नयाँ पार्टीको नाम खोज्दै जसपा र एसका नेताहरू
‘उसो भए पार्टीको नाम एकीकृत समाजवादी भनौँ, कम्युनिष्ट नभनौँ...’ भन्दै पार्टी एकताका लागि वार्तामा बसेका नेताहरू नमिलेको कुरा मिलाएर जाने कि मिल्ने कुरा मिलाउँदै जाने भन्ने अलमलमा परेका छन् ।
नेकपा (एकीकृत समाजवादी) र जसपाबीच एकताका लागि गठित कार्यदलको बैठक गत शुक्रवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दा त्यस्तो कुरा उठेको हो । एकथरिको प्रस्ताव थियो, ‘मिल्नेजति कुरा मिलाएर जाऔँ, नमिलेका बुँदा शीर्ष तहलाई जिम्मा लगाऔँ ।’ उनीहरूबीच विशेषतः नेतृत्व र कमिटीहरूको संरचनाजस्ता समस्या छिनोफानो लगाउन समस्या भएको छ । समाजवादी पार्टी त हुने, तर कुन मोडलको कार्यदिशा अबलम्बन गर्ने ? समाजलाई हेर्ने दृष्टिकोण, वर्गीयताप्रतिको धारणा, विश्व राजनीतिदेखि आन्तरिक राजनीतिलाई विश्लेषण–संश्लेषण गर्ने सवालहरू अझै मिलेका छैनन् । कम्युनिष्टहरूले कम्युनिष्ट पाराको समाजवाद, गैरकम्युनिष्टहरूले उदार पुँजिवादलाई प्रश्रय पुग्ने समाजवादको व्याख्या गर्न चाहेका छन् । यी समस्या मिलाउन शीर्ष तहमा जाने भनिएको छ । जसपाका वार्ताकारहरू पार्टीको नाममा कम्युनिष्ट नराखौँ भनिरहेका छन्, एकीकृत समाजवादीका नेताहरू कम्युनिष्ट नभनिँदा आफूहरूको राजनीतिक मौलिकता नै लोप हुने ठान्दैछन् ।
वार्तामा जसपाका नेताहरूको प्रश्न थियो, ‘कतै एकताको नाममा हामीलाई सरकारमा जानबाट रोकेको, सरकारप्रति अविश्वास होस् भनेको त हैन ?’ एकीकृत समाजवादीका नेताहरूको जवाफ थियो, ‘हैन, हामीले साँच्चैको एकता गर्रौँ भनेको हो ।’ यसरी दुई पार्टीबीच एकता सम्भव भयो भने उक्त पार्टी रवि लामिछाने नेतृत्वको रास्वपाभन्दा ठूलो र संसदमा चौथो पार्टी हुन्छ ।
अर्कातिर, जसपाभित्र अशोक राई समूहकै नेताहरू उनको कार्यशैलीसँग सन्तुष्ट छैनन् । वार्तास्थलमा अशोकबारे चर्चा हुँदै थियो, ‘उहाँ हेर्दा हिमालजस्तो । बिहान हेर्दा सेतो, घाम लाग्दा सुनौलो, बेलुकी अर्कै देखिने । तर, त्यहाँ न बस्न सकिन्छ, न उब्जनी हुन्छ । छोयो भने हातै खाइदिने । उहाँ त्यस्तै नेता । अर्थात्, गर्न सक्ने केही होइन ।’ यो प्रसंग किन आयो भने, संसदीय दलको नेतामा चुनाव भएको भए जित्ने स्थिति थियो । तर नोमिनेशन नै नगरेपछि कुरै खत्तम । जबकि, पार्टीभित्र तोकिएको निर्वाचन प्रक्रियाअनुसार जाने सल्लाह थियो । नोमिनेशन गरिदिएको भए छोड्दा पनि छलफल भएर छोड्नुपर्ने हुन्थ्यो । एकजना नेताले भने, ‘नोमिनेशन नै नगरिदिएपछि के लाग्छ र ? मधेसवादी साथीहरूले पनि आफैँ छोडेपछि हामीले के भन्ने भन्दै हुनुहुन्थ्यो ।’
खासमा अध्यक्ष उपेन्द्र यादव संसद छिर्नका लागि बाराबाट चुनाव जितेका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने पक्षमा हुनुहुन्थ्यो । त्यसो भएपछि उक्त निर्वाचन क्षेत्र खालि हुने र त्यहाँबाट आफू चुनाव उठेर सांसद बन्ने योजना हो उहाँको ।
टिप्पणीहरू