जहाज दुर्घटनाका सबै शवको पहिचान हुन सकेको छैन, ब्ल्याकबक्स विदेश लान ५ जनाको बथान ?
मृतकका हजारौं आफन्त जान्न चाहन्छन्– घटना कसरी भयो ? तर, छानवीन समितिका सदस्यहरुलाई भने विदेश घुम्न पाइने लोभ छ ।
माघ १ गते काठमाडौंबाट पोखरातर्फ उडेको यति एयरलाइन्सको एटिआर ७२ जहाज पोखरास्थित सेती खोँचमा खस्दा त्यसमा सवार सबै यात्रुको निधन भएको थियो । विमान दुर्घटनाको कारण पत्ता लगाउन त्यसको ब्ल्याक बक्समा रेकर्ड भएको विवरणको अध्ययन अनिवार्य मानिन्छ । घटनास्थलबाट संकलित उक्त विमानको ब्ल्याक बक्स परीक्षण सिंगापुरमा गर्नुपर्ने भएको छ । सरकारद्वारा छानवीन गर्न गठित समितिले सिंगापुर जानका निम्ति नयाँ पर्यटनमन्त्री सुदन किराँतीसँग अनुमति मागेको छ ।
जम्मा एउटा ब्ल्याक बक्स लिएर जानुपर्ने र त्यसको परीक्षण गराई फर्किनुपर्ने काम हो । तर, भ्रमण आदेश माग भयो सहसचिव बुद्धिसागर लामिछानेसहित पाँचै जनाका लागि । तर, मन्त्रालयले एक त रिपोर्ट छिटो चाहिएको, त्यसमाथि एउटा कारुणिक दुर्घटनाको छानवीनका क्रममा समितिका सदस्यहरुले घुमफिर, रमाइलो गर्दा जनतामा नकारात्मक सन्देश जाने भन्दै संयोजक नगेन्द्र घिमिरे, सदस्यसचिव बुद्धिसागर लामिछाने र सदस्य (हेलिकोप्टर उडाउने निवर्तमान दुई तारे) जर्नेल दिपक बाँस्तोला गरी शुक्रबार उड्न जम्मा तीनजनाका लागि भ्रमण आदेश स्वीकृत गरेको छ । मन्त्रालयले १५ दिनभित्र प्रारम्भिक प्रतिवेदन बुझाइसक्नुपर्ने र ४५ दिनमा सबै काम सक्ने समयसीमा पनि तोकेको छ ।
अर्कातिर, ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त नेपालका धार्मिक सम्पदाको पुनः निर्माणबारे भारतीय दूतावासमा आइतवार पाँच घण्टासम्म छलफल चलेको छ । भारत सरकारले उक्त भूकम्पमा क्षति भएका विभिन्न २८ वटा परियोजना पुनः निर्माणको जिम्मा लिएको थियो । तर, विभिन्न कारणले ती काम सम्पन्न भएका छैनन् । आइतबार ११ देखि ४ बजेसम्म संस्कृति–पर्यटन र शहरी विकास मन्त्रालयका सचिवसहित दूतावासले त्यसबारे छलफल गरेको हो ।
उक्त कामलाई भारतको ‘इन्टेक’ नामक परियोजनामार्फत अगाडि बढाइएको छ । त्यसको पूरा नाम, ‘इण्डिया–नेपाल टेक्निकल प्रोजेक्ट फर हेरिटेज’ हो । भौगोलिक संवेदनशीलताका कारण माथिल्लो मुस्ताङ भेगमा क्षति भएका कतिपय गुम्बा र विभिन्न स्थानका मन्दिरहरु भारतीय परियोजनाले बनाउन सकेको छैन । कतिपय संरचनाका ‘साइट क्लियरेन्स’ भएको छैन । माथिल्लो मुस्ताङमा गुम्बा बनाउने, त्यो पनि भारतले भनेपछि यो कुरामा चीनको आपत्ति हुने नै भयो ।
त्यस्तै, नेपालमा कोभिड संक्रमण शुरु भएयता ठप्प रहेको चिनियाँ पर्यटक आगमन सुचारु भएको छ । नेपाल सरकारले लामो समयपछि देशमा भित्रिएका चिनियाँ पर्यटकलाई विमानस्थलमै फूलमालाले स्वागत गरेको छ । तर, नेपालका लागि चीनबाट विगतमा हुँदै आएका उडानहरु सुचारु गर्नेतर्फ चीनले त्यति ध्यान दिएको छैन । अन्य मुलुकमा चीनले उडान खुला गरिसक्दा पनि नेपाललाई आफ्नो सूचीमा राखेको छैन ।
अर्कातिर, अन्तर्राष्ट्रिय स्तरका विमानस्थल तयार त भए, तर भारतले हवाई रुट नदिँदा ती सुनसान छन् । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखराको क्षेत्रीय विमानस्थलमा भारतले रुट नखोलिदिँदा समस्या भएको हो । त्यसमध्ये भैरहवामा जस्तोसुकै मौसम भए पनि २४ सैं घण्टा जहाज चल्न सक्ने उपकरण जडान भइसकेको छ । नयाँ पर्यटन मन्त्री सुदन किराँतीले भारतीय राजदूतलाई रुट खोलिदिन अनुरोध गरेका छन् । पोखरामा भने ठूला जहाज चलाउन मुस्किल छ ।
यसबीच, युरोपेली आकाशमा नेपाली जहाज उड्न पाउने सम्भावना बढेको छ । अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) को अडिटमा नेपालले ७० नम्बर पाउनुलाई राम्रो प्रगतिका रुपमा लिइएको छ । यति एयरलाइन्सको पोखरा दुर्घटनाकै कारण नेपालको हवाई सेवालाई विश्व समुदायले त्यति असुरक्षित मानेको छैन । किनभने, उक्त जहाज प्रकृतिका कारण नभएर मानवीय त्रुटिका कारण दुर्घटना भएको मानिन्छ ।
टिप्पणीहरू