श्रीमानको झगडा बल्लबल्ल, श्रीमतीको अलमल्ल

श्रीमानको झगडा बल्लबल्ल, श्रीमतीको अलमल्ल

सोमबार देश रोइरहेको थियो, चारैतिर मानिसहरु शोकमग्न थिए, सरकारले शोक मनाउन विदा दिएको थियो । पोखरा जहाज दुर्घटनाले देशवाशीलाई पीडा दिएको थियो । देशभर कुनै पनि कार्यक्रम तथा सभा समारोह गरिएको थिएन । तर यस्तो शोकको बेला भैरहवाको होटल पौवामा भने लेडी जेसिजको ब्यानरअन्तर्गत रमाइलो कार्यक्रम उत्सवका साथ चलिरहेको खबर एकाएक सामाजिक सञ्जालमा भाइरल भयो । 

सिद्धार्थ लेडी जेसिजको ब्यानरमुन्तिर भैरहवा क्षेत्रका महिलाको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीलाई न शोक, न भोक थियो । थियो त पदको चटारो । देश शोकमा डुबेको बेला पनि उनीहरुले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बन्न प्रदेश सांसद सन्तोष पाण्डे आइपुगेका थिए । आयोजकलाई त मतलब भएन शोक दिवसको तर सांसदजस्तो गरिमामय पदमा भएका मानिसले पनि यस्तो बेला के गर्न हुन्छ के गर्न हुँदैन भनी हेक्का राखेको पाइएन । पाण्डेले जमेर महिला उत्थानको भाषण गरे, गडगडाहट तालीको समर्थन बटुले अनि टाउको हल्लाउदै देश शोकमा डुबेको बेला खुशी साथ कार्यक्रम स्थलबाट बाहिरिए । 

शासन ब्यक्ति होइन विधिको हुनुपर्दछ भन्ने मूल मन्त्रका साथ विधानमा पनि सोही नारालाई मुख्य प्राथमिकतामा राखेर अघि बढेको उक्त जेसिजमा दुई बर्षदेखि विधिविधानलाई मिच्ने काम भएको छ । सांसद भनेको कानुनको मुख्य कार्यान्वयन कर्ता वा नीति निर्माता हो । कानुन बनाउने विशेष जिम्मेवारीमा रहेका सांसदहरु नै विवादित स्थानमा पुग्नु, त्यो पनि शोकको समयमा अति भएन र ? 

सिद्धार्थ लेडी जेसिजमा नेपाल जेसिजले अनुपा पाण्डेलाई मान्यता दिएकोमा प्रकृति उप्रेतीलाई अध्यक्ष बनाएर अलग समूह क्रियाशील छ । सोमबार उप्रेतीको समूहले नयाँ अध्यक्षको रुपमा बिष्णु पाण्डेलाई चयन गरेको छ । यता पाण्डेको समूहले भने मंगलबार गीता गैरे बञ्जाडेलाई अध्यक्ष बनाएर अगाडि बढ्ने तयारी गरेको छ ।

एक संस्थामा दुई अध्यक्ष हुँदा भैरहवा क्षेत्रका कुनै पनि कार्यक्रममा कसलाई निम्तो गर्ने भनेर बेला बेला अन्य सामाजिक संस्थालाई समस्या पर्ने गरेको छ । त्यसो त सिद्धार्थ लेडी जेसिजको मातृ संस्था सिद्धार्थ जेसिजले नै यो झगडाको बीउ रोपेको बताइन्छ । उक्त संस्थामा पनि करिब ३ बर्षसम्म विवाद चुलिँदै जेसिजको अन्तर्राष्ट्रियसम्म पुगेपछि जसोतसो समाधान भएको थियो । यद्यपि चालिस बर्ष उमेर नाघेका ३ जनालाई पालैपालो अध्यक्ष बनाएर उक्त संस्थाले पनि जेसिजको अन्तर्राष्ट्रिय नियमलाई लगाएको छ । सिद्धार्थ जेसिजको विवाद चर्काउनेका श्रीमतिहरु अधिकांश सिद्धार्थ लेडी जेसिजमा संलग्न छन् । यता श्रीमानहरुको विवाद मिलेता पनि श्रीमतीहरुको झगडा भने झन चर्किंदै गएको छ । 

– उमाकान्त ज्ञवाली, चन्द्रौटा

 

टिप्पणीहरू