उनलाई पक्राउ गर्न प्रहरी कार्यालयलाई पुर्जी पठाएको छैन । ‘भदौमा निर्णय भएर उक्त पत्र जिल्ला अदालतमा आइसकेको छ । तर, अहिलेसम्म अदालतले उनलाई पक्राउ गर्न प्रहरी कार्यालयमा पत्र पठाएको छैन । यो सबै वडाध्यक्षलाई बचाउन अदालतको सेटिङ्ग हो’, स्रोतले भन्यो ।
आपराधिक गतिविधिमा संलग्न वडाध्यक्ष
रघुगंगा गाउँपालिकामा आठ वटा वडा छन् । यी वडामा अत्यधिक भ्रष्टाचार हुने गरेको छ । नेकपा माओवादी केन्द्रबाट नेपाली कांग्रेसमा प्रवेश गरेका मगरले पहिल्यैदेखि स्थानीयलाई थर्काउने र धम्काउने गर्दै आएका थिए । २०७४ सालको चुनावमा उनी कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । गत वैशाख ३० गते कांग्रेसबाटै चुनाव लडे । उच्च अदालतमा मुद्दा हुँदाहुँदै पनि उम्मेदवारी दिएका उनलाई । मुद्दाको किनारा नलागुञ्जेल चुनाव लड्न नपाउने कानुनी प्रावधानले छोएन ।
कानुनकै धज्जी उडाएर चुनाव लडेका उनले वडामा आएको बजेटमा रजाइँ गरेको बताइन्छ । मगरले पहिल्यैदेखि घरमा हतियार राख्ने गरेको स्थानीय बताउँछन् । त्यस्तै, नदीमा बम पड्काएर माछा मार्नेलगायतका गैरकानुनी काम गर्दै आएका थिए । प्रहरी प्रशासनलाई समेत उनले पालेको स्रोतको भनाइ छ । ‘प्रहरी कार्यालयमा निवेदन परेपछि वडाध्यक्ष मगरले आफ्नो घरमा खोजतलास हुने सुराकी पाइसकेका थिए ।
छापा मार्नुअघि नै प्रहरीले उनलाई सूचना दिइसकेको थियो’, स्रोतले भन्यो, ‘उनका मान्छेले सबै हातहतियार लुकाइसकेका थिए । कसोकसो गोलीचाँहि बिर्सिएछन् ।’ गोली भेटिनु र बन्दुक नभेटिनुले आश्चर्यचकित पारेको स्रोत बताउँछ । यता, वडाध्यक्ष मगरले आफूले यस विषयमा केही पनि नबोल्ने जवाफ फर्काए ।
टिप्पणीहरू