निरन्तरको उठबस, रहस्य जान्न खसखस

निरन्तरको उठबस, रहस्य जान्न खसखस

बोलिको शैली बदलियो, वरिपरि राखिने पात्र हराए, पहिला ठाडै भन्न मिल्थ्यो, अब घुमाएर भन्नुपर्ने अवस्था छ । यस्तो बदलाव देखिन्छ, एमाले अध्यक्ष ओलीमा । एक हप्ताअघिको केपी ओली इरानका धार्मिक नेता आयातुल्लाह खुमेनीजस्तो हुनुुहुन्थ्यो, राष्ट्रपति, मन्त्री, जोसुकै होस् उनले बोलेपछि पुग्यो भन्नेखालको । अहिले ओली  भारतका अगाडि भुटानजस्तो हुनुभएको छ ।

भुटान, जो भारत नियन्त्रित ‘स्वतन्त्र’ देश हो । पहिला आफ्नो निगाहमा प्रचण्ड प्रधानमन्त्री हुनुभएको हाकाहाकी भन्ने गर्नुहुन्थ्यो । तर, विश्वासको मत पाएपछि प्रचण्ड ओलीका सबै कुरा मान्न बाध्य नहुने स्थितिमा पुग्नुभएको छ । त्यसैले अब फकाई–फकाई काम लिनुपर्छ भन्ने ओलीलाई लाग्न थालेको छ ।

अस्ति सोमबार प्रचण्ड पाँच घण्टा बालकोटमा बस्नुभयो । देशकै कार्यकारी प्रमुखको पाँच घण्टा भनेको ख्यालख्यालको समय हैन । तर, कतिपय राजनीतिक लेनादेनाका कुरा नमिलेरै त लगातार भेट चलिरह्यो । ओली एक किसिमको माग दावी पेश गरिरहनुभएको छ, जबकि प्रचण्ड त्यसअनुसार दिन सकिरहनुभएको छैन । किनभने, उहाँसँग नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादीजस्ता पार्टीलाई कुनै न कुनै किसिमले रिझाउनुपर्ने दायित्व छ । 

उहाँ त्यही केपी ओली हो, जो एक हप्ताअघि न्युनतम साझा कार्यक्रम पेश गर्ने बेलामा वाचन प्रचण्डले गरे पनि बीचैमा बसेर, सारा अह्रनखटन गर्दै हुनुहुन्थ्यो । प्रचण्डलाई बालकोटमा भेट्न बोलाउँदा जहिले पनि रवि र लिङ्देन अगाडि नै पुगिसकेका हुन्थे । ठाडो–ठाडो, हेप्ने र अह्राउने शैलीमा बोल्नुहुन्थ्यो । तर, काँग्रेससहितबाट विश्वासको मत पाएपछि मिलाएर बोल्न थाल्नुभएको छ । २७ गतेको भेटमा प्रचण्डको प्रशंसा मात्रै भयो । 

पेलान चर्कै प¥यो भने घटनाक्रमको विकास प्रचण्डपछि आफू प्रधानमन्त्री नबन्ने दिशातर्फ जानसक्छ भन्ने सूचना ओलीले पाइसक्नुभएको छ । शुक्रबारदेखि आइतबारसम्म ओली–प्रचण्डबीच लागतार लामो–लामो छलफल भएबाट भाषा नरम हुँदै गएको बुझ्न सकिन्छ । ओली शनिवार, आइतवार बालुवाटार जानु भयो, शुक्रवार र सोमवार प्रचण्ड बालकोट पुग्नुभयो । चार–पाँच घण्टा बस्दा पनि कुरा नमिलेबाट कुरा धेरै मिल्न बाँकी नै छ भन्ने बुझिन्छ ।

पहिला रवि र लिङ्देनलाई प्रचण्डमाथिको तरबारझैँ तेस्र्याउँदा हुन्थ्यो, अब उल्टै प्रचण्डले कांग्रेसको समर्थनलाई तरबार बनाइदिएपछि ओली अप्ठेरोमा हुनुहुन्छ भन्ने त प्रष्टै छ ।

 

टिप्पणीहरू